कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मासिँदै दुर्लभ रेडपान्डा

चन्द्र कार्की

तेह्रथुम — ताप्लेजुङका केशव राई लाखौं रुपैयाँ कमाइ होला भनेर लुकाइछिपाइ हाब्रे (रेडपान्डा) को छाला काठमाडौं पुर्‍याएको भोलिपल्ट प्रहरी हिरासतमा पुगे । एउटा रेडपान्डाको छाला बेच्दा १ लाख रुपैयाँसम्म कमाइ हुने कुरा गाउँतिर सुनेपछि उनी काठमाडौं गएका हुन् तर राई त्यही प्रहरीको फन्दामा परे ।

मासिँदै दुर्लभ रेडपान्डा

गाईगोठनजिक भेटिएको रेडपान्डा मारेर छाला बेच्न लगेका राईलाई काठमाडौं प्रहरीले यसको मूल्य, व्यापारिक नाका, महत्त्वबारे सोधपुछ गर्‍यो । राईले प्रहरीलाई काठमाडौंमा महँगोमा छाला बिक्ने सुनेर आएको बताए ।


संरक्षित सूचीमा रहेको रेडपान्डा मारेर छाला बिक्री गर्ने राईजस्ता सिकारी धेरै सक्रिय छन् । भदौ १९ गते पाँचवटा जीवित रेडपान्डासहित प्रहरीले दुईजनालाई काठमाडौंको दरबारमार्गबाट नियन्त्रणमा लिएको थियो । बोरामा हालेर रेडपान्डा बिक्री गर्न हिँडेका सोलखुम्बुका शुक्र राई र अजित बस्नेत प्रकाउ परेका हुन् । दुवैले जंगलमा फेला परेका रेडपान्डा काठमाडौंको बजारमा महँगो बिक्ने सुनेर ल्याएको प्रहरीलाई बयान दिए ।


कानुनले वर्जित गरेको वन्यजन्तु चोरीसिकार गर्नेको संख्या पछिल्लो समय बढेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहतको ‘पिलर ४’ का प्रमुख अनुपशमशेर जबराले बताए । पिलर ४ ले वन्यजन्तुु तथा वनस्पतिको गैरकानुनी व्यापार, ओसारपसार तथा चोरीनिकासीलाई सूक्ष्म ढंगले अध्ययन र निगरानी गर्दै आएको छ ।


छालासहित पक्राउ परेका सबैले हल्लाका भरमा आफूले हाब्रेको सिकार गरेर छाला बिक्री गर्न ल्याएको बताएको जबराले बताए । उनका अनुसार दुर्लभ वन्यजन्तु र यसको मूल्य धेरै पाइन्छ भन्ने हल्लाका भरमा हाब्रेको चोरीसिकार भइरहेको छ । यस्ता घटनामा बेच्ने पक्राउ परे पनि किन्ने व्यक्तिको पत्ता लाग्दैन ।


लजालु स्वभावको यो वन्यजन्तुले मानिसलाई देख्दा एकोहोरो हेरिरहने र नभाग्ने भएकाले सिकार गर्न सजिलो हुने विभिन्न अध्ययनले देखाएको छ । हावापानी, आहार तथा बासस्थान खतरामा पर्दै जाँदा लोप हुँदै गएको हाब्रे चोरीसिकारको चपेटामा पर्ने गरेको वन मन्त्रालयमातहत वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख महेश्वर ढकाल बताउँछन् ।


उनका अनुसार रेडपान्डालाई मात्र संरक्षण गर्ने गरी कार्यक्रम बनाउने स्थिति छैन तर महाशाखाले संरक्षणका लागि कार्ययोजना बनाएर काम गरिरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा रेडपान्डा छ । यसलाई मार्ने, घाइते बनाउने, ओसारपसार गर्ने, किनबेच गर्ने, नियन्त्रणमा राख्ने व्यक्तिलाई १ देखि १० वर्ष कैद वा १ देखि ५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।


१० वर्षको तथ्यांक हेर्दा नेपालमा बर्सेनि सरदर चार गुणाले रेडपान्डा चोरीसिकार भइरहेका छन् । हाब्रे संरक्षणमा क्रियाशील दीपज्योति युवा क्लब पाँचथरका कार्यकारी निर्देशक सुनील वान्तवाले रेडपान्डाको बासस्थान रहेका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका सामुदायिक वन समूहसँग मिलेर बासस्थान पहिचान गर्ने र त्यसको नियमित अनुगमन गरिरहेको बताए ।


काठमाडौंको बालुवाटारमा १० वर्षअघि एक अमेरिकी नागरिकले २ वटा रेडपान्डाको छाला तस्करी गरेको सार्वजनिक भएको थियो । त्यसयता ८९ वटा रेडपान्डा तस्करीका घटना दर्ता भएका छन् । रेडपान्डा नेटवर्कका एसिया क्षेत्रीय संरक्षण अधिकृत डम्बर विष्टले यसको बासस्थान विनाश र चोरीसिकार मुख्य समस्याका रूपमा देखापरेको बताए ।


निगालोको टुसा र पात मन पराउने हाब्रे नेपालका २२ हिमाली र उच्च पहाडी जिल्लामा पाइने ढकालले बताए । हाब्रे संरक्षणका लागि नियम, कानुन भए पनि प्रभाकारी कार्यान्वयन र सबैमा कानुनी प्रक्रिया थाहा नहुँदा चोरीसिकार बढिरहेको उनको ठम्याइ छ । रेडपान्डा पाइने क्षेत्रमा बस्ने बासिन्दामा कानुनी जानकारी नहुने र त्यस क्षेत्रमा गरिबीसमेत बढिरहेकाले आर्थिक लाभ हुने हल्लामै रेडपान्डा सिकार भएको ढकाल बताउँछन् ।


‘पैसाको प्रलोभनमा पर्दा धेरैजना प्रहरी खोरमा पुगेका छन्,’ ढकालले भने, ‘सिकारीले न पैसा पाउन सकेका छन् न त रेडपान्डा बचेका छन् ।’ १० वर्ष अवधिमा ७० जना तस्करीमा संलग्न पक्राउ परेका छन् । उनीहरूबारे अनुसन्धान गर्दा रेडपान्डा केका लागि मारिन्छ भन्ने पत्ता लगाउन नसकिएको डीएसपी जबराले बताए । ‘अहिलेसम्मको तथ्यांकमा रेडपान्डाको छाला विदेश गएको भेटिएको छैन,’ उनले भने । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अहिलेसम्म ३१ कारबाही र ४४ वटा छाला बरामद भएको जनाएको छ ।


नेपाललगायत चीन, भारत, भुटान र म्यानमारमा अंग्रेजीमा रेडपान्डा भनिने हाब्रेको अस्तित्व रहेको विज्ञको भनाइ छ । २ हजार २ सयदेखि ४ हजार मिटर उचाइसम्मको १० देखि २५ डिग्री सेल्सियस तापक्रममा रहेको गुराँस, मालिंगो, निगालो जंगल र पानीको मुहान नजिक भएको स्थान हाब्रेको बासस्थान हो ।


पूर्वी नेपालका सिकारीले हाब्रेका छाला इटहरी, हेटौंडा र पश्चिमका सिकारीले कोहलपुर, बुटवल हुँदै काठमाडौंसम्म पुर्‍याउने गरेको सीआईबीले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?