कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किन बढ्दै छ एसिड आक्रमण ?

सजिलै उपलब्ध हुनुहुन्न : चिकित्सक
अतुल मिश्र

काठमाडौँ — बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्रीवितरणमा कडिकडाउका लागि कडा कानुनको आवश्यकता भएको विशेषज्ञहरूले औंल्याएका छन् । 

किन बढ्दै छ एसिड आक्रमण ?

यस्तो आक्रमण विश्वमै सबभन्दा बढी आफ्नो देशमा हुन थालेपछि बंगलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानुन ल्याएको छ साथै एसिड सजिलैसँग किन्न नपाउने व्यवस्था गर्दै बंगलादेशले यसबारे व्यापक जनचेतनाको कार्यक्रम पनि चलाउँदै आएको छ । नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।


एसिड सर्भाइभर फाउन्डेसन, बंगलादेशको तथ्यांकअनुसार त्यहाँ सन् १९९९ देखि २०१७ सम्ममा एसिड आक्रमणका ३ हजार ३ सय ८६ घटना भइसकेका छन् । सन् २०१८ को अगस्टसम्ममा एसिड आक्रमणका १५ घटना बंगलादेशमा भए, जो अघिल्ला वर्षहरूको आँकडामा निकै कम हो । एसिड उपलब्धतामा कडा व्यवस्था र कारबाहीका कारण नै घटनामा कमी आएको हो ।


नेपालमा भने यस्ता घटना बढिरहेका छन् । चिकित्सकहरूका अनुसार कानुन कमजोर हुनु, जनचेतना नहुनु र एसिड सजिलै पाइनु नै यस्ता अपराधका मूल कारण हुन् । नियमन, नियन्त्रण तथा कारबाहीमा कडाइ गर्न विलम्ब गरे नेपालमा अवस्था विगतको बंगलादेशमा जस्तै भयावह हुने संकेत देखिएका छन् ।


‘एसिड आक्रमण बढदै जानु अत्यन्त दु:खद छ,’ फेक्ट नेपाल, कीर्तिपुर हस्पिटलका बर्न प्लास्टिक एन्ड रिकन्स्ट्रक्सन सर्जरी विभागका प्रमुख डा. किरण नकर्मी भन्छन्, ‘आक्रमणमा प्रयोग हुने रसायन मुख्य रूपमा सल्फयुरिक, नाइट्रिक र हाइड्रोक्लोरिक एसिड रहेको देखिएको छ ।’ यस्ता एसिड सुनचाँदी पसल र विभिन्न उद्योगमा उपयोग गरिन्छ ।


उसो त, नेपालमा एसिड आक्रमणका घटना अन्य मुलुकको तुलनामा नगण्य नै देखिन्छ तर कानुन र उपलब्धतामा कडाइ गर्नसके घटनाहरू नै नहुने अवस्था ल्याउन सकिने भएकाले यसमा ढिलाइ गर्न नहुने दाबी विशेषज्ञहरूको छ ।


एसिड आक्रमण र दुर्घटनाको संख्या नेपालमा बर्सेनि बढदै गएको तथ्यांकले देखाउँछ । सन् २०१८ यता हालसम्म कीर्तिपुर अस्पतालमा ७ जना एसिडको पोलाइमा परेर उपचार गर्न आएका छन् । त्यसमध्ये ३ महिला र एक पुरुष गरी ४ लाई कसैले प्रतिशोधपूर्वक आक्रमण गरेका थिए भने बाँकी ३ प्रयोगशालामा आफ्नै गल्तीले पोलाइमा परेको अस्पतालले जनाएको छ । एसिड पोलाइको उपचार गर्न सन् २०१४ मा त्यही अस्पतालमा १, ०१५ मा २, ०१६ मा ३ र ०१७ मा ८ जना गएका थिए ।


नेपालमा खास गरी प्रेम प्रकरणमा भएको खटपट, रिसइबी, प्रतिशोध र बन्दका बेलामा समेत एसिड आक्रमण हुने गरेको देखिएको डा. नकर्मीले बताए ।


‘करिब ५ वर्षअघि बन्दको बेला दुई चेलीलाई बसको झयालमा एसिड प्रहारपछि घाइते भएको घटनासमेत छ,’ उनले भने ।


त्यस्तै, कहिलेकाहीँ बलजफती एसिड खुवाउने घटनासमेत देखिएको छ । हालै अछामको तुर्माखाद गाउँपालिकामा ६ महिने बालकको मुखमा रसायन खुवाइएपछि उनको अस्पतालमा मृत्यु भएको थियो ।


करिब ४ वर्षअघि वीर अस्पतालमा समेत एउटा यस्तै बिरामी भर्ना भएका थिए । डा. नकर्मीका अनुसार भारतमा काम गर्ने सिलसिलामा त्यहाँ झगडा हुँदा दुई–तीन जना मिलेर ती व्यक्तिलाई एसिड खुवाएका थिए । यसले गर्दा उनको खाना नली एसिडको पोलाइमा परेर खुम्चिन पुगी जटिल शारीरिक समस्या देखिएको थियो ।


कीर्तिपुर अस्पतालका डा. सुरेन्द्र बस्नेतका अनुसार आइतबार राति मृत्यु भएकी चन्द्रपुर नगरपालिकाकी १८ वर्षीया सम्झना दासको ३५ प्रतिशत शरीर एसिडको पोलाइमा परेको थियो । चिकित्सकका अनुसार ४० प्रतिशतभन्दा बढी भाग शरीर पोलाइमा परेकालाई बचाउन अत्यन्त गाह्रो हुने गरेको छ ।


मुलुकमा एसिड बिक्रीवितरणबारे खास नियमकानुन छैन । यो सहजै सबैको पहुँचमा हुँदा समेत दुरुपयोग गर्न सजिलो भएको हो ।


नेपाल बर्न सोसाइटीका महासचिव डा. आरपी चौधरी भन्छन्, ‘सरकारले जनसाधारणको एसिडमा सहज पहुँचलाई रोक्नुपर्छ, खतरनाक रसायन किन, कसरी, केका लागि उपयोग गर्ने आदि विस्तृत जानकारीपछि मात्र सम्बन्धित व्यक्तिलाई बेच्नुपर्छ ।’


रासायनिक पोलाइमा के गर्ने ?

अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियन्स (एसीईपी) का अनुसार रासायनिक पोलाइमा हातमा ग्लब्स लगाएका व्यक्तिले प्रभावित व्यक्तिको छालाबाट सुक्खा रसायनलाई ब्रसका माध्यमले हटाउन सक्छ । यस्ता व्यक्तिको लुगा फुकालेर शरीरबाट रसायन हटाउन १५ देखि २० मिनेट पानीमा नुहाउनुपर्छ तर यसो गर्दा प्रभावित व्यक्ति र मद्दत गर्नेका आँखामा रसायन पार्न भने हुन्न ।


प्रभावितलाई सकेसम्म छिटो अस्पताल पुर्‍याउनुपर्छ । रसायनलाई निलेको भए यो धेरै खतरनाक हुन्छ । यस्तोमा तुरुन्त अस्पताल पुर्‍याउन आवश्यक हुन्छ ।

प्रकाशित : आश्विन ८, २०७५ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?