१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

थपिँदै किर्ते नागरिकताको सूची

६० हजारमा चिया पसलमै बन्छ नेपाली नागरिकताको प्रमाणपत्र
अवधेशकुमार झा

राजविराज — सप्तरीबाट किर्ते नागरिकता बनाएकाको सूची थपिँदै गएको छ । यहाँबाट कुख्यात भारतीय अपराधीदेखि, भारतीय र बंगलादेशीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको तथ्य सार्वजनिक भइरहेका बेला थप तीनवटा फेला परेका छन् । ती तीनवटै रकम लिएर चिया पसल, होटेलका कोठामा बनाइएको खुलासा भएको छ ।

थपिँदै किर्ते नागरिकताको सूची

पछिल्लोपटक भारतीय नागरिकहरू मन्टुकुमार साह, रामरित रजक र रवि रौनियारको किर्ते नागरिकता फेला परेको हो । उनीहरूको नागरिकता जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नभई बजारमै कसैले रकम लिएर बनाइदिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाए ।


जिल्ला प्रशासन सप्तरीले सोमबारमात्र भारत घर भई सप्तरी जिल्ला ठेगाना देखाई किर्ते नागरिकता लिएका मन्टुकुमारलाई पक्राउ गर्न प्रहरीमा पत्राचार गरेको छ । विहारको मधुवनी जिल्ला स्थायी घर भएका मन्टुकुमारले मन्टुकुमार दासका नाममा ०६३ पुस १ गते किर्ते नागरिकता लिएको जिल्ला प्रशासनले जनाएको छ ।


मन्टुले प्रयोग गर्दै आएको नागरिकतामा सप्तरी जिल्लाको साबिक रौतहट गाउँ विकास समिति वडा नम्बर १ ठेगाना लेखिएको छ । उनको नागरिकतामा ७६५४ नम्बर उल्लेख छ । उक्त नम्बर इलाका प्रशासन कार्यालय बोदेवरसाइन मातहतबाट जारी हुनुपर्ने देखिएको तथा इलाका प्रशासनबाट उक्त नम्बरसम्म नागरिकता वितरण भइनसकेकाले मन्टुको नागरिकता किर्ते नै रहेको कार्यालयको मुद्दा फाँटका नायब सुब्बा ओमप्रसाद पौडेलले बताए ।


मन्टुको नागरिकता किर्ते रहेको उजुरी प्रशासनमा परेपछि उक्त नम्बरबारे कागजात खोज्दा कुनै प्रमाण फेला नपरेको तथा इलाका प्रशासनबाट पनि ती नम्बरको नागरिकता जारी नभएको अवस्थामा किर्ते नै भएको पुष्टि नायब सुब्बा पौडेलले गरे । मन्टुले किर्ते नागरिकताकै आधारमा सप्तरीमा जग्गाको कारोबार गर्दै आएको प्रशासन स्रोतले जनाएको छ ।


मन्टुले सबभन्दा बढी ०६६ मंसिर १२ गते ११ कट्ठा १७ धुर जग्गा बेचेका थिए । उनी किर्ते नागरिकता बनाएर सप्तरीमा जग्गाको कारोबार गर्दै आएको र अझै पनि उनको नाममा निक्कै जग्गा रहेको प्रशासनले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मन्टुको नागरिकता किर्ते भएको पुष्टि भएपछि प्रशासनले जिल्ला प्रहरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न पत्राचार गरेको छ ।


अर्को पनि
सप्तरी सदरमुकाम राजविराज नगरपालिकाबाटै किर्ते नागरिकता लिएको भन्दै प्रहरीले एक भारतीयलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने भारतीय नागरिक रामरित रजक हुन् । झापाको दमक ७ बस्दै आएका उनीसित राजविराज नगरपालिका ३ ठेगाना देखाई जारी भएको २८४०/३२६१ नम्बरको नेपाली किर्ते नागरिकता रहेको छ ।


इलाका प्रशासन दमकमा कुनै सिफारिस लिन गएको बेला कर्मचारीलाई उनको नागरिकतामाथि शंका लागेर छानबिन गर्दा किर्ते फेला परेपछि पक्राउ गरी सप्तरी ल्याएको छ । जिल्ला प्रहरीले पक्राउ गरिएका रजकको बयानपछि उनको नागरिकता कसले र कसरी बनाइदिएको हो भन्ने खुल्ने बताएको छ । उनको नागरिकताबारे पनि जिल्ला प्रशासनमा कुनै प्रमाण छैन ।


६० हजारमा किनबेच
यसैबीच सप्तरी जिल्ला ठेगाना देखाई किर्ते नागरिकता लिएका एक भारतीय नागरिकले ६० हजार रुपैयाँमा नेपाली नागरिकता लिएको प्रहरीसमक्ष बयान दिएका छन् । केही दिनअघि सुनसरीको इटहरी प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सप्तरी पठाएको भारतीय नागरिक रवि रौनियारले नागरिकता बनाउनुअघि ५० हजार र बनिसकेपछि १० हजार दिएर राजविराजको नेताचोकस्थित चिया पसलमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको बयान दिए ।


भारत विहारको सीतामढी जिल्लाअन्तर्गत रिगाखर्सान ग्रामपञ्चायत स्थायी घर भएका रौनियार नेपाली नागरिकता प्राप्त गरेपछि सुनसरीको इटहरी उपमहानगरपालिका १७ मा बसोबास गर्दै आएका थिए ।


किर्ते नागरिकतावाला रौनियारको सप्तरी मलेकपुरबाट नागरिकता जारी भएको देखिए पनि स्थानीयका अनुसार मलेकपुरमा रौनियार थरका एक घर पनि छैनन् । उनीसित रहेको नेपाली नागरिकाको नम्बर १६/८५८६३ रहेको छ । नागरिकताको अगाडि भागमा उक्त नम्बर रहे पनि पछाडि भागमा अंग्रेजीमा भने ८५४६३/८९५ नम्बर उल्लेख रहेको छ । जामुन रौनियारको छोरा भई उनले नेपाली नागरिकता लिएको देखिए पनि मलेकपुरमा जामुन रौनियार नामका व्यक्ति नै छैनन् ।


रौनियारको नागरिकता बनाइदिने छिन्नमस्ता ४ का सुरेन्द्रप्रसाद साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसमक्ष साहले आफूसित नेपाली नागरिकता प्रमाणपत्रको पुरानो कार्ड रहेको र आफूले नै राजविराजको नेता चोकमा नेपाली नागरिकता भरेर दिएको स्वीकार गरेको प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षत्रीले बताए । साहले बयानका क्रममा आफू पहिला गाविसमा कर्मचारीको काम गर्ने गरेको र जिल्ला प्रशासनबाट केही प्रतिनागरिकताको प्रमाणपत्र आफूसित राखेको बताएका छन् । रौनियारसित एडभान्समा साहले ५० हजार रुपैयाँ लिएपछि मलेकपुर ठेगाना राखी काल्पनिक बाबु बाजे कायम गरी आफैंले जिल्ला प्रशासनको छाप र प्रशासकीय अधिकृतको हस्ताक्षर गरी नागरिकता प्रमाणपत्र दिँदा थप १० हजार लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाए ।


यसअघि सप्तरीबाटै कुख्यात भारतीय अपराधी धीरेन्द्र यादव, बमबम यादवलगायत दर्जनौं आपराधिक गतिविधिमा संलग्न र व्यापारी तथा सर्वसाधारणले नेपाली नागरिकता लिएको तथ्य खुलिसकेको छ । यस्तै भारतको पश्चिम बंगाल राज्यस्थित उत्तरी दिनाजपुर जिल्लाको अन्नतकोठाग्रामका मोहम्मद लतिफुर रहमान, विहारको किसनगन्ज जिल्लाका मो. नाबेद आलम तथा विहार सुपौलका सरौ आलमलाई नक्कली नेपाली नागरिकतासहित नियन्त्रणमा लिएको थियो ।


यस्तै भारत घर भई सुनसरी सदरमुकाम इनरुवा बस्दै आएका विनीत देवलाई किर्ते नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेको थियो । भारतको हरियाणाका व्यापारी सतीश अग्रवाल र उनकी पत्नी मोनिकाले पनि सप्तरीको राजविराज ठेगाना देखाई किर्ते नागरिकता लिएका थिए ।


यसैगरी केही समयअघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका भारतीय सिरियल किलर मस्तकिम भनिने रइस मियाँसित वंशजको नेपाली नागरिकता रहेको थियो । सातजनाको हत्यामा संलग्न भनिएका रइसले सप्तरीको तत्कालीन सारस्वर गाविस ७ ठेगाना देखाई ०६३ चैत १० गते ०६३१०६–४९० नम्बरको वंशजको नागरिकता लिएका थिए । उनी भारत विहारका नागरिक हुन् ।


भारतमा विभिन्न अपराध गरी नेपाल प्रवेश गरेर तत्कालीन जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहका सप्तरी जिल्ला इन्चार्ज बताउने सुवास झाले सुनसरी जिल्लाको श्रीपुर गाविस ३ बाट दिनेश झाको नाममा नेपाली नागरिकता लिए ।

प्रकाशित : आश्विन १०, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?