कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ध्यानका बेला मेसिनको कोलाहल

मायादेवी मन्दिर

लुम्बिनी — यहाँस्थित मुख्य आकर्षण र विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर परिसरमा विकास कोषका सफाइ कर्मचारीले हेलचेक्र्याइँ गरेका छन् ।

ध्यानका बेला मेसिनको कोलाहल

विभिन्न मुलुकबाट आएका बौद्ध धर्मावलम्बीले ध्यान गर्ने बिहानी समयमा उनीहरूले होहल्ला गर्ने गरेका छन् । चर्को अवाज आउने मेसिन चलाएकाले उनीहरूको ध्यान भंग भएको थियो ।

शनिबार बिहान ध्यान र प्रवचनका लागि श्रीलंकन पर्यटकको समूह मन्दिर प्रवेश गर्‍यो । मुख्यद्वारमा कर्मचारीको रूखो वचन खेपेका उनीहरूले परिसरमा पनि शान्त ठाउँ भेटेनन् । सफाइ कर्मचारीले घाँस काट्न प्रयोग गरेका दुई मेसिनको चर्को आवाजले बाधा पुग्यो । उनीहरू शान्त स्थल खोज्दै परिसर घुमिरहेका थिए । आवाजले मन्दिर सामुन्ने ध्यान बस्न सम्भव नभएपछि उनीहरू पछाडिको पीपलको रूखमुनि गएका थिए ।

परिसर कोलाहलपूर्ण थियो । यहाँ ध्यान र घुम्न आएकाहरू औंलाले कान थुनेर अवलोकन गरिरहेका थिए । बिहान श्रद्धालुको घुइँचो लागेको थियो । त्यसै बेला एक कर्मचारी मुखमा रुमाल बाँधेर बिरुवामा कीटनाशक औषधि छिटिरहेका थिए । चौरबाट बाटोतर्फ छिटेको औषधिका फोका पर्यटकको मुखसम्म पुगेका थिए । केही पर्यटकले कीटनाशकले असर गरेको गुनासो गरेपछि मुख्यद्वारमा खटिएका सशस्त्र प्रहरीले रोक्न अह्राएका थिए । औषधिले नाक चिलाएको उनीहरूले गुनासो गरेका थिए । परिसरभित्र यस्तो वातावरण मध्याह्नसम्म रहेको थियो ।

शान्ति, सद्भाव, प्रेरणा र भ्रातृत्वको सन्देश लिन आउने बौद्ध धर्मावलम्बी, उपासक/उपासिकाले यहाँ ठीक उल्टो वातावरण देखेपछि मन खिन्न पारे । समूह बनाएर ध्यानमा बसेका विदेशीलाई समस्या भएपछि उनीहरू ध्यान पूरा नगरी उठेका थिए । ३० जना श्रीलंकन बौद्ध धर्मावलम्बीलाई प्रवचन दिइरहेका भिक्षु सुनन्दले दर्शनका कुरा सुनाउन कठिन भएको गुनासो गरे । ‘चर्को आवाजले एकाग्र बन्न सकिएन,’ उनले भने, ‘प्रवचन ग्रहण गर्न नपाउँदा दु:खी बने ।’ श्रीलंकनले यहाँ आउनुलाई अहोभाग्य ठान्छन् । तर, ध्यान बस्ने वातावरण नरहेकाले खल्लो मानेको भिक्षुले बताए ।

कीटनाशक औषधि छिट्ने जानकारी पर्यटकलाई पहिल्यै गराउनुपर्ने अधिकांशले बताए । ‘विषादीले गर्दा आँखा चिलायो,’ कपिलवस्तुको जवाभारीबाट आएका अजय चौधरीले भने, ‘साथीको त टाउकै दुख्यो ।’ यहाँ श्रद्धालु ओहोरदोहोर नगर्ने समय निश्चित गरी विषादी छर्ने व्यवस्था गर्न उनले सुझाव दिए । यति महत्त्वपूर्ण स्थलमा लुम्बिनी विकास कोषका जिम्मेवार कर्मचारी छैनन् । सुरक्षाकर्मी र माली मात्रै थिए ।

विदेशी धर्मावलम्बीका सामुन्ने भएका यस्ता हेलचेक्र्याइँले लुम्बिनीबारे नकारात्मक सन्देश फैलिने हुँदा सतर्कता अपनाउनुपर्ने यहाँस्थित नेपाल मन्दिरका प्रमुख भिक्षु सागर धम्मले बताए । विकास कोषले कल्पनाभन्दा बाहिरको समस्या देखिएको जनाएको छ । ‘हामीले नसोचेको समस्या आयो,’ कोषका योजना प्रमुख तथा निमित्त सदस्य सचिव सरोज भट्टराईले भने, ‘यसलाई तुरुन्तै व्यवस्थित गर्छौं ।’ ध्यानका बेला उत्पन्न ध्वनिले समस्या निम्त्याउने उनले बताए । निश्चित समय तोकेर सरसफाइ र कीरा नियन्त्रण गरिने उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?