१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पाँच वर्षमा ३७ बाघ थपिए

बाघ गणना २०१८
अब्दुल्लाह मियाँ

काठमाडौँ — सन् २०१३ को तुलनामा नेपालमा बाघको संख्या बढेको छ । वन तथा वातावरण मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच वर्षको अवधिमा विभिन्न निकुञ्जमा ३७ वटा बाघ थपिएको हो ।

पाँच वर्षमा ३७ बाघ थपिए

सन् २०१३ मा कुल १९८ वटा बाघ रहेकोमा यसपटकको गणनामा २३५ वटा पुगेका छन् । तर, सबैभन्दा बढी बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा भने संख्या घटेको छ ।

करिब १० करोड रुपैयाँ खर्चेर साउनमै तयार पारिएको प्रतिवेदन संरक्षण दिवसको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो । चितवन निकुञ्जमा बाघको संख्यामा आएको गिरावटका कारण मन्त्रालयले यसअघि त्यसलाई गोप्य राखेको थियो । बाघ गणना र तिनको संख्या यकिन गर्न खटिएका एक विज्ञले तीन महिनाअघि तयार प्रतिवेदन मन्त्रालयले जस्ताको तस्तै सार्वजनिक गरेको जानकारी दिए । मन्त्रालयका सचिव विश्वनाथ ओलीले बाघको तथ्यांक विश्लेषण आवश्यक परेकाले केही समय रोकेको बताए ।

प्रतिवेदनअनुसार अन्य निकुञ्जमा बाघको संख्या बढेको छ भने चितवन र शुक्लाफाँटामा घटेको छ । चितवनमा २७ वटा र शुक्लाफाँटामा एउटा बाघ घटेको छ । सन् २०१३ मा चितवनमा १२० वयस्क बाघ रहेकामा अहिले ९३ वटा मात्र छन् ।

बाघ गणना प्राविधिक समितिका संयोजक एवं विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार बर्दिया निकुञ्जमा ८७, पर्सा निकुञ्ज र आसपासमा १८, बाँके निकुञ्ज र आसपासमा २१, शुक्लाफाँटा र आसपासमा १६ वयस्क बाघ छन् । भट्टराईका अनुसार यी सबै बाघ दुई वर्षमाथिका हुन् । पर्सा, बर्दिया र बाँके निकुञ्जमा बाघको संख्या विस्तार राम्रो भए पनि शुक्लाफाँटामा भने खासै बढ्न सकेको छैन । शुक्लाफाँटामा सन् २०१३ भन्दा अहिले एउटा बाघ घटेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार साउनसम्म पछिल्ला ५ वर्षयता पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म ३३ वटा बाघ प्राकृतिक कारणले मरेका छन् । चितवन निकुञ्जमा सबैभन्दा बढी १७ वटा बाघ मरेका छन् । ११ वटा प्राकृतिक र ६ वटा विद्युतीय पासो तथा विष हालेर मारिएका हुन् । गत वर्ष आएको बाढीले पनि केही बाघ बगाएको हुन सक्ने अनुमान गरिएको छ ।

चितवन निकुञ्जका बाघहरू सँगै जोडिएको पर्सा निकुञ्ज र भारतको वाल्मीकि निकुञ्जतर्फ लागेको हुन सक्ने अधिकारीहरूको अनुमान छ । चितवन निकुञ्जसँगै भारत विहारको वाल्मीकि टाइगर रिजर्भ जोडिएको छ । अघिल्लो पटक वाल्मीकिमा १७ बाघ थिए । अहिलेको नतिजा सार्वजनिक भइसकेको छैन । तर, ३२ को हाराहारीमा हुन सक्ने अनुमान छ ।

बाघको संख्या बढाउनका लागि पछिल्ला ५ वर्षयता पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म सरकारबाहेक दातृ निकायले करोडौं रुपैयाँ खर्चेका छन् । जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल नेपाल) र डब्लूडब्लूएफ नेपालले बाघ र तिनका आहार प्रजातिको संरक्षण, भौतिक संरचना र चोरी सिकार नियन्त्रणका लागि करिब ३० करोड रुपैयाँभन्दा बढीका कार्यक्रम सञ्चालन गरेका थिए ।

बाघको गणना गर्ने र तथ्यांक विश्लेषण गर्ने सबै जिम्मा राष्ट्रिय निकुञ्ज विभागले लिएको थियो । बाघ गणनाका लागि डब्लूडब्लूएफ नेपाल, जेडएसएल नेपालले आर्थिक र राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोग गरेको थियो । विभागका महानिर्देशक मनबहादुर खडकाले चितवनमा बाघ घटे पनि अन्य निकुञ्जमा बढेकाले सन् २०२२ मा बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता पूरा हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए ।

उनले चितवन निकुञ्जमा अघिल्लो पटकभन्दा बाघ घटेको देखिनुमा पर्सा निकुञ्ज र भारततर्फको वाल्मीकि टाइगर रिजर्भमा गएको हुन सक्ने दाबी गरे । सन् २०१३ मा गरिएको गणनाले नेपालका पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म वयस्क बाघको संख्या १९८ थियो ।

प्रकाशित : आश्विन ८, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?