कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सम्पदा संरक्षणको पहल

पर्यटक आकर्षित गर्ने योजना
प्रताप विष्ट

हेटाैंडा — प्रदेश ३ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्ने भएको छ । एसियाको पहिलो मानव निर्मित चुरियामाई सुरुङ मार्ग, फर्पिङस्थित चन्द्रज्योति विद्युत्गृह र सुन्दरी जलविद्युत्गृहको जीर्णोद्धार गरी पर्यटन प्रवर्द्धन गर्ने भएको हो ।

सम्पदा संरक्षणको पहल

यहाँका ऐतिहासिक स्थल र संरक्षण अभावमा अस्तित्व मेटिने अवस्थामा पुगेका सम्पदालाई पर्यटकीय क्षेत्रमा विकास गर्ने उद्देश्यले बजेट व्यवस्था गरेको प्रदेश ३ का पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री अरुण नेपालले बताए ।

‘चालु आवमा यी ३ ऐतिहासिक सम्पदाका लागि ठूलो रकम विनियोजन गर्न नसके पनि सम्बोधन भने गरेका छांै,’ उनले भने । प्रदेश ३ मा ऐतिहासिक स्थल र राष्ट्रिय सम्पदा धेरै छन् तर ओझेलमा परेका यी सम्पदा संरक्षण र संवद्र्धनमा प्रदेश सरकारको ध्यान आकृष्ट भएको देखिन्छ । यी सम्पदा लोप हुने अवस्थामा पुगेका छन् । सम्पदाहरूको जीर्णोद्धारसँगसँगै प्रचार गरी पर्यटक आकर्षण गर्ने मन्त्रालयको योजना छ । यसका लागि ५/५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले बताए । ‘यो थोरै भए पनि अर्को वर्ष आवश्यक पर्ने रकम विनियोजन गर्नेछौं,’ उनले भने ।

मानव निर्मित चुरिया सुरुङ मार्ग संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेको छ । हेटौंडा उपमहानगरपालिका १५ मा रहेको सुरुङ संरक्षण नभएपछि पुरिने अवस्थामा पुगेको छ । सडक छेउको सुरुङ मुखमाथिबाट माटो झरेर पुरिसकेको छ । वीरगन्जतर्फबाट आउँदाको सुरुङको प्रवेशद्वार अवस्था भने राम्रै देखिन्छ । करिब ५ सय मिटर लामो सुरुङ करिब १०१ वर्षअघि निर्माण गरिएको थियो ।

नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइनमा सन्
१९१७ मा सुरुङ निर्माण गरिएको हो । अमलेखगन्जदेखि भीमफेदीसम्म सडक डिजाइन उनैले गरेका थिए । अमलेखगन्ज र भीमफेदी सडकबीच पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसद्वारा खनिएको थियो । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएका हुन् ।

सुरुङ संरक्षण गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले सुरुङको इतिहास, चुरियामाई मन्दिर स्थापनाको कथा र संरक्षणको डिजाइन तयार पारिरहेको छ । यसको संरक्षण गरी विश्वसामु चिनाउनुपर्ने उपमहानगर प्रमुख हरिबहादुर महत बताउँछन् ।

बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक निर्माण गर्नेबेला सुरुङ निर्माण गरिएको हो । भूगर्भविद् टोनी हेगनले प्रकाशित गरेको ‘नेपाल’ नामक पुस्तकमा पनि चुरियाको सुरुङबारे उल्लेख छ । पुस्तकमा ‘२४ अक्टोबर १९५० का दिन रक्सौल नाका हुँदै वीरगन्ज अमलेखगन्जसम्म सानो रेल, अमलेखगन्जबाट सानो जिपमा भीमफेदी आउने क्रममा हालको मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरिया डाँडाको उकालो चढ्ने क्रममा देखेको मानव निर्मित सुरुङले आठौं आश्चर्यमा परेको’ उल्लेख छ ।

यसैगरी १९६८ सालमा प्रधानमन्त्री चन्द्रशमशेरले तत्कालीन शासकवर्गका परिवारलाई विद्युत् आपूर्ति गराउन फर्पिङमा ५ सय किलोवाट चन्द्र–ज्योति जलविद्युत् केन्द्र स्थापना गरेका थिए । फर्पिङस्थित उक्त आयोजना नेपालको पहिलो र एसियाको दोस्रो हो । यसअघि भारतको काभेरी नदीबाट विद्युत् उत्पादन गरिएको थियो । फर्पिङस्थित विद्युत्गृहको संरक्षण गर्ने र विद्युत् उत्पादनमा प्रयोग भएका संरचनाको रेखदेख गर्ने मन्त्रालयको योजनामा समेटिएको छ ।

यसैगरी सुन्दरी जलविद्युत् केन्द्रको पनि मर्मत सम्भार गर्ने जनाइएको छ । सन १९३६ मा सुन्दरीजल जलविद्युत् प्लान्टबाट ६ सय ४० किलोवाट विद्युत् उत्पादन गरिएको थियो । उक्त विद्युत्गृह रहेको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनोरम सुन्दरीजल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने योजना रहेको पर्यटन मन्त्रालयको छ ।

प्रदेश पर्यटन मन्त्रालयद्वारा संरक्षण गरिने ऐतिहासिक सम्पदा

- १०१ वर्षअघि बनेको चुरियामाईको सुरुङ मार्ग
- फर्पिङ विद्युत्गृह
- सुन्दरी जलविद्युत्गृह

प्रकाशित : आश्विन ७, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?