कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

श्रीया सुनार हत्या आरोपी कुसुम पौडेलको बयान- 'ढुंगाले श्रीयाको अनुहार र टाउकोमा हानिरहेँ'

दीपक परियार

लेखनाथ — जिल्ला प्रहरी कार्यालय कास्कीले १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्यामा संलग्न कुसुम पौडेललाई सार्वजनिक गरेको छ । 

श्रीया सुनार हत्या आरोपी कुसुम पौडेलको बयान- 'ढुंगाले श्रीयाको अनुहार र टाउकोमा हानिरहेँ'

पोखरा–२२ पुम्दीभुम्दी कोदीमै रहेको घरबाट मंगलबार पक्राउ परेका २७ वर्षीय पौडेललाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अभियुक्तले आफ्नो संलग्नता स्वीकारिसकेको बताए ।

सोमबारबाट हराएकी श्रीयाको शव मंगलबार बिहान फेला परेको थियो । घटनापश्चात् जिल्ला प्रहरी कार्यालयबाट डीएसपी रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी नवीन कार्कीको कमान्डमा विशेष अनुसन्धान टोली गठन गरी खोजतलासमा जुटेको थियो । टोलीले मंगलबार राति साढे ८ बजे पौडेललाई घरबाटै पक्राउ गर्न सफल भयो ।


शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न कुकुर परिचालन गरेको थियो । उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो । श्रीया बसिरहेको मामाघर र पौडेलको घर एक सय मिटरको फरकमा छ । पौडेलले सोमबार साँझ करिब ५ बजे मामाघरबाट बिस्कुट किन्न पसल हिँडेकी श्रीयालाई बीच बाटोमै नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर श्रीयाको मृत्यु भएको प्रमाणित गरिसकेको छ ।


घाँटी थिचेर हत्या

सोमबार दिउँसो ११ बजेबाटै पौडेल गाउँकै एक भट्टी पसलमा रक्सी खाएर बसेका थिए । एक घण्टा रक्सी खाएपछि बाँकी रक्सी लिएर डाँडामा पर्ने उदय केसीको घर पुगे । उनीसँगै सुशील बराल, प्रकाश बराल र राजकुमार विकले सँगै बसेर रक्सी पिए । बेलुकी ४:४५ बजे उनी चुरोट किन्न भनि एक्लै पसलतिर झरे । मामाको घरबाट एक्लै पसलतिरै झरिरहेकी श्रीयालाई उनले देखे । एकान्त ठाउँ भेटिएकी श्रीयालाई उनले चकलेट खान भन्दै ५ रुपैयाँ दिए । त्यहाँबाट अलि तल पुगेपछि बराल कुल मन्दिर नजिकै बाटो छेउमा रहेको पुरानो घर र पानी टयांकी बीचमा बोलाए । १० रुपैयाँ देखाएर प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजे । श्रीयाले प्रतिकार गरिन् ।


पौडेलले श्रीयालाई टयांकी मुनि रहेको झाडीमा मिल्काइदिए । झाडीमा पुगेपछि कपडा खोलेर जबर्जस्ती गर्न खोज्दा श्रीया चिच्याउन थालिन् । पौडेलले प्रहरीलाई दिएको बयानअनुसार उनले दुबै हातले श्रीयाको घाँटी थिचिरहे । त्यतिबेला श्रीया बेहोस भइसकेकी थिइन् । पौडेलले मरिसकेको भन्ने ठानेर त्यही रहेको ढुंगाले श्रीयाको अनुहार र टाउकोमा पटकपटक हानिरहे ।


त्यसपछि उनी झाडीकै बाटो बाँसघारी हुँदै मुख्य सडकमा पुगे । मुल सडकमा पुगेपछि त्यहाँ रहेको पानीको मूलमा हात खुट्टा धोई पखाली गरी नजिकैको खाजा घरमा पुगेर चुरोट सल्काए । त्यतिखेरै दूध किन्न हिँडेकी पौडेलकी श्रीमतीले श्रीमान्‌लाई देखेपछि घर लिएर गइन् । कसैले थाहा नपाउने गरी पौडेलले लगाएको लुगा धोइपखाली गरी सुकाएर घरमै बसे ।

को हुन् कुसुम ?

एक स्थानीयका अनुसार पौडेलको परिवार स्याङ्जाको आरुखर्कबाट बसाइँ सरेर पुम्दीभुम्दी आएको हो । उनी गाउँमा चोरी गरेर दुई–तीन महिना हराउने र फेरि गाउँमा झुल्किने गर्थे । दिनहुँ गाँजा र रक्सी धोक्ने उनी केही काम गर्दैनथे । कहिलेकाहीं ज्याला मजदुरी गर्थे । उनको श्रीमती र आठ वर्षीय छोरा छन् । श्रीमतीले छोराछोरी पढाउन ऋण गरेको ५० हजार रुपैयाँ बोकेर महिनौसम्म हराएका उनी तीन हप्ताअघि मात्रै गाउँ फर्किएका थिए ।

प्रकाशित : आश्विन १०, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?