२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

खुर्सिद हत्या प्रकरण : प्रहरी प्रशासनविरुद्ध नाराबाजी

खुर्सिदको शव सडकमै
हत्यापछि उच्चस्तरीय अनुसन्धान र छानविन टोली गठन
प्रदीप मेन्याङ्बो

सुनसरी — हरिनगर गाउँपालिका-२ भुटाहा बजारमा अज्ञात बन्दुकधारीबाट मौलाना खुर्सिद अन्सारीको हत्या भएपछि हत्यारा पक्राउ गर्न प्रहरी प्रशासन असक्षम भएको भन्दै स्थानीय बासिन्दाले हिजोदेखि अहिलेसम्म शव उठाउन दिएका छैनन् । 

खुर्सिद हत्या प्रकरण : प्रहरी प्रशासनविरुद्ध नाराबाजी

मौलाना अन्सारीलाई अज्ञात समूहले बिहीबार बिहान ११ बजे भूटाहाको व्यस्त बजारमा गोली प्रहार गरी हत्या गरेका थिए । नम्बर प्लेट नखुलेको दुई वटा मोटरसाइकलमा आएका हतियारधारीले उनको कञ्चट र बायाँ कोखा गोली प्रहार गरेका थिए ।

मौलाना अन्सारीको हत्या किन र कस्ले गर्‍यो भन्ने अनुमानसम्म प्रहरीले गर्न सकेको छैन । खुर्सिद स्थानीयस्तरमा समाजसेवी, विद्यालय सञ्चालक, मुस्लिम सामाजिक संस्था दावत ए इस्लामका केन्द्रीय उपाध्यक्ष र नेकपाका जिल्ला सल्लाहकारका रुपमा चिनिएका थिए । विवाद र झै-झगडामा हालसम्म उनी नपरेकाले मुस्लिम मौलाना भएकै आधारमा उनको हत्या भारतीय प्रतिआतंकवाद सेलको कारबाहीमा परेको हुनसक्ने अनुमान गरिएको छ ।


नेपाल–भारतको सीमाभन्दा करिब १४ किलोमिटर उत्तरको भूटाहामा भएको हत्याकाण्डपछि ती बन्दुकधारी हत्याराहरु प्रहरी र शसस्त्र प्रहरीकै अगाडि फाइरिङ गर्दै सीमा पार गरेपछि स्थानीय बासिन्दाले नेपालको सुरक्षा संयन्त्रको चर्को आलोचना गर्दै नाराबाजी गरिरहेका छन् ।


भुटाहा, घुस्की र नाकामा रहेको सशस्त्र प्रहरीले पनि हतियारधारी समूहलाई रोक्न नसकेको भन्दै तीब्र आलोचना भइरहेको छ । सुनसरीको दक्षिणी क्षेत्रहरु भुटाहा, घुस्की क्षेत्रको बजार बन्द छ । यातायात ठप्प पारिएको छ । आक्रोशित स्थानीय बासिन्दाद्वारा भुटाहास्थित प्रहरी चौकीमा आक्रमणको प्रयास भएपनि अप्रिय घटना भने भएको छैन ।

खुर्सिदको हत्यापछि तनावग्रस्त बनेको भुटाहाबजारमा शवलाई सडकमै राखेर स्थानीय बासिन्दाले प्रहरी प्रशासन विरुद्ध नाराबाजी जारी राखेका छन् । उनीहरुले खुर्सिदलाई सहिद घोषण गर्नु पर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिएर हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् ।


यसैबीच घटनाको छानविन गर्न केन्द्रीय अनुसन्धान व्युरो सिआइवीको टोली गृहमन्त्रालयले खटाइसकेको जानकारी प्राप्त भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रतीले बताए ।

उनकाअनुसार घटनाको सिआइवीले अनुसन्धान गर्नेछ भने प्रदेश १ प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर कुमार दाहालको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानविन समिति पनि गठन भएको र उक्त समितिले आफ्नो काम सुरु गरेको बताए । उनले सिआइवीको टोली घटनास्थलमा आइपुग्न लागेको बताए ।


प्रजिअ उप्रेतीले भने, ‘स्थानीय बासिन्दाले शव उठाउन दिएका छैनन् । वार्ता जारी छ । उनीहरुको माग मध्ये परिवारलाई क्षतिपूर्ति र सहिद घोषणाबारे गृह मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पठाएको छ ।’ उनले मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति प्रस्ताव मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने भएकोले शुक्रबार नै सम्बोधन हुने बताए ।


बन्धुकधारी हत्याराले खुर्सिदको हत्या गरेपछि भुटाहा बजारबाट दक्षिणतिर भाग्नेक्रममा नेपालका तीन चेकपोस्ट समेत कटेर भागेका थिए । सीमाको नेपालतिरको घुस्कीमा रहेको सशस्त्र प्रहरीले समेत ती हत्यारालाई पक्राउ गर्न नसकेपछि स्थानीय बासिन्दा झन आक्रोसित बनेका थिए । घुस्कीमा रहेको प्रहरी चौकीका प्रहरी जवानले लाठीको भरमा रोक्न खोज्दा ती बन्दुकधारीले प्रहरी जवान शिव पौडेलको कम्मर र खुट्टामा गोली प्रहार गर्दै सीमापारीको घुर्ना बजारतिर भाग्न सफल भएका थिए ।

प्रकाशित : आश्विन ५, २०७५ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?