१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गीतमार्फत पढाइ

शिव पुरी

डुमरिया, रौतहट — तराईका कतिपय जिल्लाका विद्यालयमा विद्यार्थीले शुद्ध नेपाली बोल्न जान्दैनन् । शुद्धताकै कमीले धेरै विद्यार्थी नेपाली विषयमा फेल हुन्छन् । चन्द्रपुर १०, डुमरियास्थित श्रीमाविका विद्यार्थी अहिले श्रव्यदृश्य कक्षामार्फत गीतका माध्यमबाट नेपाली भाषा सिकिरहेका छन् ।

गीतमार्फत पढाइ

यस्तो कक्षाबाट विद्यार्थीहरू नेपाली भाषामा बोल्न गीत गाउन सक्ने भएका छन् । नेपाली बोल्न नआउने विद्यार्थी पनि खरर बोल्न थालेका छन् । उनीहरू श्रव्यदृश्य कक्षामा सँगसँगै गाएर सिक्छन् ।


कक्षा निकै प्रभावकारी बनेको शिक्षिका रेनुका जिसी खतिवडाले बताइन् । ‘पहिला त शुद्ध नेपाली बोल्नसमेत आउँदैनथ्यो,’ उनले भनिन्, ‘अहिले बोल्न, गाउन सक्ने भएका छन् । कक्षा प्रभावकारी बनेको छ ।’ गीतकै माध्यमबाट भाषा सिक्न विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई दिनको एक घण्टी छुटयाएको छ । कक्षामा प्रोजेक्टर राखिएको छ । गीत छनोट शिक्षिका खतिवडाले गर्छिन् । त्यही गीत हेरेर, सुनेर विद्यार्थी गाउँछन् । नेपाली बोल्न सिक्छन् । १ वर्षदेखि यो कक्षा सञ्चालनमा छ ।


शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएपछि श्रव्यदृश्य कक्षाको प्रविधिलाई उपयोग गरी धेरै कुरा सिक्न सकिनेबारे छलफल सुरु भएको छ । भाषाबारे विभिन्न विकल्प खोज्न थालिएको छ । शिक्षाविद्हरूले पनि बालबालिकाको जीवनसँग पढाइ र जीवनलाई प्रविधिसँग जोड्नेबारे विभिन्न योजना बनाउन थालेका छन् । प्रविधिमैत्री शिक्षाकै कारण यो विद्यालय जिल्लाकै उत्कृष्टमा गनिन्छ । पहिले यहाँका विद्यार्थी बज्जिका, कसैले भोजपुरी र हिन्दी बोल्थे ।


विद्यालयमा नेपाली भाषा बोल्ने र सिक्ने कमै थिए । श्रव्यदृश्य कक्षा सञ्चालन भएसँगै नेपाली बोल्न जानिएको कक्षा ४ मा अध्ययनरत आकृतिकुमारी चौधरीले बताइन् । ‘मलाई पहिला नेपाली बोल्नै आउँदैनथ्यो,’ उनले भनिन्, ‘अब बोल्न र गाउन पनि सिकें ।’ बालबालिकालाई जीवनसँग जोड्ने शिक्षा दिनुपर्ने शिक्षकहरूको सुझाव थियो । उनीहरूले नेपाली भाषा सिक्ने कक्षाकोठाको दृश्य नै छुट्टै हुन्छ । सबै विद्यार्थी एकै स्वरमा गीत गाइरहेका हुन्छन् ।


विद्यालयका हरेक विद्यार्थी अनुशासित छन् । खाजा समयमा पनि बाहिर बरालिएको पाइँदैन । शौचालयबाहेकको समय बाहिर कसैलाई देखिँदैन । काम विशेषले कोही बाहिर जानुपरे प्रधानाध्यापकलाई निवेदन दिनुपर्छ । तोक लगाएपछि मात्र बाहिर जाने अनुमति पाइन्छ । त्यस्तै शिक्षक–विद्यार्थी हाजिरी लेखाजोखा, विद्यार्थी उपस्थिति दर र अनुशासनको उपलब्धिमा वृद्धि, विद्यालय शान्ति क्षेत्र कार्यान्वयनजस्ता योजना विद्यालयले अघि सारेको छ ।


जिल्लाबाट अनुगमनका लागि आउने शिक्षा अधिकारीहरू विद्यालय पुग्नासाथ दंग पर्छन् । प्रधानाध्यापक राजेशकुमार चौधरी विद्यालय जिल्लाकै नमुना भएको दाबी गर्छन् । ‘हामीले विद्यार्थी र शिक्षकलाई अनुशासनको दायरामा राखेका छौं,’ उनले भने, ‘शैक्षिक अवस्था सुधार्नसके आमूल परिवर्तन आउँछ । श्रव्यदृश्य कक्षाले विद्यालयको गरिमा बढाएको छ ।’

प्रकाशित : आश्विन ९, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?