१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जमिन छैन, पेट पनि भोकै

शाहीमान राई

धनुषा — छाप्रामुनि गम्छा बेरेर बस्छन् ७० वर्षीय मकेश्वर दास । शरीरमा कपडा छैन । छाप्रोमै बिते उनका धेरै हिउँद र बर्खा । बालकैमा बिहे गरे आफूजस्तै बालिका देवी सदासित । उनीभन्दा ३ वर्ष कान्छी थिइन् देवी । केही वर्षपछि यी दम्पतीले छोराछोरी जन्माए ।

जमिन छैन, पेट पनि भोकै

त्यत्तिकै हुर्किए छोराछोरी, उनीहरूले बिहे गरे अहिले नातिनातिना, पनातिनी पनि भइसके । दु:खैदु:खबीच १० वर्षअघि देवीको चोला उडयो । छोराछोरी नातिनातिना परिवार आ–आफ्नै किसिमले जिउँछन् । उनी भए एक्लै । बस्छन् यही छाप्रोमा । भन्छन्, ‘जग्गाजमिन कुछ नहीं’ अर्थात् जग्गाजमिन केही छैन, सुकुम्बासी ।

त्यही बस्तीमा भेटिए अर्का ८८ वर्षीय जनक सदा । एक गैरसरकारी संस्थाले बनाइदिएको खालि सामुदायिक भवनको खुला कोठामा बस्दै आएका उनको कथा पनि मकेश्वरभन्दा अलग छैन । तर उनले त नेताहरूप्रति गुनासो पोखे, ‘विकास गरिदिने, गरिब, दलितलाई जग्गा दिने, घर बनाइदिने भन्थे, यतिका दिन कता गए, खोइ ?’ जनकले दलित बस्ती विकासको पर्खाइमा रहेको बताए । उनले सरकारसित गरिखाने जमिन र बस्ने घर बनाइदिनुपर्ने आशा गरेको सुनाए । ‘नेताहरूले चुनावका बेला भोट माग्दै भनेका थिए, जग्गा दिन्छु, घर बनाइदिन्छु,’ उनले भने, ‘हामी यही आशामा छौं ।’

धनुषाको सुदूरपूर्व कमला नदीकिनार कमला नगरपालिका ७ को दलित बस्ती हठमुन्डाका ८८ वर्षीय जनक र ७० वर्षीय मकेश्वर प्रतिनिधि पात्र हुन् । करिब ६० वर्षदेखि बसोबास गर्दै आएका यहाँका दलित मुसहर समुदायका अधिकांशले नागरिकता भने लिइसकेका छन् । नागरिकताकै आधारमा जनक र मकेश्वरले सामाजिक सुरक्षा (वृद्ध) भत्ता पाइरहेका छन् । वर्षाैंदेखि सार्वजनिक जग्गामा बसोबास गर्दै आएका दलित समुदायको आफ्नै नाममा १ इन्च पनि जमिन छैन । ‘बाजेबराजुकै पालादेखि हामीसित जग्गाजमिन छैन, हाम्रै पालामा पनि जग्गाजमिनको जोहो गर्न सकेनौं र घरबारविहीन छौं,’ ६५ वर्षीय कारी सदाले भने, ‘मजदुरी, गरी परिवारको छाक टार्छौं, नत्र भोकै बस्नुपर्छ ।’

जनकपुरदेखि करिब ४५ किमि पूर्व हठमुन्डास्थित बस्तीका ६० घरपरिवार दलित मुसहर र चमार समुदाय गरिबीको चपेटामा छन् । उनीहरूको नाममा न जग्गा जमिन छ, न बस्ने घर । एउटै आँगन वरिवरि बनाइएका ससाना छाप्रोमा बस्दै आएका दलित समुदायबाट कसैले उच्च शिक्षा हासिल गरेको छैन । अधिकांश निरक्षर छन् । यहाँका बालबालिका विद्यालय जाँदैनन् । परिवारको जीविकोपार्जनका लागि यहाँका बासिन्दाको मुख्य पेसा मजदुरी हो । केटाकेटी माछा मार्ने, खेल्ने र गोठालो जान्छन् । गरिब, विपन्न दलित मुसहर र चमार समुदायका १ सय २५ बालबालिका विद्यालय जानबाट वञ्चित रहेको स्थानीय कैलु यादव बताउँछन् ।

कलिलैमा बिहे गरी सन्तान जन्माउँछन् । बाबुबाजेकै पालादेखि छाप्रो बनाएर बसेका २५ घरपरिवार मुसहर समुदायको आँगन पनि एउटै छ । कतिपयले बहुविवाहसमेत गरेका छन् । एक दम्पतीले जन्माएका १४ जनासम्म सन्तान यही छाप्रोमा अटाएको कैलु बताउँछन् । दलित मुसहर समुदायका अधिकांश वृद्ध, युवा र केटाकेटीको शरीरमा लुगा छैन । उत्पादन गर्ने जमिन नहुँदा वर्षभरि खाद्यान्न अभाव झेल्न बाध्य रहेको अर्का श्रीराम महतोले बताए । ‘पेटभरि खानेकुरा छैन, जिउमा लुगा छैन, छोराछोरीलाई कसरी पठाउने ?’ कारी सदाले भने, ‘भोको पेटले शिक्षा आर्जन गर्न गाह्रो हुन्छ ।’

प्रकाशित : आश्विन ७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?