सप्तरीमा देखिएकाे हङकङ र स्वाइन फ्लु नियन्त्रणमा आएको दाबी

अतुल मिश्र

काठमाडौँ — सप्तरीको पूर्वी क्षेत्रमा मौसमी रुघाखोकीअन्तर्गत देखिएको हङकङ फ्लु, स्वाइन फ्लु र इन्फुएन्जा ‘बी’ को प्रकोप नियन्त्रणमा आएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले जनाएकाे छ ।

सप्तरीमा देखिएकाे हङकङ र स्वाइन फ्लु नियन्त्रणमा आएको दाबी

हाल सम्म मौसमी रुघाखोकीले यो क्षेत्रमा ४ जनाको मृत्यु भए पनि ११ दिनयता कसैको मृत्यु नभएको इडीसीडीले जनाएको छ । मौसमी रुघाखोकीको बिरामीको संख्या घट्दो छ ।


यो प्रकोप कन्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा देखिएको थियो । सिमावर्ती भारतीय राज्य झारखण्डस्थित ‘बाबाधाम’को दर्शन गरेर सप्तरी फर्केका कावरियाहरुबाट यो संक्रमण स्थानीयमा फैलिएको थियो । ‘हाल मौसमी रुघा खोकीको प्रकोप नियन्त्रणमा आइसकेको छ,’ महाशाखाका निर्देशक डा. विवेककुमार लालले शनिबार कान्तिपुरसँग भने, ‘तर अझै पनि हामीले त्यँहा निगरानी जारी नै राखेका छौं ।’


संक्रमण प्रभावित क्षेत्रमा गत भदौ २४ गते देखि शुक्रबारसम्ममा संचालन गरिएका स्वास्थ्य शिविर तथा स्वास्थ्य संस्थाहरुमा ३ हजार ८ सय ३३ जना मौसमी रुघाखोकीका लक्षण भएका बिरामीहरुको उपचार गरिएको समेत डा. विवेकले बताए ।


हाल इडीसीडीको टोली प्रभावित स्थानमा प्रकोप नियन्त्रण, व्यवस्थापन र समन्वय गर्न निरन्तर कार्य गरि रहेको समेत उनले उल्लेख गरे ।


राजधानीस्थित मुलुकको केन्द्रिय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सप्तरीबाट ल्याइएको शंकास्पद थ्रोट स्वाव (र्‍याल) को २८ नमूना मध्ये १६ वटामा इन्फलुएन्जा भाइरस देखिएको थियो ।


यस अन्तर्गत १४ वटामा इन्फुएन्जा ए–एच३एन२ अर्थात हङकङ फ्लु, एउटामा इन्फुएन्जा ए–एच१एन१ अर्थात स्वाइन फ्लु र एउटामा इन्फुएन्जा बी भाइरस देखिएको प्रयोगशालाका निर्देशक डा. हरिशचन्द्र उप्रेतीले बताए ।


विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ए, बी र सी गरी तीन प्रकारको हुन्छ । ‘ए’ भाइरसको विभिन्न उप–प्रकार मध्ये हाल ‘एच१एन१’ स्वाइन फ्लु र ‘एच३एन२’ हङकङ फ्लु मानिसमा फैलिरहेको छ । ‘सी’ प्रकारको इन्फुएन्जा भाइरस ‘ए’ र ‘बी’ को दाँजोमा धेरै कम फैलिरहेको हुन्छ ।


डब्लूएचओकाअनुसार मौसमी रूघाखोकी कडा भाइरल संक्रमण हो, जो एक व्यक्तिबाट अर्कोमा सजिलै फैलिन्छ । यो मौसमी रूघाखोकीको भाइरस विश्वव्यापी रूपमा फैलिरहेको हुन्छ र जुनसुकै उमेर समूहलाई प्रभावित गर्छ।


मौसमी रूघाखोकीको उच्च जोखिमयुक्त जनसंख्यामा यसको कडा संक्रमण हुने देखि मृत्यु समेत हुन सक्छ ।

प्रकाशित : आश्विन ६, २०७५ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?