कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भन्सार नाका: अर्बमा आयात, लाखमा निकासी

आयातको तुलनामा निकासी न्यून
तरकारी र खाद्यान्नसमेत भारतबाटै
प्रदेश ब्युरो

धनगढी — दुई दशक अघिसम्म कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका भएर ठूलो परिमाणमा खाद्यान्न लगायत स्थानीय उत्पादन भारत निकासी हुन्थ्यो । अहिले परिस्थिति बदलिएको छ । पहिला जुन–जुन वस्तु यी नाका भएर भारत निर्यात हुन्थे, ती अहिले उतैबाट आयात गर्नुपर्ने बाध्यता छ ।

भन्सार नाका: अर्बमा आयात, लाखमा निकासी

झन्डै २५ वर्षदेखि कैलाली भन्सारमा क्लियरिङ एजेन्टका रूपमा काम गर्दै आएका विनोद विष्टका अनुसार दुई दशक अघिसम्म धान, चामल, खली पिना, ब्रान, धानको भुसा, गहुँ र मसुरोको दाल ठूलो परिमाणमा भारत निकासी हुन्थ्यो । ‘उहिले काठ, ढुंगा, गिटी र जडिबुटी पनि यही नाकाबाट निकासी हुने गरेको थियो,’ विष्टले भने, ‘अहिले भने खोटोबाट उत्पादित रोजिन र टर्पेन्टाइन, कत्था र त्यसको कच्चा पदार्थ कच्छ मात्र निकासी भइरहेको छ ।’ खाद्यान्न निकासी त ठप्पै भएको उनको भनाइ छ ।


कैलाली भन्सार कार्यालयका अनुसार कतिपय निर्यात गरिने वस्तुहरू कैलालीको सीमाक्षेत्रमा भारतले प्लान्ट क्वाराइन्टाइन चेक पोस्ट नराखेका कारण निकासी हुन सकेको छैन । ‘विगतमा जडीबुटी, खली पिना, राइसब्रान यतैबाट निकासी हुने गरेको थियो,’ कैलाली भन्सार कार्यालय प्रमुख गोपीकृष्ण उप्रेतीले भने, ‘पहिले खाद्यान्न पनि निकासी हुने गरेको थियो, हाल खाद्यान्न पारी जाँदैन । उताबाट भने ठूलो परिमाणमा पैठारी हुन्छ ।’


सरकारले निर्यात प्रवद्र्धनका लागि भारत तथा तेस्रो मुलुकमा निकासी हुने वस्तुमा अत्यन्त कम सेवा शुल्क मात्र लगाउने गरेको छ । कैलालीबाट निर्यात हुने खोटो प्रशोधन गरी तयार भएको रोजिन टर्पेन्टाइन १५ देखि २० टनसम्म निकासी हँुदा भन्सारले मात्र १ सय १३ रुपैयाँ सेवा शुल्क लिने गरेको छ । सम्वन्धित जिल्लाको उद्योग वाणिज्य संघले निकासीका बेला दिने उत्पत्ति प्रमाणपत्र बापत वस्तुको कुल मूल्यको दशमलव १२ प्रतिशत मात्र शुल्क लिने गरेको छ ।


निर्यात हुने वस्तु अत्यन्त न्यून भएकै कारण कैलालीको मूल भन्सार कार्यालय त्रिनगरले आयात हुने वस्तुमा चालु आवमा अन्त:शुल्क र भ्याटसहित ५ अर्ब ३७ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उता निर्यात हुने वस्तुबाट संकलन हुने सेवा शुल्क भने कञ्चनपुर भन्सार कार्यालयभन्दा पनि कम रहेको छ । कैलालीबाट गत आवमा ६२ करोड ७३ लाख मूल्य बराबरको वस्तु निर्यात हुँदा ७ लाख १८ हजार मात्र सेवा शुल्क उठाएको छ ।


केहि वर्ष अघिसम्म कैलालीबाट खयर प्रशोधन गरी कत्था भारत निकासी हुने गरेको थियो । केही वर्षयता भने खयर काठको आपूर्ति कम हुन थालेपछि कत्था तयार गर्न काजुको बोक्रा भारतबाट आयात हुने गरेको छ । कैलाली गेटास्थित लक्ष्मी कत्था मिलमा प्रशोधन गरी तयार भएको कत्था र कच्छ भारत मै निर्यात हुने गरेको छ ।


कैलालीमा दिव्या रोजिन, भवानी केमिकल र हिमाल रोजिन लगायतले खोटो प्रशोधन गरी तयार भएको रोजिन र टर्पेन्टाइन भारतीय सहरमा निर्यात हुन्छ । ‘खोटो चैत वैशाखदेखि असोज कात्तिकसम्म पहाडी जिल्लामा संकलन हुन्छ,’ भद्रकाली रोजिनका कर्मचारी तारा चन्द भन्छन्, ‘प्रशोधन गर्ने उद्योग भने लगभग बाह्रै महिना सञ्चालन भइरहन्छन् ।’


आयात डेढ अर्बको, निर्यात ८२ लाख
भारतबाट खाद्यान्न र तरकारी ठूलो परिमाणमा नेपाल भित्रिन्छ । प्रदेश ७ का प्रमुख कैलाली र कञ्चनपुरका भन्सार नाकाबाट बर्सेनि डेढ/दुई अर्बको तरकारी र खाद्यान्न आयात हुने गरेको छ । तर यहाँबाट भारततर्फ निर्यात हुने वस्तुको परिमाण भने न्यून छ ।


गत आर्थिक वर्षमा भारतबाट १ अर्व ७६ करोडको खाद्यान्न र तरकारी आयात भएको छ भने कैलाली र कञ्चनपुरका नाकाबाट भारततर्फ करिब ८२ लाखको जडीबुटी मात्रै निर्यात भएको
तथ्यांक छ ।


५/६ वर्ष अघिसम्म यहांँका नाकाबाट ठुलो मात्रामा हस्तकलाका वस्तुसंगै जडीबुटी पनि निर्यात हुन्थ्यो । तर अहिले त्यो परिमाण नगन्य छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका अनुसार गत आर्थिक वर्षमा चिराइतो, पाषाणभेद, अमला, चुत्रोको बोक्रा, कालादाना, काउलो बोक्रा र तेजपत्ता गरी १ सय ६० मेट्रिक टन जडीबुटी कैलाली र कञ्चनपुरका नाकाबाट निर्यात भएको छ । जसको मूल्य करिब ८२ लाख हुन्छ । अघिल्लो वर्ष यति पनि निर्यात भएको थिएन ।


‘अहिले छिटफुट मात्रामा हस्तकलाका मुर्ती र वनस्पति तेल मात्रै निर्यात हुन्छ,’ कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद पोखरेलले भने, ‘अलिकति रिठा र तेजपत्ता पनि निर्यात भइरहेको छ ।’ उनका अनुसार सीमावर्ती कष्टममा १० लाखभन्दा बढीको भन्सार काट्ने अधिकार प्राप्त अधिकारी नहँुदा लखनउ जानुपर्ने र त्यहाँबाट भन्सार बनाएर ल्याउँदा झन्झटिलो हुने भएकाले यहाँको नाका परिवर्तन गर्न थालेका हुन् ।


‘बनबसा पुलमा ठूला लोड गाडी जान नदिनु र यहाँ ठूलो मात्रामा निर्यात हुने वस्तु नभएकाले निर्यात घट्दो छ,’ लामो समयदेखि कञ्चनपुर भन्सार कार्यालयमा एजेन्टको काम गरिरहेका यज्ञराज भट्टले भने, ‘ठूलो गाडीमा आएको सामान २/३ गाडीमा लैजानुपर्छ, यसले अतिरिक्त मजदुर खर्च बढाउनुका साथै ढुवानी खर्च पनि बढ्छ ।’ उनका अनुसार ५/६ वर्षअघि सम्म यहाँको नाकाबाट अदुवा, विभिन्न जडीबुटी, सुटो, अमला, हस्तकलाका वस्तु र मूर्तिहरू निर्यात हुन्थे ।


अहिले पनि प्रदेश ७ का पहाडी जिल्लाहरू दार्चुला, बझाङ, बैतडी र बाजुरामा ठुलो परिमाणमा जडीबुटी संकलन भइरहेको छ । तर उक्त जडीबुटी अहिले धनगढी वा गड्डाचौकी भन्सार नाकाबाट नभई नेपालगन्ज नाकाबाट निर्यात हुने गरेको व्यवसायीहरू बताउँछन् । यहाँबाट ठूलो परिमाणमा जडीबुटी नजाने भएकाले व्यवसायीहरू एकमुष्ट रूपमा मिलेर नेपालगञ्ज नाकाबाटै निर्यात गर्ने गरेको व्यवसायीको भनाइ छ ।


अहिले पनि छिटफुट मात्रामा जडीबुटी भारततर्फ निर्यात भइरहेको छ । तर आयातको तुलनामा निर्यात हुने वस्तुको परिमाण नगण्य छ । भन्सार कार्यालयमा पुग्दा आयात भइरहेको खाद्यान्न, तरकारी र फलफूलका ट्रक मात्रै देखिन्छन् ।


क्वारेन्टाइन नहुँदा निकासीमा समस्या
दार्चुला सदरमुकामका व्यवसायी माधवप्रसाद भट्टले ०५५ सालमा ३५ क्विन्टल घिउ भारत लगेर बेचेका थिए । त्यसयता भारतीय भन्सारले क्वारेन्टाइन पास माग्न थालेपछि उनलाई भारतीय बजारमा यहाँका वस्तु पठाउन तथा बिक्री गर्न अप्ठ्यारो भयो । यहाँको सीमावर्ती क्षेत्रमा क्वारेन्टाइनको सुविधा नहुँदा उनले भारतीय बजारमा वस्तु पठाउनै छोडेका छन् ।
नेपालबाट निकासी हुने घिउ, जडीबुटी, भटमास लगायतका वस्तुहरू निकासी हुन छोडेको वर्षौं भयो । यहाँको सीमावर्ती भारतीय क्षेत्रमा क्यारेन्टाइन नहुँदा परम्परागत रूपमा दार्चुलाबाट भारततर्फ निकासी रोकिएको व्यापारीहरूले बताएका छन् ।


‘भारतको चेकपोस्टमा सुरु–सुरुमा यहाँबाट निकासी हुने वस्तुको क्वारेन्टाइन पासको खासै मतलब गर्दैनथे,’ दार्चुलाका पुराना व्यवसायी भट्टले भने, ‘२०५५/५६ सालदेखि अनिवार्य माग्न थालेपछि यहाँबाट भारत निकासीमा शिथिलता आएको हो ।’


यहाँबाट निकासी हुने वस्तुको क्यारेन्टाइन पास बनाउन कञ्चनपुरको गड्डाचौकी वा नेपालगञ्ज जानुपर्ने बाध्यताका कारण नेपाली वस्तु भारत निकासी घटेको उनको भनाइ छ । अहिले अन्य बस्तु निकासी छोडिसकेको र जडीबुटी मात्र निकासी गरिरहेको भट्टले बताए । दुवै क्षेत्रमा पशु र प्लान्ट क्वारेन्टाइन भए यहीँबाट भारतीय बजारमा जस्तु निकासी गर्न सजिलो हुने उनी बताउँछन् ।


दार्चुलाबाट खरी
गत वर्षबाट दुहुँ गाउँपालिकामा पाइने खरी भारत निकासी भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म दुई सय मेट्रिक टन खरी भारत निकासी भएको दार्चुला छोटी भन्सार कार्यालयका प्रमुख नरसिंह बडालले बताए । खरी भारत निकासीबापत ३ लाख राजस्व संकलन भएको उनले जानकारी दिए ।

(चित्रांग थापा/धनगढी, भवानी भट्ट/कञ्चनपुर र मनोज बडु/दार्चुला)

प्रकाशित : आश्विन १०, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?