कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शिक्षक परीक्षामा, विद्यालय बन्द

भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका ५, सिलिंगीचौरस्थित सरस्वती माविका विद्यार्थीले एक सातादेखि पढ्न पाएका छैनन् । उक्त विद्यालयका १० मध्ये ९ शिक्षक अनुपस्थित हुँदा विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् ।

शिक्षक परीक्षामा, विद्यालय बन्द

माध्यमिक विद्यालय निमावि शिक्षक रञ्जना सिंहकै भरमा चलिरहेको छ । उनले एक्लै ३ सय विद्यार्थीलाई पढाइरहेकी छन् ।


नलगाड नगरपालिका ५, लहँको जनकल्याण आधारभूत विद्यालयका ७ मध्ये ५ शिक्षक अनुपस्थित छन् । भगवती मावि भेटुखाना ३ खेताला शिक्षककै भरमा चलिरहेको छ । शिक्षक नहुँदा भगवती मावि कुदु, भेरी नगरपालिका १३ मा पनि पठनपाठनमा बाधा पुगेको छ ।
अहिले जिल्लाका अधिकांश विद्यालय शिक्षकविहीन बनेका छन् । सामुदायिक विद्यालयका अस्थायी तथा राहत शिक्षक शिक्षक सेवा आयोगको परीक्षा दिन जिल्लाबाहिर गएपछि विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् । असोज ११, १२ र १३ गते सञ्चालन हुने आयोगको परीक्षा दिन शिक्षकहरू हिँडेपछि पढाइमा बाधा पुगेको हो । शिक्षक अनुुपस्थित हुँदा कतिपय विद्यालय बन्द भएका छन् ।


जिल्लाका ४ सय २८ मध्ये करिब ३ सय विद्यालय बन्द रहेको अभिभावक केशर सिंह बताउँछन् । विद्यालयमा तल्लो तहमा कार्यरत स्थायी शिक्षकसमेत माथिल्लो पदको परीक्षा दिन गएका छन् । जिल्लामा स्थायीभन्दा अस्थायी र राहत दरबन्दीका शिक्षकको संख्या धेरै रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । आयोगको जाँच नदिने र स्थायी शिक्षकले विद्यालय सञ्चालन गरिरहेको सिंह बताउँछन् । सदरमुकाम खलंगाबाहेकका विद्यालयमा पढाइमा बाधा पुगेको अभिभावकले गुनासो गरेका छन् ।


केही शिक्षक २/३ महिनाअघि नै विद्यालय छाडेर सुर्खेत, काठमाडौंलगायत सहरमा आयोगको तयारी कक्षामा सहभागी हुन गएका थिए । विद्यार्थीको पढाइ बेवास्ता गर्दै लामो समय शिक्षक अनुपस्थित हुँदा पनि सम्बन्धित निकाय बेखबर बनेको नलगाड ३ का मिश्रीलाल पुन बताउँछन् । उनले वैकल्पिक व्यवस्थाबिना शिक्षकले विद्यालय छाडेको जनाए ।


विद्यालयमा पठनपाठन भए/नभएको अनुगमन तथा निरीक्षणको जिम्मा सम्बन्धित स्थानीय तहलाई रहेको एकाइ प्रमुख सुधिनराज बुढाथोकी बताउँछन् । जनशक्ति अभावमा एकाइले अनुगमन तथा निरीक्षणलगायत काम गर्न नसकेको उनको भनाइ छ । एकाइका अनुसार प्राविमा ५ सय ४१, निमाविमा २ सय १९ र माविमा १ सय १५ शिक्षक अस्थायी कार्यरत छन् । अधिकांश शिक्षक अस्थायी भएकाले यस्तो समस्या आएको बुढाथोकीले बताए ।


टीकापुरका विद्यालय ४ दिन बन्द
टीकापुर (कास)– टीकापुर स्रोत केन्द्रअन्तर्गतका विद्यालय मंगलबारबाट ४ दिनका लागि बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका कारण शिक्षकहरू विद्यालय नआउने भएपछि स्रोत केन्द्रस्तरीय प्रधानाध्यापकको निर्णयले बन्द गरिएको स्रोत व्यक्ति धनबहादुर शाहीले बताए ।


उनका अनुसार उक्त केन्द्रअन्तर्गतका ३४ विद्यालयका २ सय ३४ शिक्षकमध्ये १ सय ४९ जना शिक्षक आयोग परीक्षामा सहभागी हुन जाँदै छन् । उनले भने, ‘विद्यार्थी विद्यालय आउने तर शिक्षक नहुँदा पढाइ नहुने भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।’ करिब ६ शिक्षक एक विद्यालयबाट शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुने स्रोत व्यक्ति शाहीले बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?