निर्मला हत्या प्रकरण: अझै भएन अनुसन्धानमा प्रगति

अपराधी पत्ता लगाउन मागसहित नेविसंघको प्रदर्शन
भवानी भट्ट

कञ्चनपुर — १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको २ महिना पुग्न लाग्यो । यसबीच दोषी पत्ता लगाउन माग गर्दै थुप्रै प्रदर्शन र आन्दोलन भए । अहिलेसम्म वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन ।

निर्मला हत्या प्रकरण: अझै भएन अनुसन्धानमा प्रगति

सुरुमा घटनाको अनुसन्धान गरेको प्रहरी पूरै फेरिएर नयाँ टोली आएको पनि एक महिना पुग्यो । नयाँ टोलीले पनि अनुसन्धानमा अझै सफलता हात पार्न सकेको छैन । भदौ ७ मा स्थानीयको आन्दोलनपछि गृह मन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्ली विष्टलाई केन्द्रमा तान्नुका साथै निलम्बन गरेको थियो ।

एसपी विष्टसँगै डीएसपी ज्ञानबहादुर सेटी, अनुसन्धान अधिकृत एकिन्द्र खड्का र केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जिसीको टोलीलाई केन्द्रमा तानिएको थियो । प्रहरी अधिकारीसँगै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई समेत केन्द्रमा तानेको हो ।

नयाँ एसपी र डीएसपी आएपछि फरक एंगलबाट अनुसन्धान सुरु भएको प्रहरीले जनाएको थियो । डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको थियो । ‘अझै केही खुल्न सकेको छैन,’ डीएसपी ओझाले भने, ‘विभिन्न पाटा केलाएर अनुसन्धान थालेका छौं ।’ उनले शंकास्पद व्यक्तिहरूलाई ल्याउने र सोधपुछ गरी छाड्ने क्रम जारी रहेको बताए । करिब डेढ सय बढीसँग सोधपुछ गरिएको उनले जानकारी दिए ।

‘एउटा कोणबाट अनुसन्धान गर्दै जाँदा त्यो गलत भएपछि फेरि अर्काे कोण समात्नुपर्छ,’ डीएसपी ओझाले भने, ‘यहाँ पनि त्यस्तै भएको छ, धेरै कोण परिवर्तन भइसकेका छन् ।’ उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरो, एसपी दुर्गासिंह चन्द र प्रहरी प्रधान कार्यालयको टोलीले सँगसँगै र छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ ।

घटनालगत्तै अनुसन्धानका लागि डीएसपी अंगुर जिसी नेतृत्वमा आएको टोली फिर्ता भएपछि एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा अर्काे टोली आएको हो । यो टोली आएको पनि करिब महिना दिन पुग्न लाग्यो । ‘हामीहरू सँगसँगै काम गरिरहेका छौं,’ ज्ञवालीले भने, ‘हामीले धेरै काम कुरा गरेका छौं तर अहिले नै परिणाम दिन सकिने अवस्था भने छैन ।’

अनुसन्धानमा भइरहेको ढिलाइले अपराधी पत्ता लाग्ने आशा घटदै गएको पीडित र स्थानीय बताउँछन् । निर्मलाका आमाबुवा दुर्गा र यज्ञराज काठमाडौं पुगेर प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई भेटेर फर्किएका छन् । ‘सबैले अपराधी पत्ता लाग्छ, हामी गम्भीर छौं भनेका थिए,’ निर्मलाका बुवा यज्ञराजले भने, ‘तर अहिलेसम्म त्यस्तो केही भएन ।’ प्रहरीले अझै पनि अनुसन्धान जारी रहेको र खासै प्रगति नभएको जानकारी मात्र दिएको उनले बताए ।

विद्यार्थीको प्रदर्शन
चाँडो अपराधी पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले सोमबार महेन्द्रनगर बजारमा प्रदर्शन गरेको छ । विद्यार्थीहरूले निर्मलालाई न्याय दिनुपर्ने माग गर्दै र्‍याली निकालेर प्रहरी प्रशासनको विरोध गरेका थिए । उनीहरूले अब पनि अनुसन्धानमा ढिला भएर कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । ‘घटना भएको २ महिना नाघिसक्यो,’ नेविसंघका निवर्तमान उपाध्यक्ष केशवराज जोशीले भने, ‘अझै अनुसन्धानका नाममा नाटक गरिँदै छ ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सुरु भएको र्‍याली महेन्द्रनगर बजार हुँदै बसपार्क चोकमा पुगेर कोणसभा गरी समापन भएको थियो । बसपार्क चोकमा विद्यार्थीको भीड जम्मा भएपछि केहीबेर यातायात सेवा अवरुद्ध भएको थियो । मंगलबार सबै क्याम्पसका विद्यार्थी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको जोशीले बताए ।

‘निर्मला घटनाको अनुसन्धानसँगै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सवारीसाधनको भाडावृद्धिको विरोधमा हामी निरन्तर आन्दोलनमा जाने तयारी गरेका छौं,’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?