कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्यार्गा सिक्दै गुरुङ तन्नेरी

गाेरखा — गोरखा नगरपालिका ४ का दिनेश गुरुङ यतिबेला स्यार्गा नाच सिक्दैछन् । आफ्नो समुदायको मृत्यु संस्कारमा अनिवार्य मानिने स्यार्गा उनलाई नौलो लागिरहेको छ ।

स्यार्गा सिक्दै गुरुङ तन्नेरी

‘स्यार्गा नाच गुरुङको मृत्यु संस्कारमा अनिवार्य छ तर यसका लागि हामीले निकै टाढाबाट गुरुहरू बोलाउनुपथ्र्यो,’ उनी भन्छन्, ‘त्यसैले आफैं सिक्न कस्सिएका छौं ।’ समुदायका कसैको मृत्युपछि तीन दिन अर्घुं लगाउने चलन रहेको स्यार्गा नाचका प्रशिक्षक बमबहादुर गुरुङले बताए । ‘केही गुरुङ गाउँमा हिजोआज एकराते अर्घुं गर्ने चलन पनि छ,’ उनले भने, ‘नयाँ पुस्तालाई हामीले संस्कृतिका तौरतरिका सिकाएनौं भने चलन फेरिँदै जाने खतरा छ ।’

स्यार्गाका पुराना गुरुहरू भेट्नै गाह्रो परेकाले जसले जानेको छ, उसैले युवालाई सिकाउनुको विकल्प नभएको उनले बताए । ‘गोरखा नगरपालिकामा स्यार्गा सिकाउने म मात्रै हुँ,’ उनले भने, ‘मैले मात्रै संस्कृति धान्न सक्ने कुरा भएन । युवाले सिके भने उनीहरूबाट अर्को पुस्तामा पनि संस्कृति हस्तान्तरण हुँदै जान्छ ।’

गोरखाका गुरुङ समुदायमा तीन दिनको अर्घुं कर्मकाण्डअन्तर्गत दोस्रो दिन स्यार्गा नाच्ने चलन छ । मृत्यु भएकाको परिवारले अर्घुं लगाउने मिति तोकेपछि स्यार्गा गुरुलाई एक पुङ (सानो ठेकी) घरेलु रक्सी दिएर नाचका लागि आमन्त्रण गर्छन् । स्यार्गा गुरु आफ्ना चेलासहित कर्मकाण्ड गर्ने स्थानमा पुग्छन् । ‘नाच र गीतबाट मरेको मान्छेको आत्मालाई बोलाएर राख्छौं र स्वर्ग पुर्‍याउँछौं,’ उनले भने, ‘हाम्रो संस्कारमा यो विश्वास पुस्तौंदेखिको हो ।’ उक्त नाचबापत गच्छेअनुसार दक्षिणा पाउने बमबहादुरले बताए ।

स्यार्गा नाच र गीत सिक्दै गर्दा गुरुङ समुदायको भाषामा पनि पोख्त हुने उनको भनाइ छ । ‘गीतमा शरीरका प्रत्येक अंगको नाम हुन्छ, अनि ९ गीतका डाँडा हुन्छन्,’ उनले भने, ‘यसले भाषा र संस्कृति सिक्न सजिलो हुन्छ ।’ दक्ष गुरुहरूको अभाव र मिश्रित जातजातिको बसोबासको प्रभावले ठाउँअनुसार स्यार्गा नाच फरक पर्न थालेको उनले बताए । ‘कसैले मरेकै दिन, कसैले १३ दिन, ३५ दिन, ४५ दिन र सम्पत्ति नहुनेले २ वर्ष, ५ वर्षमा पनि अर्घुं लगाउँछन्,’ उनले भने, ‘अुर्घं लगाउँदा स्यार्गा नाचिन्छ ।’ नाचमा सहभागी हुनेहरू आफ्नै परम्परागत भेषभूषामा सजिएका हुन्छन् । केटा समूहले कछाड र केटीले घलेक लगाएर स्यार्गा नाच्छन् ।

तमु हयुला छोंज धीं (गुरुङ राष्ट्रिय परिषद्) ले युवालाई स्यार्गा नाचसँगै यहाँ गुरुङ भाषाका लागि पनि प्रशिक्षण दिएको छ । प्रशिक्षणमा ४० भन्दा बढी युवायुवती सहभागी छन् । गुरुङ समुदायमा प्रचलित भनाइ ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ’ लाई आत्मसात् गर्दै युवापुस्ता खस नेपाली भाषालाई गुरुङ भाषामा अथ्र्याउन लालायित देखिन्छ । ‘प्रत्येक सर्वनाम सिकायौं । अनि आपसमा बोल्ने अभ्यास गरायौं,’ तमु भाषाका प्रशिक्षक सुकबहादुर गुरुङले भने । गुरुङ भाषा नजान्ने युवायुवतीलाई प्रशिक्षणमा सहभागी गराइएको उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?