कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खुर्सीद हत्याकान्ड : ‘तीव्र गतिमा आए, गोली हानेर भागे’

सहीद घोषणा र परिवारलाई क्षतिपूर्ति

भुटाहा, सुनसरी — रैयान पब्लिक स्कूलको संचालक तथा प्रिन्सिपल रहेका खुर्सीदले बुधबार बिहान विद्ययालय व्यबस्थापन समितिको बैठक सकेर स्थानीय अक्बर सिद्धिकीको पसलमा चिया खान गएका थिए । सँगै चिया खाएका आफ्न्त अमिन अन्सारीलाई घरसम्म मोटरसाइकलमा पुर्‍याइ दिन आग्रह गरेपछि दुबै जना हिडेका थिए । 

खुर्सीद हत्याकान्ड : ‘तीव्र गतिमा आए, गोली हानेर भागे’

मोटरसाइकलमा मूल सडकबाट नगई छोटो दुरीको अर्कै बाटोबाट उनले आफ्नो विद्यालय नजिक भारत बोर्डरसम्म जाने सडकमा निस्केर घरतर्फ लागेका थिए । उनले आफ्नो विद्यालयभन्दा ५० मिटर दक्षिण गएपछि पछाडीबाट दुई वटा मोटरसाइकल आयो । सेतो प्लेट भएको हरियो रंगको पल्सर र सेतो रंगको अपाचे मोटरसाइकल दुबै उनको मोटरसाइकलको दुबै तिरबाट उनलाई बीचमा पारेर गोली प्रहार गरेको प्रत्यक्षदर्शी बताउँछन् ।


‘पूर्वपट्टीको मोटरसाइकलमा सबार अज्ञात व्यक्तिले प्रहार गरेको गोली उनको बायाँ कञ्चटमा र पश्चिमपट्टीबाट प्रहार गरेको गोली दायाँ कोखमा लागेर मोटरसाइकल चालक अमिनको जीउमा ढले, स्थानीय जलाल अन्सारीले भने, ‘मोटरसाइकल चालक अमिनले सुरुमा मोटरसाइकलको टायर पडेको आशंका गरेको तर पछि खुर्सिदको जीउबाट रगत बगेको देखेपछि मात्रै गोली प्रहार भएको थाहा पाएको थियो ।’


आक्रमणकारी दुबैले हेलमेट र मास्क लगाएको स्थानीयले बताए । अमिनले मौलाना साहेब जीउमा ढलेपछि लड्न खोजेको मोटरसाइकल सम्हाल्ने क्रममा पश्चिम मोडियो त्यतिकैमा बन्दुकधारीको दुबै मोटरसाइकल अगाडी बढेको बताए । उनीहरुको हातमा पेस्तोल देखेर हल्ला गर्न थालेपछि बन्दुकधारीले पून: एक फायर गरेको अमिनले बताए । उनले त्यो गोली पून: मौलानाको दाहिने घुँडामा लाग्न गएको बताए । त्यसपछि आफू पनि डराएर मोटरसाइकल लड्यो र मौलाना साहेब भूईमा ढलेको बताए । बन्दुकधारीहरु तीब्र गतिमा दक्षिणतर्फ लागेको उनले सुनाए ।


दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारीले खुर्सिदलाई ११ बजेर ३ मिनेटमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट करिब ८ सय मिटर दुरीमा रहेको प्रहरी चौकी रामनगर भुटहाका प्रहरी सहायक निरीक्षक एसएल थारुलाई गोली प्रहार गरेको ११ मिनेटपछि फोन आएको बताए । उनले घटनास्थलमा ११ बजेर २० मिनेटमा पुगेको दावी गरे । सँगै रहेको सशस्त्र प्रहरी बेस क्याम्पको टोलीले घटना भएको १४ मिनेटपछि जानकारी पाएपछि घटनास्थल लागेको बताए ।


खुर्सिदलाई गोली प्रहार गरी भारतीय सीमानातर्फ भागेका बन्दुकधारीहरुलाई स्थानीयबासीले मोटरसाइकलमा पछ्याउँदै भारतीय सीमानासम्म गएका थिए । भूटहाबाट करिब १० किलोमिटर दुरीमा रहेको दशगजा क्षेत्र पुग्न केही कालोपत्रे र बाँकी खाल्डैखाल्डो भएको ग्राभेल सडक छ । दुबै मोटरसाइकलमा २/२ जना सबार बन्दुकधारीहरुले तीव्र गतिमा मोटरसाइकल कुदाउँदै भागेको स्थानीय बताउँछन् ।


घटनापछि स्थानीय सम्साद अन्सारीले घुस्कीमा हार्डवेयर पसल गरिरहेका आफ्ना आफ्न्त इसा अन्सारीलाई घटनाबारे जानकारी गराउँदै दुबै मोटरसाइकललाई रोक्न भन्दै फोन गरे । इसाले तत्काल प्रहरी चौकी घुस्कीका असय शिबकुमार शर्मालाई जानकारी गराएर पसलमा काम गर्नेलाई मोटरसाइकल रोक्न सडकमा उभ्याउन भ्याएको बताए ।


फोन काटासम्ममा दुबै मोटरसाइकल आइपुगेको उनले बताए । ‘घुस्की बजारमा मासिनहरुको चहलपहल देखेर बन्दुकधारीहरुले मोटरसाइकलको गति कम गरेकोले अगाडीको अपाचे मोटरसाइकलका चालकको गन्जी समात्नेबित्तिकै पछाडी बसेका व्यक्तिले मेरो हातमा हानेर छुटाइदियो र गति बढाएर गइहाले,’ उनले भने, ‘सय मिटरको दुरीमा तत्काल प्रहरी चौकीका जवान शिबलाल पौडेल राइफल लिएर सडकमा आइसकेको थियो ।


पछाडी रहेको पल्सर मोटरसाइकलमा पछाडी बसेको व्यक्तिले तत्काल प्रहरी जवानमाथि तीन फायर गरे र उनी घाइते भएर लडे ।’ त्यतिकैमा असय शर्मा पनि आइपुगेर प्राथमिक उपचार गराउन तिर लागेको उनले सुनाए ।


स्थानीय मुस्तुफा अन्सारीले आफ्नो बुलेट मोटरसाइकलमा बन्दुकधारीको पछि लागेको बताए । उनले बन्दुकबधारीसँगै दशगज्जासम्म गएको बताए । घुस्कीस्थित सीमा सुरक्षाका लागि ५ सय मिटर उत्तर डियूटीमा खटेका तीन जनाको सशस्त्र प्रहरीको टोलीलाई बन्दुकधारीले गाली गर्दै बाटो छोड्न भनेको प्रत्यक्षदर्शीले बताए ।


मुस्तफाले आफूले सशस्त्र प्रहरीलाई बन्दुकधारीमाथि फायर गरेर भएपनि रोक्न आग्रह गर्दा फायर खोल्न आदेश नभएको बताए । बन्दुकधारीले सीमावर्ती भारतीय बजार घुर्नामा भारतीय एसएसबी रहेकोले दशगज्जाबाट पूर्व करिब एक किलोमिटर गएर १ सय २१ नम्बरको नेपाल–भारत छुट्याउने जंगे पिल्लर नजिक भारतको जटबरा गाउँ प्रवेश गरेको प्रत्यक्षदर्शीले बताए ।


दशगज्जा कट्ने क्रममा बन्दुकधारीहरुको दुबै मोटरसाइकल लडेको मुस्तफाले बताए । त्यति बेला उनहिरुले यहाँबाट भागिहाल होयन भने मारिदिने चेताबनी दिएपछि आफू फर्केको उनले सुनाए । ‘प्रहरीलाई गोली हान्दासम्म बन्दुकधारीलाई समात्न प्रहरी आएनन,’ उनले भने, ‘आफूले उनीहरुकै मोटरसाइकल पछी पछि भारतको जटबरासम्म जाँदा पनि कोही आएनन् ।’


सशस्त्र प्रहर िबोर्डर आउट पोष्ट घुसकीका सशस्त्र प्हर िनिरीक्षक दिलकुमार पन्तले समयमा घटनाको सूचना नआएर समस्या भएको बताए । घुटहास्थित सुरक्षाकर्मीले कसैलाई कुनै पनि सुरक्षा इकाईलाई घटनाको जानकारी गराएर हत्यारा पक्राउ गर्न नखोजेको पाइयो । प्रहरी चौकी घुस्कीका असइ शर्माले पनि घटना बारे भुटहा प्रहरीले जानकारी नगराएको बताए ।


सहीद घोषणा र परिवारलाई क्षतिपूर्ति

यसैबीच, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि र मुस्लिम समुदायका अगुवाबीच भएको वार्ता सहमतिमा टुंगिएको छ । शुक्रबार विहानदेखि बसेको वार्ता साँझ टंगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले बताए ।


उनका अनुसार सहमतिपछि मृतक खुर्सिदको शव पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइने भएको छ । स्थानीय जनप्रतिनिधि, मुस्लिम अगुवा र खर्सिदका आफन्त परिवारले खुर्सिदलाई शहिद घोषणा र परिवारलाई क्षतिपुर्ति माग गरेका थिए । यो मागमा सकारात्मक रही गृहसचिवले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकबाट पारित हुने विश्वास दिलाएको भन्दै यो जानकारी प्रजिअ उप्रेतीले वार्तास्थलमा सुनाएका थिए ।


भुटाहा हुँदै भारतीय सीमाक्षेत्रसम्म बस्ने जनपद र सशस्त्र प्रहरीको वेसक्याम्प प्रतिस्थापन गरेर अर्को टोली ल्याउनेमा पनि सहमती भएको छ । ‘स्थानीय मागअनुसार जनपद र सशस्त्रका क्याम्प र प्रहरी चौकीमा नयाँ टोली ल्याउने काम पनि सुरु भएको छ’ प्रजिअ उप्रेतीले भने ।


सहमतिअनुसार गृहमन्त्रीसँग वार्ता गर्न मुस्लिम अगुवा र स्थानीय समुदायको तर्फबाट पाँचजनाको टोली काठमाडौ जाने भएको छ । सरकारले अनुसन्धानकालागि सिआइवीलाई र छानबिनका लागि एसएसपीको संयोजकत्वमा टोली बनाएर घट्नास्थलमा खटाएको छ ।


वार्तामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेती, अनुसन्धान एसपी टीका पोखरेल, सशस्त्रका एसपी सुरेश श्रेष्ठ, प्रहरीका एसपी राजन अधिकारी, नेकपाका नेता भीम आचार्य, हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, प्रदेश सभासद ताहिर अन्सारी, पुर्वमन्त्री जाकिर हुसेन, मुस्लिम अगुवा, मौलवी र मौलानाहरु सहभागी थिए ।


गृहमन्त्रालयले १५ दिनभित्रमा छानवीन प्रतिवेदन पेश गर्ने गरी एसएसपी किशोर दाहालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाई, कानुन मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, ससस्त्र प्रहरी उपरिक्षक रमेशकुमार थाम्सु र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य रहेको समिति बनाएर पठाएको छ ।


हत्या गरेर प्रहरीकै अघि हत्याराहरु दुइटा मोटरसाइकलमा भारतीय सिमा पार गरेकोमा प्रहरी प्रसासनविरुद्ध नाराबाजी गर्दै स्थानीयले प्रदर्शन गरेका थिए । विद्यालय व्यबस्थापनसमितिको बैठक सकेर विहान भूटाहा बजारमा चिया खाएर छिमेकी अमिन मियाँको मोटरसाइकल पछाडि चढेर घर पुग्नै लाग्दा अज्ञात बन्दुकधारीले दुईतिरबाट चलाएको गोलीले अन्सारीको मृत्यु भएको थियो ।



प्रकाशित : आश्विन ५, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?