बस्दैनन् विशेषज्ञ डाक्टर

भीमबहादुर सिंह

जाजरकाेट — कुशे गाउँपालिका ७, गुमौरीका ५० वर्षीय लक्षवीर शाही गत असार १५ मा रूखबाट खसेर सख्त घाइते भए । घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते उनको उपचारार्थ जाजरकोट अस्पताल ल्याउँदै गर्दा बाटामै मृत्यु भएको थियो ।

बस्दैनन् विशेषज्ञ डाक्टर

गत साउन दोस्रो साता रुकुम चौरजहारी अस्पतालमा भेरी नगरपालिका १३, कुदुकी २८ वर्षीया यशोदा मल्लको मृत्यु भयो । मिर्गाैलामा समस्या आएपछि अस्पताल भर्ना भएकी उनको स्वास्थ्यकर्मीले लगाएको सुईकै असरबाट मृत्यु भयो ।

त्यस्तै छेडागाड १०, नल्फुकी ३८ वर्षीया पञ्चकला नाथ योगीको सामान्य ज्वरोकै कारण मृत्यु भयो । थलहबजारस्थित जयलक्ष्मी मेडिको फर्ममा उपचार क्रममा योगीको मृत्यु भएको हो । गैरकानुनी रूपमा उक्त मेडिकल सञ्चालन गरेका तिलक बोहराको लापरबाहीले उनको ज्यान गएको आफन्तको आरोप छ । गत साता मोटरसाइकल दुर्घटनामा घाइते भेरी नगरपालिका १ की रीता बादीको जाजरकोट अस्पतालमा उपचार हुन सकेन ।

बायाँ खुट्टा भाँचिएकी उनलाई उपचारका लागि नेपालगन्ज पुग्नुुपर्ने भयो । यसैगरी उच्च रक्तस्राव भई बच्चा जन्माउन नसकेकी कुशे ४, तम्तीकी ४० वर्षीया विपना शाहीको शिक्षण अस्पताल नेपालगन्ज पुर्‍याएर ज्यान जोगियो । सुत्केरी व्यथाले च्यापेको ४ दिनपछि शाहीको शल्यक्रिया गरिएको हो ।

यी प्रतिनिधि उदाहरण मात्र हुन् । गुणस्तरीय उपचार सेवा अभावमा यहाँका दर्जनौं सर्वसाधारणको अकालमै ज्यान जाने गरेको छ । त्यस्तै सयौं बिरामी उपचारका लागि नेपालगन्ज, सुर्खेतलगायतका अस्पताल जानुपर्ने बाध्यता छ । जिल्लामा गुणस्तरीय उपचारको गतिलो व्यवस्था नहुँदा जिल्लावासी पटकपटक विभिन्न महामारी र प्रकोपबाट पीडित छन् ।

जाजरकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रलगायतमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारण गुणस्तरीय सेवाबाट वञ्चित छन् । त्यस्तै स्वास्थ्य संस्थामा औषधि अभाव, उपकरण, भौतिक पूर्वाधार कमीले पनि स्थानीयले जिल्लाभित्रै उपचार पाउन सकेका छैनन् ।

प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र गर्खाकोट ४/५ महिनादेखि डाक्टरविहीन छ । लिम्सामा कार्यरत डा. सन्दीपकिरण प्रधान र गर्खाकोटका डा. पवन शाक्य अध्ययन सिलसिलामा काठमाडौं गएपछि बिरामी सेवाबाट वञ्चित बनेका हुन् ।

गर्खाकोट, लिम्सालगायत दुर्गमवासी गुणस्तरीय स्वास्थ्य सेवा ‘आकाशको फल’ भएको स्थानीय तीर्थराज शाहीले बताए । भाइरल ज्वरो, आउँ र टाइफाइडबाट पीडित उपचारका लागि स्वास्थ्य संस्थामा आए पनि रित्तै फर्कने गरेको शाहीको भनाइ छ । ‘सामान्य बिरामीलाई उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ,’ उनले भने ।

जिल्ला अस्पताल १५ बाट ५० शय्यामा स्तरवृद्धि भएको ३ वर्ष पुगेको छ । तर, बिरामीलाई प्रदान गर्ने सेवा भने १५ शय्याभन्दा पनि कमजोर छ । अस्पतालमा विशेषज्ञ चिकित्सक, उपकरण, भौतिक पूर्वाधार, ब्लड बैंकको अभाव छ ।

दरबन्दीअनुसार विशेषज्ञ डाक्टर पठाउन स्वास्थ्य मन्त्रालय स्वयं बाधक बनेको छ । मन्त्रालयले विशेषज्ञ चिकित्सक पठाउन आनाकानी गर्दा उपचार सेवा प्रभावहीन बनेको छ । विशेषज्ञ चिकित्सक, औषधिलगायत अभावले जिल्लामा सामान्य रोग पनि महामारी बन्ने गरेको छ । निमोनियाँ, जटिल सुत्केरी र हातखुट्टा भाँचिएकालाई जिल्लाबाहिर जानैपर्ने बाध्यता छ ।

सरकारले दुर्गमको स्वास्थ्य सेवामा बेवास्ता गरेको भेरी नगरपालिका ३, थाप्लेका सेते पुन बताउँछन् । ‘सर्वसाधारणले घरछेउकै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य पाउने कहिले ?’ पुनले भने, ‘अस्पताललाई ५० शय्या बनाउने तर सोहीअनुसार सेवासुविधा नदिनु सरकारको गैरजिम्मेवारीपना हो ।’

अहिले अस्पतालमा २ करारसहित ४ मेडिकल अधिकृत छन् । यहाँ ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र ४६ सहायकस्तरका स्वास्थ्यकर्मी दरबन्दी सिर्जना भएको थियो । तर विशेषज्ञ चिकित्सक भने अहिलेसम्म आएका छैनन् । अस्पतालमा ११औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, बालरोग, स्त्रीरोग, मानसिक, जनरल फिजिसियन, रेडियोलोजिस्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसियासमेत ९ विशेषज्ञको दरबन्दी रिक्त छ ।

सिजरियन सेवा सञ्चालनमा आएन
५० शय्याको अस्पतालमा सिजरियन डेलिभरी सेवासमेत सञ्चालनमा आउन सकेको छैन । स्त्रीरोग विशेषज्ञ अर्थात् कन्सल्टेन्ट सर्जन नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।अस्पतालमा उक्त सेवा सञ्चालन नहुँदा दर्जनौं सुत्केरी सेवाका बिरामी जिल्लाबाहिर जान बाध्य छन् ।

अस्पतालमा विशेषज्ञ चिकित्सक नआउँदा अप्रेसन गरी बच्चा निकाल्ने सेवा सुचारु गर्न नसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामाले बताए । ‘जसका कारण जटिल प्रकृतिका सुत्केरीलाई जिल्लाबाहिर रिफर गर्न बाध्य छौं,’ उनले भने, ‘सेवा सञ्चालनमा नआउँदा अप्रेसन कोठा तथा उपकरण पनि प्रयोगविहीन छन् ।’ विशेषज्ञ डाक्टर आएर सेवा गर्न नमानेको उनले बताए ।

यसकारण उल्टो बच्चा भएका, लामो समयसम्म व्यथा लागेका र सुत्केरीअघि वा पछि उच्च रक्तस्राव भएकालाई जिल्लाबाहिर पठाउनुको विकल्प नभएको उनको भनाइ छ । बालरोग विशेषज्ञ नहुँदा उपचारमा पनि समस्या भएको लामाले बताए । ‘निमोनियाँ, छातीको संक्रमणलगायत रोगबाट पीडित दर्जनौं बालबालिकालाई पनि उपचारमा बाहिर पठाउने गरेका छौं,’ उनले भने ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?