कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालककाे मृत्यु पछि अस्पतालमा तनाव

छानबिन समिति गठन
अवधेशकुमार झा

राजविराज — अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भइसकेका बालक जिउँदै रहेको भन्दै आफन्तले शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड गरेका छन् । आफन्तको प्रदर्शनका कारण शनिबार दिउँसोदेखि साँझसम्म अस्पताल परिसरमा तनाव छ ।

बालककाे मृत्यु पछि अस्पतालमा तनाव

तोडफोडपछि असुरक्षा भएको भन्दै आकस्मिक कक्षमा पनि स्वास्थ्यकर्मी उपचार गर्न नजाँदा अन्य बिरामीको बिजोग भएको छ ।


रुपनी गाउँपालिका वडा नम्बर ६ का अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको मृत्यु अस्पताल पुर्‍याउनुअघि नै भइसकेको चिकित्सकको दाबी रहे पनि आफन्तले बच्चा जीवितै रहदा नै डाक्टरले मृत घोषणा गरेको आरोप लगाउँदै प्रदर्शन र तोडफोडमा उत्रेका थिए ।


रुपनी ६ विरेन्द्रवजारस्थित आफनै किराना पसल अगाडि बेन्चमा खेलिरहेका बालक सिद्धार्थ शुक्रबार साँझ ६ बजे बेन्चबाट लड्न थालेपछि उनका बुवा अशोकले उनलाई सम्हालेर आमाको काखमा दिएका थिए । आमाको काखमा बच्चा रुन थालेको र असामान्य हुन थालेपछि उनलाई नजिकैको धामीकहाँ पुर्‍याएका थिए । उनलाई सर्पले डसेको थियो ।


धामीको झरफुकपछि पनि बच्चा निको नभएपछि साँझ साढे ७ बजे रुपनी–राजविराज सडक खण्डको रायपुरमा रहेको युनिक अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले बाकलाई मृत घोषणा गरेका थिए । आफन्तले बालक जिउँदै छ भन्दै राति ८ बजे गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज पुर्‍याएका थिए । बच्चालाई अञ्चल अस्पतालमा ल्याउने बित्तिकै परीक्षण गरेका डाक्टर प्रमोदकुमार यादवले अस्पताल ल्याउनुअघि नै बच्चाको मृत भइसकेको बताएका थिए ।


डा. यादवले भने, ‘बच्चा अस्पताल ल्याउँदा हामीले परीक्षण गर्‍याैं । इसीजी गर्‍यौं तर बच्चा मृत भइसकेको थियो । शरीर निलो भइसकेको थियो । उनलाई ल्याउने क्रममै बाटोमै मृत्यु भएको थियो ।’

बच्चालाई मृत घोषणापछि उनलाई अञ्चल अस्पतालको शवगृहमा राखिँदा आफन्तले बच्चा जीवितै रहेको भन्दै थप उपचारका लागि विराटनगर लग्ने भन्दै बच्चा मागेका थिए ।


तर अस्पताल प्रशासनले पोस्टमार्टमपछि मात्र बच्चा दिन मिल्ने बताएपछि शुक्रबार राति आफन्तहरू घर गएका थिए । शनिबार बिहानै बच्चाका अभिभावकले पोस्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका थिए । तर पोस्टमार्टमको तयारी भइरहेकै बेला बालक सिद्धार्थको घर रहेको वीरेन्द्रवजारबाट आएको एक समूहले शवगृहको ताला फोडदै उनलाई निकालेको थियो ।


उनका छिमेकी उपेन्द्र साहका अनुसार शवगृहबाट बच्चा निकाल्दा बच्चाको आँखाबाट आँसु झरेको, मुखबाट र्‍याल आएको र श्वास चलिइरहेको अनुभव भएको भन्दै शनिबार दिउँसो २ बजे एम्बुलेन्समा हालेर उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र चोर्हवा पठाइएको थियो । तर चिकित्सकहरूले भने शुक्रबार राति नै मृत्यु भइ शव गृहमा राखिएको बालक जीवित हुन नसक्ने भन्दै आफन्तले बच्चा जीवित छ भन्नु झूटो अफवाह मात्र भएको बताए ।


मृत भनिएका बच्चा जीवितै रहेको हल्ला चलेपछि अस्पतालमा जम्मा भएको आफन्त र अन्यको भीडले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै डाक्टरविरुद्ध चर्को नाराबाजी गरेका थिए । सर्पदंश उपचार केन्द्रमा लगिएका बालकको मृत्यु भइसकेको बताइएपछि उनको मृत शरीर फेरि अञ्चल अस्पताल राजविराजमा ल्याइएको छ ।


तोडफोडबाट अस्पतालको आकस्मिक कक्षमा रहेको इसीजी मेसिन,मक्युटर,फर्निचरलगायतका सामग्रीमा क्षति पुगेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल खासले जानकारी दिए । अस्पताल परिसरमा तोडफोड र प्रदर्शन चर्किपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र बिष्टको नेतृत्वमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालित भएपछि स्थिति नियन्त्रणमा आएको थियो ।


मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बालक सिद्धार्थलाई अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भइसकेकाले चिकित्सकको कुनै लापरवाही नरहेको तथा अनावश्यक रूपमा अस्पतालमा तोडफोड भएका कारण स्वास्थ्यकर्मी असुरक्षित भएको बताए ।


अस्पतालमा तनाव बढदै गएपछि राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा,वडाध्यक्षहरू समिर झा,अरुण यादव,सञ्जय यादव,रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव,जिल्ला प्रहरी प्रमुख राजेन्द्र बिष्ट, डा. दास सहितको छलफलमा बच्चाको मृत्यु अस्पताल पुर्‍याउनु अगावै भएको निष्कर्ष निकालेको छ । छलफलले राजविराज नगरपालिकाका मेयर शम्भु यादवको संयोजकत्वमा एक छानबिन समिति वनाउने निर्णय गरेको छ ।

(सच्याइएकाे : यसअघिकाे समाचार ती बालकका अाफन्तकाे भनाइका अाधारमा प्रकाशित भएकाेले भूल सुधार गरिएकाे छ ।)

प्रकाशित : आश्विन ६, २०७५ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?