१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भाकल पूरा गर्न १६ पाथी सिक्का !

आनन्द गौतम

ताप्लेजुङ — काठमाडौं कीर्तिपुर–६ का ईश्वरकुमार माली (नन्दु) को टोलीका सदस्यहरूले १६ वटा पाथीमा सिक्का भरे । तिनलाई ९ जनाले पालैपालो शिरमा बोकेर मन्दिर परिक्रमा गरे र थानको छेउमा लगेर घोप्ट्याइदिए । 

भाकल पूरा गर्न १६ पाथी सिक्का !

एकैजनालाई समय लाग्ने र खाली खुट्टा घुम्न कठिन हुने भएकाले नौजनाले पालो मिलाएर परिक्रमा गरी चढाएका थिए । यो पैसा भने अनु श्रेष्ठले अमेरिकाबाट पठाएकी हुन् । अमेरिकामा पढदै गरेकी बहिनीले पहिल्यै भाकल गरेको र पूरा गर्न यत्तिको सिक्का चढाइदिन अनुरोध गरेपछि चढाइएको मालीले बताए ।

१६ पाथी सिक्का १ लाख ४ हजार रुपैयाँ बराबरको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिलाई नगद तिरेपछि सिक्का उपलब्ध गराइएको थियो । ‘हामी बैंकबाट साटेर लैजाने तयारीमा थियौं, तर बसेको होटलका सञ्चालक सविन बानियाँले समितिसँग समन्वय गरिदिनुभयो र मन्दिरमा साटेर त्यहीं चढायौं,’ मालीले कान्तिपुरसँग भने, ‘बहिनीले एक महिना बराबरको तलब चढाएकी हुन् ।’ सिक्का चढाउने भाकल भएकाले त्यसैअनुसार गरिएको उनले बताए ।

अहिले पाथीभरामा सिक्का चढाउने बढ्न थालेका छन् । समितिका सचिव लक्ष्मी काफ्लेका अनुसार बडादसैं र र चैते दसैंका बेला दैनिक १४ पाथीको हाराहारीमा सिक्का जम्मा हुने गरेको छ । एक पाथीमा २२ किलो हुन्छ ।

आठ हजार रुपैयाँको एक पाथी हुन्छ । दर्शनार्थीको भीड हुने सिजनमा दैनिक दुई क्विन्टलभन्दा बढी सिक्का जम्मा हुने कर्मचारी राजेन्द्र महत बताउँछन् । ‘पहिला आफैंले बोकेर आउँथे, अहिले धेरैले नोट दिन्छन् र सिक्का यहीं साटेर पाथीमा भरेर चढाउँछन्,’ राजेन्द्रले भने, ‘भर्न माना, पाथीको व्यवस्था हामीले मन्दिरमै गरिदिएका छौं ।’ मन्दिरमै साटिन्छ भन्ने थाहा नपाएकाले भने घरैबाट ल्याउने गरेको उनले बताए ।

दर्शनार्थीले चढाएको सिक्का व्यवस्थापन गर्न भने समितिलाई समस्या हुन्छ । यसअघि नेपाल राष्ट्र बैंकले नसाटेपछि झापा दमकको कन्काई बैंकले ४० लाख मूल्य बराबरको सिक्का साटिदिएको थियो । संकलित सिक्का बोकेर काफ्ले पाटी भन्ने ठाउँसम्म पुर्‍याउनुपर्छ । त्यहाँबाट गाडीमा सदरमुकाम फुङलिङ ल्याएर सरफपानीले धोएर टल्काउनुपर्छ । त्यसपछि मात्रै सटहीका लागि योग्य हुन्छ । यसअघि पछिल्लो पटक ४० टन र त्यसअघि १६ टन सिक्का साटिएको समितिका पूर्वउपाध्यक्ष रणबहादुर कार्की बताउँछन् ।

पहिला बोकापाठा लाने प्रचलन रहेको पाथीभरामा पछिल्लो समय मानापाथी पैसा चढाउने परम्पराले एक्कासि प्रवेश पाएको मन्दिरका पुजारी डिल्ली आचार्य बताउँछन् । पाथीझैं चुलिएको पाथीभरामा पाथी नै चढाए मनोकांक्षा पूरा हुने विश्वासले चढाउने गरेको तीर्थयात्रीले प्रतिक्रिया दिने गरेको आचार्य बताउँछन् ।

ज्यानै पुर्‍याउन कठिन हुने ३ हजार ७ सय ९४ मिटर उचाइको मन्दिरमा सिक्का पुर्‍याएर चढाउनुलाई एउटा संकल्पका रूपमा लिने गरिएको पुजारीहरू बताउँछन् । यहाँ असोज, कात्तिक र फागुन, चैत, वैशाखमा अधिक भीड लाग्ने गरेको छ ।



प्रकाशित : आश्विन ८, २०७५ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?