१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निगमले दसैंमा ७ वटै जहाज उडाउने

सुरज कुँवर

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणबाट दुई दर्जन हाराहारी आन्तरिक रुटमा उडान अनुमति लिएको नेपाल वायु सेवा निगमले दसैं लगायतका चाडपर्वलाई लक्षित गर्दै आन्तरिक उडानमा ७ वटै विमान उडाउने भएको छ । 

निगमले दसैंमा ७ वटै जहाज उडाउने

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार यसै सातादेखि निगमले सबै विमानलाई मर्मत गर्दै कमर्सियल उडानमा थप्दै छ । ‘१० गतेदेखि चिनियाँ विमान मोर्डन आर्क (एमए) ६० ले चारवटै सुगम रुटमा नियमति उडान गर्ने छ,’ कार्यकारी अध्यक्ष खरेलले कान्तिपुरसँग भने । सुगम रुटका लागि निगमसँग दुईवटा ५६ सिट क्षमता भएका एमए-६० विमान मात्र छन् ।


निगमले चाडपर्वको अवधिभर दुवै विमान नियमित उडाउने जनाएको छ । यसअघि दुवै विमान उडाइएको बिरलै छ । इन्जिनियरहरुले एउटा बिग्रिँदा अर्कोको स्पेयर्स पार्ट हालेर एउटा विमानमात्रै उडानयोग्य बनाउथे । विगतका वर्षहरुमा भने निगमको इन्जिनियरिङ, कर्मसियल र अपरेशन विभागका केही कर्मचारीको मिलोमतोमा चाडपर्वको समयमा विमान ग्राउन्डेड गर्ने लगायतका चलखेलले निजी एयरलाइन्सलाई फाइदा हुन्थ्यो ।


खरेलले यसपटक चाडपर्वमा सातवटै विमान उडाउने घोषणाले यात्रुहरुलाई फाइदा पुग्ने छ । ‘निगम भित्रका केही लोभी कर्मचारीले यसपटक पनि निजी एयरलाइन्ससँग मिलेर चलखेल गर्न खोजेर विमान मर्मत नै नगर्न खोजेका थिए । तर कार्यकारी अध्यक्षले सबै विमान उडान योग्य बनाउन कडाई गर्दै निगरानी बढाएपछि केहीलाई हैरानी भएको छ,’ निगमको आन्तरिक विमानस्थलका एक कर्मचारीले भने ।


निगमको अपरेशन विभागका अनुसार, एमए-६० विमान उडाउन एक जना श्रीलंकनसहित ५ जना क्याप्टेन र ७ जना को-पाइलट छन् । निगमले धनगढी दैनिक दुईटा उडानको तयारी गरेको छ । ‘धनगढी रुट लाभदायी छ, दुईटा उडानको तयारीमा छौं,’ एक अर्का अधिकारीले भने । निगमसँग भएका दुइटा एमए-६० मध्ये एउटा एक महिनाअघिदेखि इन्जिन मर्मत गर्नुपर्ने भएकाले ग्राउन्डेड थियो भने अर्को जहाजको एउटा ब्लेड फेर्नै पर्ने भएकाले गत बिहीबारदेखि उडाइएको थिएन । ‘सोमबार चीनबाट इन्जिनियर आइसकेकाले मंगलबारभित्र यो विमान उडानयोग्य भइसक्ने छ,’ कार्यकारी अध्यक्ष खरेलले भने ।


निगमले चारवटा साना चिनियाँ जहाज वाई-१२-इ पनि चाडवाडमा उडाउने भनेको छ । यी विमानले काठमाडौंबाट सिमरा, पोखरा र भैरहवाका लागि मात्रै उडान गर्दै आएका छन् । सोमबार निगमले पहिलोपटक लुक्लाकालागि परीक्षण उडान राखेको थियो । यस विमानका प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले लुक्लाकालागि परीक्षण उडान गरेका थिए । मौसम बिग्रिएकाले यो विमान लुक्ला विमानस्थलमा अवतरण हुन नसकेर रामेछाप डाइभर्ट भएको थियो । ‘दुर्गम भेगका यात्रुको सेवाकालागि ल्याइएका यी विमानबाट दुर्गम रूटमा परीक्षण उडान नै गरिएको रहेनछ,’ कार्यकारी अध्यक्ष खरेलले भने, ‘सोमबार मौसम खराब भएकाले लुक्लामा परीक्षण उडान गर्न सकेनौं । तर, रामेछापमा पहिलोपटक वाई-१२-इले सफल परीक्षण उडान गरेको छ ।’ यो विमानबाट जोमसोम र कर्णालीमा पनि परीक्षण उडान गर्ने निगमले तयारी गरेको छ । निगमसँग यो विमान उडाउने ११ जना पाइलट छन् ।


निगमले आफ्ना तीनमध्ये दुईटा क्यानेडियन ट्विनअटर विमान पनि मर्मत गरेर दसैंअघि नै सञ्चालनमा ल्याउँदै छ । कार्यकारी अध्यक्षले आफू नियुक्ति भएसँगै यी सबै विमान मर्मत गरेर उडानयोग्य बनाउन इन्जिनियरहरुलाई निर्देशन दिइसकेका छन् । यी विमानमार्फत निगमले काठमाडौं, विराटनगर, नेपालगन्जबाट फाप्लु, ताप्लेजुङ, खानिडाँडा, भोजपुर, विराटनगर, रुकुम, मुगु (ताल्चा), सिमकोट, बाजुरा, डोल्पा लगायतका रुटमा उडान गर्छ । यी दुई विमानकालागि १० जना पाइलट छन् । निगमले सबै विमान उडाउँदा निजी क्षेत्रका एयरलाइन्ससँग हुने व्यवसायिक प्रतिस्पर्धाले यात्रुलाई फाइदा पुग्नेछ ।

प्रकाशित : आश्विन ८, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?