कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शिक्षक नपाउँदा ‘टेली टिचिङ’

कक्षा ९ र १० लाई विज्ञान, गणित, अंग्रेजी र कम्प्युटर विषय पढाउने पाइनै छाडे
घनश्याम खडका

म्याग्दी — अन्नपूर्ण गाउँपालिका ५ को पाद्वार माविले विज्ञान शिक्षक चाहियो भनेर तीनपटक विज्ञापन निकाल्यो । कोही आएनन् । चौथो पटकमा बल्ल एक जना शिक्षक आए ।

शिक्षक नपाउँदा ‘टेली टिचिङ’

तेस्रो पटकको विज्ञापनपछि टिकोट माविले असोज पहिलो साता विज्ञान विषयको शिक्षक फेला पार्दा व्यवस्थापन समितिलाई ठूलो युद्ध जिते बराबरको हर्ष थियो । रिमाको आदर्श मावि र चिमखोलाको अमर मावि लगायत दुर्गम भेगका एक दर्जन विद्यालय लामो समयदेखि विज्ञान विषयको शिक्षक अभावमै छन् । केही विद्यालयले योग्य शिक्षक नपाएपछि कम योग्यताका शिक्षकबाट काम चलाएका छन् ।


‘हामी दुर्गमका विद्यालयमा विज्ञान विषयका शिक्षक नपाउन श्राप नै पाएका रहेछौं । बल्लतल्ल शिक्षक खोज्यो, ६ महिना वर्षदिनमै छाडेर जान्छन् ।हैरान छौं,’ पाउद्वार माविकी प्रधानाध्यापक थममाया शेरपुजा मगरले भनिन्, ‘एउटा शिक्षकको वर्षभरको तलब बराबर शिक्षक खोज्दै खर्च हुन्छ । दरबन्दी भएको विद्यालयलाई त यो हालत छ, दरबन्दीरहित विद्यालयको अवस्था कस्तो होला ?’


पाउद्वार मावि, टिकोट मावि वा अमरमावि चिमखोलाले भोगेका समस्या प्रतिनिधि मात्र हुन् । सदरमुकाम बेनी सेरोफेरोबाहेक जिल्लाका सबैजसो माध्यमिक तहका विद्यालयले वर्षमा कुनै न कुनै महिना विज्ञान वा गणित विषयका शिक्षक अभावको समस्या झेल्दै आएका छन् । हरेक वर्षको एसईई परीक्षामा कुनै न कुनै विद्यालयका विद्यार्थीले विज्ञान विषय अध्ययन/अध्यापनबिनै सामेल हुन बाध्य हुने गरेका छन् । शिक्षक उपलब्ध भएका विद्यालयमा पनि कुनै न कुनै महिना शिक्षकको ‘ग्याप’ हुने गरेको छ ।


‘जिल्लामा विज्ञान र गणित विषयका शिक्षक नपाउने वा नटिक्ने विकराल समस्या छ,’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले भने, ‘शिक्षक लाइसेन्स परीक्षा विषय नमिल्दो र अव्यावहारिक हुँदा पनि शिक्षक समस्या भएको हो ।’


दरबन्दीमा त विज्ञान शिक्षक अभाव छ, शून्य दरबन्दीका जिल्लाका १९ माविको अवस्था झन् नाजुक छ । अधिकांश दरबन्दीरहित माविमा तल्लो तहको शिक्षकले माथिल्लो तहमा अध्यापन गराउने मात्र होइन, विज्ञान र गणित जस्ता विषयमा तल्लो तहको योग्यता भएको शिक्षकले माथिल्लो तहमा ‘काम चलाउ’ अध्यापन गराउँदै आएका छन् । नपाइनुभन्दा त्यै पनि राम्रो ठानेर बसेको छ समुदाय । दुर्गमका विद्यालयमा मात्र होइन, सदरमुकाम रहेको बेनी नगरपालिका भित्रका विद्यालयमा पनि इन्जिनियरिङ र गणित विषयमा शिक्षक समस्या छ । प्राविधिक धारमा पढाइ हुने बेनी नगरपालिका ९ तोरीपानीस्थित गलेश्वर माविलाई बीई तर्फका शिक्षक नपाएर हत्ते छ ।


शिक्षकको जहिल्यै पिरलो भएपछि यहाँको अन्नपूर्ण गाउँपालिकाले सबै १० वटा माविका ९ र १० कक्षामा विज्ञान, गणित, अंग्रेजी र कम्प्युटर विषयमा टेलिटिचिङ सुरु गर्ने भएको छ । शिक्षक नपाए पनि पढाउन सकिने विधिका साथै विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाउन गाउँपालिकाले बजेट समेत छुट्याएको छ ।


‘स्मार्ट कक्षा र टेलिटिचिङको प्रविधिले विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका दक्ष शिक्षकको अभावका कारण अध्यापनमा बाधा हुँदैन,’ अन्नपूर्ण गापाका स्रोतव्यक्ति जयराम सुवेदीले भने, ‘इन्टरनेट र स्मार्ट प्रविधिबाट पढाउन पाठ्यक्रमलाई डिजिटल विधिबाट तयार पारेर इन्स्टल गर्न सुरु गरिएको छ ।’


गणित पढ्ने विद्यार्थी नै छैनन्
म्याग्दीका ११ र १२ कक्षा सञ्चालन गरेका सबै २० वटा विद्यालयमा ऐच्छिक गणित लिएर पढ्ने विद्यार्थी छैनन् । दुर्गममा मात्र होइन बेनीस्थित बेनी सामुदायिक विद्यालयमा पनि विद्यार्थी अभावमा ऐच्छिक गणित पढाइ हुँदैन ।


जिल्लाका सबै स्रोत माविका कक्षा ११ र १२ मा ऐच्छिक लिएर गणित पढ्ने शून्य भएपछि स्नातक र स्नाकोत्तर तहको अध्यापन गराउने म्याग्दी बहुमुखी क्याम्पसको मानविकी र शिक्षा संकायमा पनि गणित विषय स्थगित भएको छ । निजी तथा सामुदायिक विद्यालयबाट ऐच्छिक गणित विषय लिएर एसईई उत्तीर्ण गर्ने विद्यार्थी अन्य सहरका कलेज जाँदा गाउँमा समस्या भएको हो । जिल्लामा कक्षा ११ र १२ मा विज्ञान विषय अध्यापन गराउने सदरमुकाम बेनीको प्रकाश माविलाई समेत विद्यार्थी पुर्‍याउन समस्या भएको छ ।


‘सबै स्रोत विद्यालयमा ऐच्छिक गणित विषयका विद्यार्थी नआएपछि संकटमा परेको छ,’ म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘समयमै गणित, विज्ञान पढ्ने विद्यार्थी उत्पादनमा लागिएन भने जिल्लाको शैक्षिक वातावरण पूरै गडबडी हुन्छ ।


शैक्षिक संकटको संघारमा छौं ।’ ऐच्छिक गणित पढ्नेहरू नहुँदाको असर उच्च शिक्षा हुँदै शिक्षकको खोजी गर्ने विद्यालयसम्म परेको छ । विज्ञान विषय लिएर पढ्नेहरू पनि उच्च शिक्षाका लागि जिल्लाबाट बाहिरिएपछि उतै करिअर बनाउन लाग्छन् । जिल्ला फिर्दैनन् । यता जिल्लाका विद्यालयले दक्षतापूर्वक पढाउने गणित, विज्ञान र अंग्रेजीका शिक्षक नपाएपछि आकर्षक सुविधासहित जागिरका लागि विज्ञापन खुलाउने गरेका छन् ।

प्रकाशित : आश्विन ११, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?