फर्कियो कोखको खुसी

घरले च्यापेर ३ छोरी गुमाएका दम्पतीलाई वर्ष दिनपछि जुम्ल्याहाको खुसी
ठाकुरसिंह थारू

नेपालगन्ज — दम्पतीले चुँडिएको खुसी फर्किएला भन्ने चिताएका पनि थिएनन् । हुर्किएका सन्तान गुमाउँदा लामो समय आँखा ओभाएनन् । आफन्त र छिमेकीलाई सम्हाल्नै महिनौं लाग्यो । ठूलो विपत् सहन बाध्य स्थानीय एक दम्पतीको एक वर्षपछि हराएको खुसी फर्किएको छ ।

फर्कियो कोखको खुसी

एक वर्षअघि राप्तीको बाढीले घर भत्काउँदा च्यापिएर ३ छोरीको मृत्यु भयो । त्यसपछि काख रित्तिएका उनीहरूको खुसी बल्ल फर्कियो । अहिले उनीहरू जुम्ल्याहाका अभिभावक बनेका छन् ।


राप्ती सोनारी गाउँपालिका ४ का कमिलाल र फूलकुमारी चौधरीका जुम्ल्याहा सन्तान जन्मिएका हुन् । छोराछोरी जन्मिएपछि खुसीको ठेगान छैन । राप्तीमा आएको बाढीले घर भत्काउँदा उनीहरूको खुसी खोसिएको थियो । ३ छोरी गुमाएको २ महिनाअघि अर्की एक छोरीको पनि मृत्यु भएको थियो । चार छोरी गुमाएपछि शोकमा थिए ।


अहिले जुम्ल्याहाको आगमनले उनीहरूको विगतको दु:खमा मलम लागेको छ । आइतबार राति भेरी अञ्चल अस्पतालमा प्रसूति भएकी फूलकुमारीले एकसाथ छोराछोरी जन्माएकी हुन् । नवजात छोराको तौल २ र छोरीको १ किलो ७ सय ग्राम छ । तौल कम भए पनि दुवै शिशु स्वस्थ रहेको स्वास्थ्यकर्मीले बताए । तौल कम भएकी शिशुलाई आईसीयूमा राखेर उपचार रेखदेख भइरहेको छ ।


‘बाढीले सन्तान खोसेपछि धेरै दिनसम्म हाँस्न सकेनौं । रोएरै दिन बित्यो । सबैले सहयोग गरेपछि फेरि बाँच्न सिक्याैं,’ सफल प्रसूतिपछि सोमबार कमिलाल दम्पतीले भने, ‘एकसाथ छोराछोरी पाउँदा खुसी छौं । भगवान्ले बाँच्ने आधार दिएजस्तो लागेको छ ।’ उनीहरू सोमबार घर फर्किने तयारी गरिरहेका थिए । यो खबरपछि बस्तीमा पनि खुसी छाएको छ । कोख रित्तिएपछि विक्षिप्त दम्पतीमा खुसी छायो । ०७४ साउन २७ गतेको बाढीले घर भत्किँदा १२ वर्षीया अञ्जु, ९ वर्षीया सरिता र ७ वर्षीया सुस्मिताको ज्यान गएको थियो । घटनाको लामो समयसम्म उनीहरूले पीडा भुल्न सकेनन् ।


पीडाले फूलकुमारी बिरामी थिइन् । दम्पती नै लामो समय थला परेका थिए । एक महिनासम्म अन्तिम संस्कार गरेनन् । भत्किएको घरभित्रै कुलदेउता च्यापिएकाले संस्कार हुन सकेको थिएन । नेपाली सेनाले घरका भग्नावशेष हटाएर कुलदेउता खोजिदिए । त्यसपछि अलपत्र दम्पतीका लागि स्थानीयले घर बनाइदिएका थिए । बल्ल अन्तिम संस्कार पूरा गरेका थिए । फूलकुमारीलाई भुलाउन कमिलालले लामो प्रयास गरे । हरेश खाएनन् ।


विभिन्न संघसंस्था तथा व्यक्तिको आर्थिक सहयोगले जिउने साहस मिलेको थियो । ‘हामीले पुन: नयाँ जीवन पायौं । छोराछोरीको जन्मपछि थप साहस मिलेको छ,’ दुई दिनकी सुत्केरी फूलकुमारीले भनिन्, ‘यिनीहरू जन्मेपछि खुसीको सीमा छैन ।’ उनीहरूले ६ दिनपछि सन्तानको नाम जुराउने बताए । ‘छोरीसँगै छोरा पनि पाएका छौं,’ फूलकुमारीले भनिन्, ‘तर, अहिल्यै छोराछोरीको नाम के राख्ने भन्ने सल्लाह भएको छैन ।’

प्रकाशित : आश्विन ९, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?