टिचिङमा नयाँ उपकरण, उपचार सेवा थप सजिलो र गुणस्तर हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा नयाँ उपकरण भित्रिएका छन् । जापानी सहयोग निकाय (जाईका) को सहयोगमा अस्पतालले २ दर्जन मेडिकल उपकरण भित्र्याएको हो । उपकरण भित्रिएसँगै उपचार सेवा थप सजिलो र गुणस्तर हुने अस्पतालले जनाएको छ ।

टिचिङमा नयाँ उपकरण, उपचार सेवा थप सजिलो र गुणस्तर हुने

अस्पतालमा अत्याधुनिक एमआरआई भित्रिएको छ । पहिलेको एमआरआई पुरानो थियो । नयाँ एमआरआईले बिरामीको शरीरका भित्री भाग अझ सफासँग देखाउँछ । जसले रोगको पहिचान अझै सुक्ष्म तरिकाले देखाउँछ ।

अस्पतालका वरिष्ठ मेडिकल अफिसर कुमार केसी भन्छन्, ‘पुरानो मेसिनले गर्न नसक्ने परीक्षण नयाँले गर्छ, पुरानोले सामान्य र नयाँले जटिल खाले परीक्षण गर्ने हो ।’

अस्पतालको शल्यक्रिया कक्ष समेत विस्तार भएको छ । कक्षका उपकरण फेरिएका छन् । केही मर्मत गरिएका छन् । शल्यक्रिया, शल्यक्रियापूर्व कक्षको हात धुने उपकरण पनि नयाँ छ । यसले हातमा लागेका संक्रमण निर्मलीकरण थप मद्दत गर्छ । आइसीयू कक्षमै अत्याधुनिक अल्ट्रासाउण्ड उपकरण जडान गरिएको छ । यो कक्षमा सेवा नहुँदा बिरामीलाई रेडियोलोजी विभागमा लगेर अल्ट्रासाउण्ड गर्ने गरिएको थियो । अब शिशु सघन उपचार कक्ष( एनआइसीयू)र मेडिकल सघन उपचार कक्षमा आफ्नै अल्ट्रासाउण्ड गर्ने उपकरण छन् । पहिलेका उपकरण वर्षौं पुराना भइसकेका थिए र जसले ढिलो र कम गुणस्तरका काम गर्थे । आइसियूमा प्रयोग हुने भेन्लिेटर र मनिटर पनि फेरिएका छन् ।

स्तन क्यान्सर परीक्षण गर्न प्रयोग गरिने मेमोग्राफ मेसिन पनि आधुनिक छ । स्त्री रोग र प्रसूतिका लागि पनि सेवा फेरिएको छ । अत्याधुनिक ल्याप्रोस्कोपिक उपकरणले शरीर नचिरी उपचार गर्न पाउने छन् । यस्तो प्रविधिमा दुरबिनको सहयोगबाट शल्यक्रिया हुन्छ । जसले उपचार कम पीडादायी बनाउने र बिरामीको अस्पताल बसाई घटाउँछ ।

न्युरो सर्जरीका लागि पनि नयाँ उपकरण छ । यसबाट टाउको नखोली प्वाल पारेर उपचार गर्न मिल्ने हुँदा बिरामीलाई कम जोखिम त हुन्छ नै उपचार सजिलो हुन्छ । मर्मत समेत गरिदिने सर्तमा भित्रिएको ‘इम्युन्योहिस्ट्रोकेमेस्ट्री स्टेनर’ क्यान्सर परीक्षणका लागि हो । यसले क्यान्सर रिर्पोट थप भरपर्दो निकाल्ने र कस्तो उपचार आवश्यक छ भन्नेमा समेत सघाउँछ । अफिसर केसी भन्छन्, ‘यो मेसिनले क्यान्सर सेललाई सुक्ष्म रुपमा देखाउँछ । विशेषगरी स्तन क्यान्सरको पहिचान र उपचारमा यो बढी उपयोगी हुन्छ ।’

हाडजोर्नी विभागमा एक्सरे मेसिन पनि उत्तिकै अत्याधुनिक छ । यसबाट शल्यकक्षमै एक्सरे हेर्दै हाडजोर्नीको उपचार गर्न सकिन्छ । त्यस्तै भिडियो अर्थोस्कोपले दुरबिनबाट हेरेर घुँडा र हाडको शल्यक्रिया गर्न मिल्छ । शल्यक्रिया गर्न पहिले जस्तो चिरेर ठूलो घाउ बनाउनु पर्दैन, साना प्वाल बनाएर गरिन्छ । फोक्सोको उपचार लागि पनि उपकरण सुविधायुक्त छ ।

पहिले अस्पतालमा उत्पादित संक्रमणयुक्त फोहोर व्यवस्थापनका लागि ‘इन्सिनेटर’ उपकरण पुरानो थियो, ३५ वर्षे पुरानो । मर्मत गरेर हैरान हुन्थ्यो । मर्मत गर्न र फेर्न उस्तै गाह्रो । भनेको बेलामा प्रविधिक इन्जिनियर र सामान नपाइने र उनीहरू भारतदेखि आउने हुँदा सामान नआउन्जेल संक्रमणयुक्त फोहोर व्यवस्थापनमा समस्या हुन्थ्यो । ‘इन्सिनेटर’ ले संक्रमणजन्य वस्तुलाई किटाणुमुक्त बनाएर पुनःप्रयोग गर्न सकिने बनाउँछ । शल्यक्रिया उपचारका क्रममा बिरामीलाई प्रयोग गरिने कैची, रुमाल, ड्रेसिङ सेट सफा गर्न अस्पतालमा यो उपकरण अत्यावश्यक मानिन्छ । यो उपकरण पहिलेभन्दा आधुनिक छ । छिटो काम गर्छ ।

अत्याधुनिक उपकरण सञ्चालनका लागि डाक्टरका र स्वास्थ्यर्मीलाई तालिम समेत दिइने अस्पतालले जनाएको छ ।‘ तालिम पनि जापान सरकारले नै व्यवस्था गरेको छ, उपकरण बिग्रिएका पनि जाइकाले नै बनाइदिने हो ।’

भित्रिएका नयाँ उपकरणले उपचारमा गुणस्तरियता थप्नुका साथै मेडिकल विद्यार्धीको पठनपाठनमा समेत प्रभाव पार्ने त्रिविका उपकुलपति तीर्थ खनियाँले बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?