कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘१४ सय वर्ष पुरानो बस्ती’ उपेक्षित

द्वन्द्वकालमा माओवादीले जिल्ला हेडक्वार्टर बनाएको रुपालले गणतन्त्र आएको दशक नाघ्दा पनि विकासको मुख देख्न पाएन
डीआर पन्त

रुपाल, डडेलधुरा — महाकाली किनारको साइल गाउँबाट वडा कार्यालय रहेको बयलपाट पुग्न झन्डै ४ घण्टा पैदल हिँड्नुपर्छ । त्यहींको अर्को गाउँ पत्रम र चुँडीबाट बयलपाट पुग्न त झन्डै एक दिन हिँड्नुपर्ने बाध्यता छ ।

‘१४ सय वर्ष पुरानो बस्ती’ उपेक्षित

भागेश्वर गाउँपालिकाको वडा १ र २ रहेको साबिकको रुपाल गाविसका अधिकांश भागबाट वडा केन्द्र पुग्न ४ घण्टा र गाउँपालिका केन्द्र पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।


डोटी राज्य स्थापना हुनुभन्दा ३ सय वर्षअघि बसेको मानव बस्ती अहिले उपेक्षामा परेको छ । पुरातत्त्वविद् योगी नरहरिनाथले आफ्नो सुदूरपश्चिम दिग्दर्शन पुस्तकमा १४ सय वर्ष पुरानो मानव बस्तीका रूपमा यसलाई चिनाएका छन् । डोटी राज्यको इतिहासका लेखक भोजराज भट्टराईले पनि यस क्षेत्रको प्राचीन मानव बस्तीका रूपमा रुपाललाई उल्लेख गरेका छन् ।

यही ऐतिहासिक बस्ती रुपालमा शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक आवश्यकताका पूर्वाधार निर्माण हुन सकेका छैनन् ।


गर्भवतीले सामान्य उपचार र चेकजाँचका लागि पनि दिनभर पैदल हिँडेर वडा केन्द्र पुग्नुपर्छ । उपचार नपाएर बर्सेनि दर्जनौं गर्भवतीले ज्यान गुमाउन बाध्य छन् । सामान्य उपचारका लागि पनि जोखिम मोलेर महाकालीपारि भारतीय बजार चम्पावत पुग्नु या दिनभरि पैदल हिँडेर दोस्रो दिन मात्र जिल्ला सदरमुकाम पुग्नुपर्ने सर्वसाधारणको नियति छ । ‘जिल्लाको सबैभन्दा दुर्गम यो बस्ती जति पुरानो हो त्यति नै उपेक्षा गरिएको छ,’ माध्यमिक विद्यालयका शिक्षक आरडी जोशी भन्छन् ।


१० वर्षे द्वन्द्वका समयमा जिल्ला हेडक्वार्टरका रूपमा माओवादीले प्रयोग गरेको रुपाल मुलुकमा गणतन्त्र आएको दशक नाघ्दा पनि विकासको मुख देख्न नपाएको उनको भनाइ छ । ‘जिल्लाका विभिन्न क्षेत्रमा प्राविधिक विद्यालय र कक्षा थपिए तर यस क्षेत्रका बालबालिका उच्च शिक्षा पढ्न तराई जानुपर्ने बाध्यता छ,’ उनले भने ।


अहिलेसम्म सहज रूपमा पुगिने गरी सडक नबनेको असिग्राम माविका पूर्वअध्यक्ष उपेन्द्र जोरा बताउँछन् । ‘साबिक बगरकोटको विसावाट १५ वर्ष लगाएर सडकको ट्रयाक मात्र खुलेको छ,’ उनले भने, ‘१२ वर्ष अघि जिल्लाका सवै साबिकका गाविसमा मोटर बाटो पुगेपनि रुपालमा भने अझै वास्ता गरिएको छैन ।’ हिउँदका केही महिनाबाहेक सदरमुकामवाट रुपाल पुग्न अहिले पनि २ दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको जोराको भनाइ छ । उनी भन्छन्, ‘रुपाल सडक पुर्‍याउने निहुंमा करोडौं रकम हिनामिना भयो, दर्जनौंले सदरमुकाम र धनगढीमा सम्पत्ति जोडे तर सडक भने अहिलेसम्म बन्न सकेन ।’


२०६३ तिर जिल्लाका सवै साविकका गाविस केन्द्रमा सडक पुगिसकेपछि मात्र रुपालमा सडक निर्माण सुरु भएको हो । वर्षौंसम्म साविकको भागेश्वर गाविस भएर सडक निर्माण गर्ने भन्दै ठूलो आर्थिक अनियमितता भएपछि स्थानीय आन्दोलित भएका कारण बगरकोटदेखि सिधै रुपालसम्मको सडक योजना सुरु भएको थियो । २०६४ को संविधानसभा चुनावमा यहाँका बासिन्दाले मतदान नगर्ने भन्दै राजधानीसम्म धाएर हल्लीखल्ली गरेपछि मात्र सडक निर्माण योजना सुरु भएको हो ।


सडक मात्र होइन जिल्लामा सबैभन्दा पहिले साना जलविद्युत् योजना निर्माण गरिए पनि अझै अँध्यारै छ । राष्ट्रिय प्रसारण विद्युत् जोड्ने भएपछि भएको साना जलविद्युत् योजना पनि रोकिएको हो । स्थानीय समाजसेवी लालबहादुर मडै भन्छन्, ‘गाउँमै उत्पादन हुने सानो विद्युत् योजना पनि सकियो राष्ट्रिय प्रसारणको लाइनमा कहिलेकाहीं मात्र विद्युत् झुल्कने गरेको छ ।’


कृषि र पर्यटकीय सम्भावना
यहाँ धान उत्पादन पनि राम्रो हुन्छ । यद्यपि यहाँ सिँचाइ योजना भने छैनन् । धान खेतीका लागि यहाँका किसान आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ । लघु जलविद्युत् योजनाका लागि निर्माण भएको एकमात्र सेल्टुंडा सिँचाइ योजना पनि जीर्ण अवस्थामा पुगेको छ । धानसँगै तरकारी र फलफूल खेतीको ठूलो सम्भावना रहेको यस क्षेत्रमा बग्ने रुद्रावती र महाकालीबाट प्रशस्त सिँचाइ योजना निर्माण हुन सक्ने भए पनि कृषकहरू अहिलेसम्म परम्परागत कृषि प्रणालीमा आधारित छन् ।


साइलको प्रसिद्ध झरना, भागेश्वर धुरा , गर्ग ऋषिको आश्रम, गोरक्षनाथ धुनी जस्ता प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल रहेको यो क्षेत्रमा पर्यटकीय सम्भावना पनि उत्तिकै छ । दर्जन बढी महाभारतकालीन समयका अवशेष रहेको रुपालमा धार्मिक पर्यटनको महत्त्व पनि छ । पाण्डवहरूले वनबासका क्रममा अधिकांश समय बिताएको यो क्षेत्रमा अहिले पनि पाण्डवहरूद्वारा निर्मित थुपै्र संरचनाका अवशेष देख्न पाइन्छ । कञ्चनपुरको ब्रह्मदेवदेखि निर्माण हुने महाकाली राजमार्ग करिडोरमा पर्ने रुपाल जोगबुडादेखि सडक मार्गसम्म जोडिएको खण्डमा तराई पुग्न जम्मा ५७ किमि पर्छ । नजिकै ४ घण्टाको दूरीमा रहेको भारतको चम्पावतमा बर्सेनि आउने लाखौं पर्यटकमध्ये केहीलाई मात्र भित्र्याउन सक्ने हो भने यस क्षेत्रको आर्थिक समृद्धि हुन सक्ने स्थानीय बताउँछन् ।


तत्कालीन रुपाल गाविसका पूर्वअध्यक्ष नरबहादुर ठकुराठी भन्छन, ‘भागेश्वरको लामीकाँडेदेखि महाकाली किनारै–किनार रुपाल जोड्ने सडक, रुपालदेखि बलकाँडे हँुदै जोगबुडा दैजी जोड्ने र सदरमुकामदेखि बगरकोट हुँदै रुपाल जोड्ने पक्की सडक मात्र निर्माण हुन सके यहाँका बासिन्दालाई राहत हुने थियो ।’ बैतडीको तल्लो स्वराड हुंँदै दार्चुलाको तल्लो भेगबाट नेपाल भित्रैबाट तराई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा सडक निर्माण भए यहाँका अधिकांश समस्या समाधान हुने ठकुराठीको भनाइ छ ।


रुपालीगाड ड्याम सपना मात्र
२०५२ मा भएको महाकाली एकीकृत विकास सन्धिमा पञ्चेश्वर परियोजनाको रि–रेगुलेटिङ बाँध रुपालीगाडमा निर्माण हुने कुरा यस क्षेत्रका बासिन्दाका लागि सपना मात्र भएको छ । ‘त्यो त सपना मात्र हो,’ स्थानीय अगुवा उपेन्द्र जोराले भने, ‘रुपालीगाडमा ड्याम, पञ्चेश्वरको बिजुली र महाकालीको पानीले सिँचाइ गरेर धनी बन्ने उस्तैउस्तै सपना हुन् । सीमापारि भारतीय क्षेत्रमा भएको विकास देखेर यस क्षेत्रका बासिन्दाले सपना देखेको कयौं पुस्ता बितिसकेको छ ।’


सौनिया घाटका हरिसिंह ठकुराठीले ड्याम बन्ने हल्लासमेत अझै नसुनेको बताए । ‘बिजुलीको पावर हाउस बन्ने सुनेको छु, अरू केही थाहा छैन,’ उनले भने । उनले बिजुलीको पावर हाउस बन्ने सुनेको पनि तीन दशक भइसकेको छ । ‘खोइ सुन्दासुन्दै बूढो भइयो कहिले पो बन्ला र ?’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?