कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किशोरी बलात्कार र हत्या प्रकरण : उल्झनमा अनुसन्धान

दुई महिनामा १३ बलात्कारका घटना
भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुग्दै छ । अहिलेसम्म अपराधी पत्ता लागेको छैन । स्थानीयको चर्काे दबाब र आन्दोलनका वावजुद अनुसन्धानका लागि विभिन्न समिति र टोली गठन भए । तर हालसम्म अनुसन्धानमा खासै प्रगति हुन सकेको छैन । 

किशोरी बलात्कार र हत्या प्रकरण : उल्झनमा अनुसन्धान

निर्मला घटनाको अनुसन्धान नहुनु एउटा पाटो छ । त्यसपछि जिल्लामा बलात्कारका घटना पनि तीव्र रुपमा बढै गएका छन् । साउन १० को निर्मला हत्या घटनापछि मात्रै कञ्चनपुरमा ९ वटा बलात्कार र बलात्कार प्रयासका भए । उक्त घटनामा अधिकांश बालिका र किशोरी सिकार भएका छन् ।


जिल्ला प्रहरी कञ्चनपुरको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौमा मात्रै बलात्कारका ६ र बलात्कार प्रयासका ७ घटना दत्र्ता भएका छन् । गत आवमा बलात्कारका १७ र बलात्कार प्रयासका १५ घटना दर्ता भएका थिए । अघिल्ला दुई वर्ष क्रमश: १७ र २१ घटना प्रहरीमा दर्ता भएका छन् । बलात्कारका घटनामा अधिकांश १५ वर्षमुनिका पीडित छन् । उनीहरु कोही प्रलोभनमा त कोही आफन्तबाटै बलात्कृत भए ।


एकातिर निर्मला प्रकरणको अनुसन्धानले गति नपाएको विषयमा गाउँको चोक चौतारादेखि शहर बजारमा चर्चा चलिरहेको छ । अर्कातिर दिनहुँ बढै गइरहेका घट्नाले समाजमा नैतिकता हराउँदै र विकृति बढेकामा गम्भीर चिन्ता व्यक्त गराउँछ । कतिपयले त कञ्चनपुरवासी भन्न पनि लाज लाग्ने अवस्था आएको सामाजिक सञ्जालमा लेखेका छन् । अपराधी पत्ता नलाग्ने र लागे पनि कडा कारबाही नहुँदा दिनहँु घटना बढै गएको स्थानीय बताउँछन् ।


‘घटनालगत्तै तत्काल अपराधी पत्ता लगाएर कडा कारबाही हुन नसक्नु बढो यौन अपराधको प्रमुख कारण हो,’ नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मीले भने, ‘यसले अपराधीको मनोबल बढाएको छ, पीडित झन् पीडामा परेका छन् ।’ उनले घटना बाहिर आउँदा पनि पहुँच र पैसाका भरमा अपराधी उम्किने गरेका कारण घटना वृद्धि हुने गरेको बताए । अपराधीले पीडितलाई नै प्रलोभनमा पारेर मुद्दा कमजोर र्पो गरेको उनले बताए ।


कृष्णपुर नगरपालिका १ बण्डमा विद्यालय गएकी ६ वर्षीया बालिका बिहीबार बलात्कृत भइन् । २ कक्षामा पढ्ने ती बालिका ६ कक्षाका छात्रबाट कक्षा कोठामै बलात्कृत भएको प्रहरीले जनाए । दुवै नाबालक भएका कारण उनीहरुले स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाएर अनुसन्धान भइरहेको प्रहरीले बताए ।


उक्त घटनाअघि बेलडाडी गाउँपालिका २ ढकनियामा ५७ वर्षीय दुई बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । विद्यालयबाट घर फर्किरहेका ६/६ वर्षका ती नानीहरुलाई चकलेट र पैसा दिएर ललाइपकाई घरमै लगेर बलात्कार प्रयास गरेको आफन्तले आरोप लगाएका छन् । साउनयता भएका अधिकांश घटनामा १५ वर्षमुनिका नै पीडित भएका छन् ।


उक्त अवधिमा हरेक सातामा दुई बालिका बलात्कारको सिकार भएको देखिन्छ । आत्महत्याका घटना त हरेक २ दिनमा एउटा घटना बाहिर आउने गरेको छ । यसले सामाजिक अपराध बढै गएको प्रस्ट हुन्छ । ‘हरेक साता बलात्कारका दुई घटना आइरहेका छन्,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘अपराध वृद्धि हुनुका साथै बाहिर आउने क्रम पनि बढेको हो ।’ उनले विगतमा घटना ढाकछोप गर्ने चलनले बाहिर नआउने गरे पनि अहिले चेतनाका कारण प्रहरीसम्म आइपुगेको बताए ।


लागूऔषध र मदिरा सेवनका कारण पनि समाजमा यौनजन्य अपराध बढै गएको अधिकारकर्मी बताउँछन् । खासगरी खुल्ला सीमाका कारण किशोरहरु कुलतमा फसेका छन् । यसले पनि आपराधिक घट्ना वृद्धि हुँदै गएको स्थानीय बताउँछन् ।


अनुसन्धानमा जुटिन एसपी सिंह

निर्मला घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगेकी एसपी दुर्गा सिंहले जिल्ला प्रहरीसँगै अनुसन्धानमा खटिएकी छन् । उनले घटनास्थललगायत विभिन्न ठाउँ हेर्नुका साथै आवश्यक जानकारी लिएको बताइन् । ‘मैले छुट्टै अनुसन्धान गर्ने होइन,’ उनी भन्छिन्, ‘जिल्ला प्रहरीको टोलीलाई नै सपोर्ट गर्ने हो ।’ उनले महिला हिंसा र बालबालिका घटनालाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्यसाथ संगठनले यहाँ पठाएको बताइन् ।


जिल्ला प्रहरीले डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेको छ । यससँगै एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको केन्द्रीय अनुसन्धान ब्यूरो र प्रहरी प्रधान कार्यालयको टोलीसमेत यहीँ खटिएको छ । ‘अहिलेसम्म अनुसन्धानमा खासै प्रगति देखिएको छैन,’ एसपी कुबेर कडायतले भने, ‘हामी अनुसन्धानमै छौं, केन्द्रबाट आएका विभिन्न टोलीले पनि हामीलाई सघाइरहेका छन् ।’ मृतक निर्मलासँग मोवाइल फोन नहुनु, घटनास्थलका स्थानीय र आफन्तले खुलेर सूचना नदिँदा अनुसन्धानमा समस्या भइरहेको स्रोतको भनाइ छ ।


विरोध प्रदर्शन कायमै

कचनपुरकी निर्मलाको बलात्कार र हत्यामा संलग्न अपराधी हालसम्म पक्राउ पर्न नसकेको विरोधमा शुक्रबार प्रदेश ७ को राजधानी धनगढीमा पनि विरोध प्रदर्शन गरिएको छ । नगर बालसञ्जाल समितिले गरेको प्रदर्शनमा धनगढीका विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए ।


धनगढीको चौराहाबाट सुरु प्रदर्शनमा सहभागीले निर्मलालाई न्याय दिनुपर्ने, बालिका र महिला सुरक्षित हुनुपर्ने, बलात्कार, हत्या, हिंसाका घटना नियन्त्रण गर्ने माग गरिएका प्लेकार्ड बोकेका थिए ।


प्रकाशित : आश्विन ५, २०७५ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?