कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्टाटस सेयर गर्दा अवकाश

धनुषा — सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ । जिल्ला अदालतले रायलाई फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिरबाट हटाएको हो ।

स्टाटस सेयर गर्दा अवकाश

संविधानविरोधी समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका कारण करारमा कार्यरत उनलाई हटाइएको अदालतले दाबी गरेको छ । संविधान दिवसका दिन संविधानविरोधी समाचार फेसबुकमा सेयर गरेको भोलिपल्ट किन सेयर गरेको भनेर स्रेस्तेदारले मौखिक स्पष्टीकरण सोधेको रायले बताइन् । ‘न्यायालयमा उच्च मनोबलका साथ न्याय खोज्न आउँछन् तर मलाई न्यायालयबाटै अन्याय भयो’, आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले भनिन्, ‘न्यायालयले नै अन्याय गरेपछि म कहाँ जाऊँ ?’

जिल्ला अदालत धनुषाका स्रेस्तेदार राधाकृष्ण झाले गुञ्जा राय करारको कर्मचारी भएको र काम सन्तोषजनक नभएकाले म्याद थप नगरिएको बताए । महोत्तरीे पिपरा गाउँपालिका–४ स्थायी घर भएकी उनले आफ्नो अभिव्यक्ति दिने स्वतन्त्रता र मौलिक अधिकार तथा नागरिक स्वन्त्रता हनन भएको दाबी गरिन् । जिल्ला अदालतले समाचारको लिंक सेयर गर्दा जागिरबाट निकालेर अन्याय गरेको उनको आरोप छ ।

२०७३ पुस १७ गतेदेखि जिल्ला अदालतको खरिदार (डिट्ठा) पदमा कार्यरत रायले असोज ३ गते मधेसमा ब्ल्याक आउट, प्रदेश २ का मुख्यमन्त्री संविधान दिवसमा सहभागी नभएको तथा सीके राउतसम्बन्धी समाचार सामाजिक सञ्जालमा साभार गरेकी थिइन् ।

रायलाई ४ गते जिल्ला अदालतका स्रेस्तेदार राधाकृष्ण झाले संविधानविरोधी पोस्टरहरू सेयर किन गरेको भनी स्पष्टीकरण सोधेका थिए । भोलिपल्ट कार्यालय पुग्दा करार म्याद सकिएको पत्र दिएर रायलाई अदालतबाट फर्काइएको बताइन् ।

रायसँगै करारमा नियुक्त १० मध्ये ९ जनाले जिल्ला अदालतमा काम गरिरहेका छन् । ‘म समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकै कारण निकालिएकी छु,’ उनले भनिन् ।

प्रकाशित : आश्विन ८, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?