कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेसमा क्षेत्रीय संरचना शक्तिशाली

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले पार्टी संरचनामा प्रदेशलाई भन्दा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन खोजेको छ । महामन्त्री पूर्णबहादुर खडका नेतृत्वको विधान संशोधन समितिले प्रदेशको तुलनामा क्षेत्रीय र गाउँ/नगर कार्यसमितिलाई उम्मेदवार छनोट गर्नेसम्मको अधिकार दिने गरी मस्यौदा तयार पारेको छ ।

कांग्रेसमा क्षेत्रीय संरचना शक्तिशाली

मस्यौदामा प्रदेश कार्यसमितिलाई कुनै पनि तहको उम्मेदवार छनोट गर्न सक्ने अधिकार छैन । संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको सिफारिस केन्द्रमा पठाउने अधिकारमात्रै प्रदेश कार्यसमितिलाई छ, त्यो पनि तल्लो तहबाट आएका सिफारिस केन्द्रमा पठाउने संयोजनकारी भूमिकामा ।


जबकि क्षेत्रीय कार्यसमितिलाई आफ्नो क्षेत्रअन्तर्गत रहेका नगरपालिका तथा गाउँपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष उम्मेदवार छनोट गर्ने अधिकार दिइएको छ । वडा अध्यक्षको उम्मेदवार छनोटको अधिकार गाउँ/नगर कार्यसमितिलाई छ । क्षेत्रीय कार्यसमितिले यसरी उम्मेदवार छनोट गर्दा गाउँ र नगर कार्यसमितिको सिफारिसमा गर्नुपर्नेछ ।


यसअघि जिल्ला र क्षेत्रमा सर्वसम्मत भएकाबाहेक उम्मेदवार छनोटमा केन्द्रले हस्तक्षेप गर्दै आएको थियो । पार्टीका तल्ला तहलाई सिफारिस गर्ने अधिकारमात्रै प्रदान गरिएको थियो । अब नगर र गाउँपालिकासम्मको उम्मेदवार तल्लो तहबाटै छनोट हुनेछ भने प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको छनोट केन्द्रले गर्ने भएको छ ।


जिल्ला तह भने समन्वयकारी निकायका रूपमा रहनेछ । पार्टीका स्थानीय तह, प्रदेश र केन्द्रबीच समन्वय गरी केन्द्रमा प्रतिवेदन पठाउने भूमिकामा जिल्लाको अधिकार सीमित राखिएको छ । केन्द्रपछि ठूलो संगठनात्मक संरचना भने प्रदेशमा हुनेछ । प्रदेशमा सभापति, उपसभापति, मन्त्री, सहमन्त्री र कोषाध्यक्षसहित जनघनत्वको अनुपातका आधारमा कार्यसमिति बन्ने प्रस्ताव छ ।

प्रकाशित : आश्विन १०, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?