३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खप्तडमा पशुपालन

वसन्तप्रताप सिंह

बझाङ — बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल हो खप्तड । तर खप्तडको परिचय यतिमै सीमित छैन ।

खप्तडमा पशुपालन

खप्तडमा पौराणिक कालमा मायावी शक्ति भएका देवीदेवताले गगनचरीको भेष गरी यहाँको आकाशमा विचरण गर्ने गरेको, शिव आदि देवता र सिद्धहरूको क्रीडास्थलका रूपमा रहेको र ऋषिमुनिहरूको तपस्थली भएको कुरा आर्ष पुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख छ । खप्तड स्वामीले आफ्नो सम्पूर्ण जीवन यहीं गुजारेका थिए ।

खप्तड पछिल्लो समय धार्मिक, आध्यात्मिक र पर्यावरणीय पर्यटनको केन्द्रका रूपमा विकास हुँदैछ । ‘भूस्वर्ग’ को नामले प्रख्यात खप्तडको मायावी शक्तिको आकर्षणमा परेर यहाँ आउनेको संख्या बर्सेनि बढ्दो क्रममा छन् । यहाँको प्राकृतिक सुन्दरताको आनन्द लिनेले विभिन्न विशेषणले खप्तडको वर्णन गर्ने गरेका छन् ।

बाहिरबाट घुम्न आउनेलाई मात्र होइन, आसपास बस्नेलाई पनि खप्तडले मोहनी लगाएको छ । खप्तडमै पशुपालन गरेर जीविका चलाउने सयौं पालकका कथा पनि उत्तिकै चाखलाग्दा छन् । लाग्छ, खप्तड र पशुपालनको परम्परागत सम्बन्धको पाटोको चर्चाबिना खप्तडको परिचय अधुरो रहन्छ । खप्तड छान्ना गाउँपालिका ४, सिल्कावाडाका कर्णबहादुर रोकाया उमेरले ७४ टेके । ९ वर्षकै उमेरमा पहिलोपटक बुबाको साथ लागेर खप्तड टेकेका उनले त्यसपछिका हरेक वर्षका ६ महिना यतै बिताउँछन् । जीवनको उतराद्र्धमा पनि खप्तडस्थित भैंसी खर्कमा रमाइरहेका उनी यहाँबिना बाँच्नै नसक्ने बताउँछन् ।

४ भैंसी, ३ पाडापाडी, १ घोडा र १२ वटा गाईगोरु उनको बुढेसकालका साथी हुन् । ‘म त मान्छेभन्दा पनि यिनीहरूसँगै बढी रमाउँछु,’ रोकाया भन्छन्, ‘खप्तडका पाटनमा गाई, भैंसी चराउनु जतिको रमाइलो मलाई केही लाग्दैन । यहाँ पुगेपछि शरीरमा त्यसै जोस जाग्छ ।’ हुन पनि उनी वैशाखमा खर्क जाने कामको तयारी फागुनबाटै थाल्छन् । हिउँदयाममा खप्तड हिउँले सेताम्मे हुन्छ । यहाँ गाईबस्तु पाल्न र मान्छे बस्नै गाह्रो हुन्छ । तर लामो समय खप्तड बाबाको सानिध्य रहेका उनलाई भने हिउँद नआइदिए हुन्थ्योजस्तो लाग्छ ।

उनले भने, ‘खप्तड आउने कुराले मनै हौसिन्छ । हिउँदमा खप्तड छोड्नुपर्दा नमीठो लाग्छ ।’ उनले खप्तड बाबाको कुटीमा आफूले धेरै वर्षसम्म दिनहुँ दूध दिने गरेको र उहाँसँगै धेरैबेर गफिएर बसेको सम्झिए । उनीमात्र होइन, बझाङको थलारा र खप्तड छान्ना गाउँपालिकाबाट करिब २ सय परिवार गोठाला वैशाखदेखि असोजसम्म खप्तडमै रहन्छन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाबाट मात्र ३ सयको हाराहारीमा गोठाला आफ्ना बस्तुभाउसहित यता आउँछन् । खप्तडसँग जोडिएका अछाम र डोटीका गाउँबाट पनि यही हाराहारीमा गोठाला खप्तड आइपुग्छन् । यो समय खप्तडका पाटन खर्कले भरिभराउ हुन्छन् । गाई, भैंसीका गलामा झुन्डाइएका घण्टीका आवाजले पाटनहरू पनि संगीतमय हुन्छन् ।

दही यस क्षेत्रमा स्वादका हिसाबले चर्चित छ । यो दही पहिलोपटक खाएको मान्छेलाई लाग्छ (मात्छ) पनि । विषालु जडीबुटीहरू खाएका गाई, भैंसीको दहीमा त्यसको केही अंश हुने भएकाले दही खाएपछि मात्ने गरेको गोठालाहरू बताउँछन् ।

यहाँको दही खाएपछि धेरै जसोलाई तुरुन्तै निद्रा लाग्ने र कतिपयलाई बान्ता पनि हुने गरेको खप्तडछान्नाका गाउँपालिका दारुगाउँका भैंसीपालक प्रकाश खड्काले बताए तर, छेडेदह गाउँपालिका १, काँडाका दल्या रावललाई यही दहीको स्वादले प्रत्येक वर्ष खप्तड बोलाउँछ । उनी वैशाख पहिलो साता नै भंैसी लिएर खप्तड आइपुग्छन् ।

उनले उमेरको उकालो चढ्ने क्रममा उनी ७६ वर्ष टेकिसकेका छन् । यो उमेरमा खर्क नजान छोराछोरीले र नातिनातिनाले गरेको अनुरोधको बेवास्ता गर्दै उनी वैशाखको सुरुमै खप्तड पुग्छन् । ‘सबैभन्दा पहिला मेरा भैंसी खप्तड पुग्छन् । मैले खर्क बनाएपछि मात्र अरू आउन थाल्छन्,’ दल्या भन्छन्, ‘घरका मान्छे त यो बुढेसकालमा नजाउ भन्छन् नि, एक कचौरा खप्तडको दही नखाई मनै मान्दैन ।’ बाजुराका जहरी रावल भन्छन् । ‘पहिला पहिला खासै मान्छे आउँदैनथे । अचेल मान्छे पनि धेरै आउँछन् । कुनै महिना त ३०/३५ हजारको दही, दूध बिक्री हुन्छ,’ उनले बिक्री नभएको दहीबाट घिउ र मोही बनाउने गरेको बताए । खप्तड घुम्न आउनेले यहाँको घिउ कोसेलीका रूपमा लैजाने गरेको उनको भनाइ छ ।

गाई, भैंसी पालनका लागि मात्र हैन, खप्तड राष्ट्रिय निकुञ्ज घोडापालनका लागि पनि प्रख्यात छ । यहाँ बझाङ, बाजुरा, डोटी र अछामका मात्र होइन । बैतडी, दार्चुला, डडेल्धुरादेखि लिएर कर्णाली अञ्चलका मुगु, कालिकोट र जुम्लासम्मका घोडाहरू ल्याएर छोड्ने गरिन्छ । वैशाखको सुरुमै ल्याएर यहाँका पाटनमा छोडिएका घोडालाई एकै पटक भदौ, असोजमा मात्र सम्बन्धित धनीले फर्काएर घर लैजाने गरेको खप्तड छान्ना गाउँपालिकाका शैलेन्द्र रोकायाले बताए । ‘खप्तड चरेका र अन्त चरेका घोडा हेरेरै छुट्याउन सकिन्छ,’ उनले भने ‘खप्तडमा चरेका घोडा चिल्ला र हेर्दै रहरलाग्दा हुन्छन् ।’ यहाँ पशुपालन गरे निकुञ्जले शुल्क लिने गरेको छ ।

घोडाका हकमा मध्यवर्ती क्षेत्रका लागि ५ सय र बाहिरकालाई हजार रुपैयाँ तिर्नुपर्छ । यस्तै पुराना खर्कवालाबाट २ सय र नयाँलाई १२ सय शुल्क तोकिएको छ । प्रतिगाईको ३, भैंसीको १० र बाख्राको २ रुपैयाँका दरले निकुञ्ज प्रशासनलाई शुल्क तिरेपछि मात्र यहाँ ६ महिनाका लागि पशुपालन गर्ने अनुमति पाइने गरेको निकुञ्ज कार्यालयका रेन्जर सुनील बोहरा बताउँछन् ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?