१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

शिव पुरी

रौतहट — समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय राैतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।  

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे थियो । पीडितहरुको किटानी जाहेरी पछि निर्माणको काम समयमा नसकेको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।


जिल्ला प्रहरीले उनलाई पटक पटक सम्पर्क गरि हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो । तर बेवास्ता गरे पछि जिल्ला अदालतबाट आदेश लिएर अध्यक्ष रौनियार माथि पक्राउ पुर्जी जारी गरेको हो ।

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार । तस्बिर : रौनियारको फेसबुक

जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले टिकुलिया घाटमा भएको डुंगा दुर्घटनाका बिषयमा केही कुरा बुझ्न अनुरोध गर्दा अटेर गरेकोले पक्राउ पुर्जी जारी गरिएको बताए । ‘पीडितले नै किटानी जाहेरी दिए पछि हामीले उहाँहरुसित सम्पर्क गरि आउनुस् । केही कुरा बुझ्नु छ भनेका हौ,’ उनले भने, ‘अटेर गरेर बसेको पाइयो । कुनै चासो लिइएन । त्यसैले अदालतबाट आदेश लिएर पक्राउ गर्न टोली खटाएका हौ ।’ प्रहरीले रौनियारलाई पक्राउ गर्न प्रहरी खटाइसकेको उनले बताए ।


भदौ ८ गते शनिबार साँझ खेतमा काम गरेर फर्कदै गरेका, रक्षाबन्धनका लागि आफन्त कहाँ आउँदै गरेका र अन्य कामले पारि गएकाहरु डुंगा चढेर वारि गौर आउँदै गर्दा केही पर लालबकैया नदीको दक्षिणतिर अचानक डुंगा मोडियो । नदीमा पानीको सतह बढी भएकाले चालक पप्पु चन्द्रबशीले डुंगा सोझ्याउन सकेनन् । सीधै पुलको पश्चिमतर्फको दोस्रो पिलरमा ठोक्कियो र डुंगा टुक्रा टुक्रा भयो । त्यसमा सवार सबै नदीमा परे । ती मध्ये ५ जनाकाे मृत्यु भयाे २४ जना पौडिएर बाहिर निस्के । केहीलाई बगाएर दक्षिणतिर लग्यो ।


सुरक्षाकर्मीले घटनाको १५ घण्टा पछि पिलरमा ठोक्किएर अड्किएको डुंगालाई बाहिर निकालेको थियो । पुल नभएकै कारण जोखिम मोलेर डुंगा चढ्नु परेको स्थानीयको भनाई छ ।


घटना पछि सदरमुकाम गौरमा पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको माग गर्दै जुलुस प्रदर्शन भएको थियो । पीडितलगायत स्थानीयले विरोध प्रदर्शन गरि निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल समक्ष ज्ञापन पत्र बुझाएका थिए । पीडितहरुले पप्पु कन्स्ट्रक्सनविरुद्ध किटानी जाहेरीसमेत दिएका थिए ।


टिकुलिया घाटको पुल एक वर्ष देखि ठेकेदारले अलपत्र छाडेको छ । नदीमा पुल नभएकाले बिकल्पका रुपमा डुंगा चढ्न बाध्य भएको वडाअध्यक्ष भुवनेश्वर शाहीले बताए ।


लामो समय देखि ठेकेदार, कम्पनीका प्रतिनिधि र प्राविधिक कोही पनि साइडमा छैनन् । उपकरणहरु सबै खिया लागेर सड्न थालेका छन् । पुलको पिलर बनाएर अलपत्र छाडिएको छ ।


लालबकैया पारीका बन्जाराहा, औरैया, मठियालगायतका स्थानीयलाई सदरमुकाम गौर आउन कठिनाई भएको भन्दै २०७१ साल असार २९ गतेबाट निर्माणको काम सुरु गर्ने ठेकेदारले सम्झौता गरि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिल्यान्यास गरेका थिए ।


निर्माणको ठेक्का पर्सा बिरगञ्जस्थित पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय पचास रुपैयामा सकार गरेको थियो । ठेक्का नम्बर १३९–०७१/०७२ लालबकैया नदि टिकुलीया घाटको पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय २०७४ असार २५ गते तोकिएको थियो ।


पछिल्लो समय ठेक्का सकारेर काम नगर्ने पप्पु कन्ट्रक्सनको नाम चर्चामा छ । उनको ठेक्काको सम्झौता ०७४ असार २५ गते सकिएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?