कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाका प्रदेश सचिवद्वारा पद अस्वीकार

भीमबहादुर सिंह

जाजरकोट — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माया प्रसाद शर्माले कर्णाली प्रदेश कमिटी सचिव पद अस्वीकार गरेका छन् । शर्माले आफूलाई अपमान हुने गरी पदीय जिम्मेवारी तोकिएको भन्दै उक्त पद अस्वीकार गरेको बताएका छन् ।

नेकपाका प्रदेश सचिवद्वारा पद अस्वीकार

शुक्रबार नेकपाको सचिवालय बैठकले सात प्रदेश इन्चार्ज, सह इन्चार्ज, प्रदेश अध्यक्ष र सचिवको जिम्मेवारीको टुंगो लगाएको थियो । दुई पार्टी एकीकरणपछि पहिलो पटक सबै प्रदेशमा पदीय जिम्मेवारी तोकिएको हो । शर्मा तत्कालीन एकीकृत माओवादीका कर्णाली प्रदेश अध्यक्ष हुन् ।

पार्टी फुटपछि नेकपाको वैद्य समूहमा रहेका शर्मा रामबहादुर थापा सँग एकीकृत माओवादीमा फर्किएका नेता हुन् । उनी तत्कालीन माओवादीका स्थायी समिति सदस्य थिए । पार्टी एकीकरणपछि उनी नेकपाका केन्द्रीय सदस्य छन् ।

२०६४ सालमा तत्कालीन माओवादीको तर्फबाट समानुपातिक सांसद समेत बनेका शर्मा गत निर्वाचनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदार थिए । तर टिकट नपाएपछि उनले पार्टीमा असन्तुष्टि जनाउदै आएका थिए ।

कर्णाली प्रदेश अध्यक्षमा हुम्लाका पूर्व एमालेका नेता गोरख बोगटीले जिम्मेवारी पाएका छन् । राजनीतिमा बोगटी भन्दा शर्मा सिनियर हुन् । बोगटी पनि पूर्वसांसद तथा तत्कालीन एमालेका केन्द्रीय सदस्य हुन् ।

कर्णालीको इन्चार्जमा तत्कालीन माओवादी नेता जनार्दन शर्मा र सह इन्चार्जमा तत्कालीन एमाले नेता यमलाल कँडेललाई तोकिएको छ । इन्चार्ज तत्कालीन माओवादीको भागमा परेपछि अध्यक्ष तत्कालीन एमालेको भागमा परेको हो ।

नेतृत्व तहले पटक पटक आश्वासन दिने तर जिम्मेवारी नदिने, अध्यक्ष भएको व्यक्तिलाई अपमानित हुने गरी सचिवमा राखेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘मलाई तोकिएको जिम्मेवारीमा म बस्दिन,’ उनले भने। उनका भाइ इन्द्रलाल र बहिनी ममताले जनयुद्धमा ज्यान गुमाएका थिए । भाइ रामदीप आचार्य नेकपाको केन्द्रीय समिति सदस्य रहेका छन् ।

प्रकाशित : आश्विन ६, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?