१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पप्पुद्वारा ठेक्का बिक्री

कमल पन्थी

बर्दिया — पप्पु कन्स्ट्रक्सनले हुलाकी राजमार्ग योजनासँग निर्माण सम्झौता गरी अर्को कम्पनीलाई ठेक्का बिक्री गरेको छ । निर्माणाधीन हुलाकी सडकको मुर्तिहा (सीमा) देखि बेलवाससम्म १८ किलोमिटर खण्डको जिम्मेवारी लिएको पप्पुले गणपति निर्माण सेवालाई ठेक्का बेचेको हो ।

पप्पुद्वारा ठेक्का बिक्री

जिल्ला प्रशासन कार्यालयले विकास निर्माण सम्बन्धमा बिहीबार गरेको अन्तक्र्रियामा हुलाकी राजमार्ग योजनाका प्रमुख कृष्णनाथ ओझाले ठेक्का सम्झौता पप्पु कन्स्ट्रक्सनको नाममा भए पनि काम गणपतिले गरिरहेको बताए । ‘कागजी रूपमा कार्यालयले गणपति निर्माण सेवालाई चिन्दैन,’ उनले भने, ‘तर कामको सन्दर्भमा पप्पु कन्स्ट्रक्सनलाई चिन्न पाइएको छैन ।’


सम्झौतापछि अहिलेसम्म निर्माण र सम्पर्कको काम गणपतिले गर्दै आएको उनले बताए । सरकारी कार्यालयबाट हुने भुक्तानीका लागि बैंक खातासमेत गणपतिकै नाममा खोलिएको छ । हुलाकी राजमार्ग योजना कार्यालयले पनि सोही खातामा काम गरेबापत रकम भुक्तानी गर्ने गरेको छ । उक्त सडक निर्माणका लागि पप्पुले २५ करोड ३१ लाख ८५ हजारमा (भ्याटबाहेक) सम्झौता गरेको थियो । ठेक्का रकमको करिब २ प्रतिशत अर्थात् ५० लाख ६३ हजार ७ सय रुपैयाँ लिएर गणपति निर्माण सेवालाई जिम्मा लगाएको सरोकारवाला निकायले जनाएका छन् ।


पप्पुले निर्माण गरेको बबई पुल भासिएपछि उसको आलोचना भइरहेको छ । योसहित हुलाकी सडक निर्माणको काम गुणस्तरीय नगरेको भन्दै स्थानीयले विरोध गरेका छन् । पप्पुको विरोध बढदै गएपछि निर्माणको काम अर्कै कम्पनीलाई जिम्मा लगाएको हो । गणपति निर्माण सेवाका सञ्चालक तुलसी भण्डारीले फर्म मात्रै पप्पु कन्स्ट्रक्सनको भएको बताए । सडक निर्माणका लागि पप्पुसँग छुट्टै आन्तरिक सम्झौता गरेर काम गरिरहेको उनले बताए ।


स्रोतका अनुसार ०७३ कात्तिकमै गणपति र पप्पुबीच सम्झौता भएको थियो । पप्पुले भने ०७३ असारमा सम्झौता गरेको थियो । ‘फर्म पप्पु कन्स्ट्रक्सनको हो,’ भण्डारीेले भने, ‘सबै काम गणपति निर्माण सेवाले गरिरहेको छ ।’ सम्झौता गरेको पप्पु कन्स्ट्रक्सनलाई दुई प्रतिशत रकम दिएर कामको सम्झौता आफूले गरेको उनले बताए । पप्पुका नाममा ठेक्का भए पनि बैंक खाता आफ्नो नाममा भएकाले भुक्तानीमा समस्या नरहेको उनले जनाए । गुलरिया नगर क्षेत्रमा अहिलेसम्म १५ प्रतिशत काम भएको छ ।


बेलवा–गुलरिया सडक खण्ड गुणस्तरहीन भएको मधुवन नगरपालिका प्रमुख गणेश केसीले बताए । योजना प्रमुख ओझाले मधुवन नपाको सडक खण्डमा बिछ्याइएको २० प्रतिशत गिट्टी मापदण्डविपरीत भएको फेला परेपछि त्यसलाई हटाइएको जनाए । सडक जताततै खाडल भएपछि स्थानीय प्रशासनले हुलाकी योजनालाई निर्माण गुणस्तरीय गर्न निर्देशन दिएको थियो ।


तर, निर्देशन अटेर गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘सम्झौता र निर्देशनअनुसार काम नगरेकाले कारबाही गर्दै छौं,’ उनले भने, ‘सम्झौताविपरीत काम गर्ने सबै कम्पनीलाई कानुनअनुसार कारबाही हुन्छ ।’ उनले पप्पुले ठेक्का बिक्री गरे/नगरेको विषयमा छानबिन गर्ने बताए ।

प्रकाशित : आश्विन १२, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?