निगमले पेट्रोल र डिजेलमा कोटा तोक्यो, दुई पांग्रेलाई ५, हलुका चार पांग्रेलाई १५ लिटर

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमका अनुसार मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल उपलब्ध हुनेछ ।

निगमले पेट्रोल र डिजेलमा कोटा तोक्यो, दुई पांग्रेलाई ५, हलुका चार पांग्रेलाई १५ लिटर

हलुका सवारीसधान, कार र भ्यानलगायतलाई बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ ।


निगमले डिजेलबाट सञ्चालन हुने मध्यम तथा छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीको सवारीसाधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउन आग्रह गरेको छ । एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारीसाधनलगायत अत्यावश्यक सवारीसाधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न भनको छ ।


निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।


ट्यांकर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प छ । आज पनि काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द छन् । इन्धन भर्नका लागि पेट्रोलपम्पमा लामो लाइन लागेको छ । इन्धनको अभाव हुँदा उपत्यकाका सडकमा तुलानात्मकरुपमा केही कम सवारीसाधन सञ्चालनमा छन् ।

प्रकाशित : आश्विन ५, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?