२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बेलायती राजपरिवार सदस्य नेपाल घुम्ने

लन्डन — बेलायती राजपरिवारका एक सदस्यले छिट्टै नेपाल भ्रमण गर्न लागेको बताएका छन् । प्रिन्स माइकल अफ केन्टले एसियाली बालबालिकाको हितका लागि काम गर्ने एक कल्याणकारी संस्था केयर फर चिल्ड्रेनको प्रमुख संरक्षकको हैसियतमा आफूले छिट्टै नेपालको भ्रमण गर्ने जनाएका हुन् । 

बेलायती राजपरिवार सदस्य नेपाल घुम्ने

लन्डनस्थित नेपाली दूतावासमा बिहीवार संविधान दिवस मनाउन आयोजित एक विशेष समारोहका प्रमुख अतिथि प्रिन्स माइकल अफ केन्टले २ शताब्दी पुरानो नेपाल–बेलायत सम्बन्ध राजनीतिक, सैनिक, शैक्षिक तथा सांस्कृतिक रहेको बताए ।


उनले सर राल्फ टर्नरले ‘गोर्खा सैनिक संसारमै साहसीमध्ये पनि सबैभन्दा साहसी तथा बेलायतका सबैभन्दा विश्वासिला मित्र’ का रुपमा चित्रण गरेको पनि स्मरण गरे ।


कार्यक्रममा प्रिन्स माइकलले नेपाल सम्बन्धि चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरे । राजदूत डा. दुर्गाबहादुर सुवेदीले खुकुरी र नेपालको चित्र उपहारका रुपमा दिंदा प्रिन्स प्रसन्न देखिन्थे ।


बेलायती राजपरिवारले नेपाल र गोर्खा सैनिकको सधैं तारिफ गर्ने गर्छन् । राजदूत सुवेदीले आफ्नो कार्यकालको २ वर्षभित्र दूतावास परिसरमा प्रिन्स हयारी, डुक अफ ग्लोस्टर र प्रिन्स माइकललाई ल्याइसकेका छन् । प्रिन्स हयारीले त भूकम्पपछि नेपाल भ्रमण पनि गरेका थिए ।


संविधान दिवस (नेशनल डे) मा राजदूत सुवेदीले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने व्यवस्था गरेको उल्लेख गरे ।

राजदूत सुवेदीले गोर्खा सैनिक सम्बन्धले नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सृदृढ बनाएको बताए । उनले भूगोलले टाढा भएपनि गौरवपूर्ण सभ्यता भएका दुवै देशबीच थुप्रै समानता रहेको बताए ।


राजदूतले बेलायतमा एक लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र दुबै देशबीचको सम्बन्ध अरु नजिक तुल्याउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत बताए । संघीयता, गणतन्त्र, लोकतान्त्रिक विधिको शासन, संविधानवाद, संसदीय शासन प्रणाली नेपालको संविधानले अंगीकार गरेको मुख्य विषय भएको धारणा पनि डा. सुवेदीको थियो ।


विभिन्न देशका राजदूत, फिल्ड मार्सल, लर्ड सेख, ब्रिटिश सांसदहरु, मेयर, काउन्सिलर, बेलायती विदेश मन्त्रालयका निर्देशक, प्राध्यापकलगायत बेलायती, नेपाली तथा अन्य देशका गरी करिब ५ सय सहभागी समारोहमा नेपाली मौलिकता झल्कने विविध नृत्यु प्रस्तुत गरिएको थियो । गोर्खा ब्रिगेड ब्यान्डका सदस्यहरुले खुकुरी नाच प्रस्तुत गरे ।


तस्बिर सौजन्य: मिलन तमु



प्रकाशित : आश्विन ५, २०७५ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?