१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नमुना बस्तीमा आलटाल

भूगोल र मौसमलाई ध्यान नदिँदा लक्ष्य पूरा भएन
हरिराम उप्रेती

गोरखा — भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बसेकाहरूका लागि धार्चे गाउँपालिका ४, लाप्राकमा निर्माणाधीन एकीकृत बस्ती अझै तयार भइसकेको छैन । आगामी अक्टोबरसम्म सक्ने लक्ष्य पूरा नहुने निश्चित भएको छ ।

नमुना बस्तीमा आलटाल

भूकम्प र पहिरोले पुरानो बस्ती जोखिम परेपछि ५ सय ७३ घरधुरीलाई गुप्सीपाखामा एकीकृत बस्ती निर्माण गर्न लागिएको हो । २०७३ माघबाट थालिएको बस्ती निर्माणको काम एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य थियो । प्रतिकूल मौसम, भौगोलिक कठिनाइ र सडकको अवस्थाका कारण निर्माणमा ढिलाइ भएको प्राविधिकहरूले बताएका छन् । तोकिएको समयमा काम सम्पन्न नभएपछि बस्ती हस्तान्तरणको मिति पनि सरेको छ ।


आगामी चैत अन्तिम सातासम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यसहित काम भइरहेको गैरआवासीय नेपाली संघका साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । हालसम्म निर्माणको ४९ प्रतिशत काम पूरा भएको उनले बताए । ‘वर्षाले बाटो अवरुद्घ हुँदा निर्माण सामग्री असार र साउनमा ढुवानी हुन सकेन,’ उनले भने, ‘लगातारको वर्षापछि बालुवा–लाप्राक खण्डमा पहिरो गएपछि सवारी चल्न सकेका थिएनन् । अहिले बाटो खुलेको छ, सिमेन्ट र रड ल्याउन थालेका छौं ।’


मौसम र बाटोको अवस्थाले नै बस्ती निर्माणमा ढिलाइ भएकोमा स्थानीय पनि सहमत छन् । ‘राङरुङबाटै बाटो बन्द थियो । अहिले बल्ल खुलेपछि ट्याक्टरले सामान ओसार्दै छ,’ स्थानीय गणेश गुरुङले भने, ‘असार–साउनमा बाटो अप्ठ्यारो हुन्छ भनेर योजना बनाउनेले पहिले कुरा बुझेका थिएनन् ।’ अस्थायी टहरोमा बसोबास गर्दै आएकाहरू नयाँ घरमा सर्न आतुर रहेको उनले बताए । योजना बनाउनेहरूले भूगोल र मौसमलाई पनि ध्यान दिएमात्रै लक्षित समयमा काम पूरा हुनसक्ने उनले बताए ।


दाताको सहयोगमा निर्धाणाधीन एकीकृत बस्ती पूरा हुन समय लाग्ने देखेर लाप्राकका पुरानो बस्तीका केहीले भने पुरानै घरलाई मर्मत गरी उभ्याएका छन् । बस्ती निर्माण भइरहेको पाखामा हिउँदमा हिउँ पर्छ । जाडो अत्यधिक हुन्छ । त्यसको तुलनामा पुरानो बस्ती जाडोबाट जोगिन उचित र आसपास खेतबारी पनि भएकाले पुरानो घर बनाउन तम्सिएका हुन् । ‘पुरानै काठपात झिकेर घर बनाएका हौं,’ स्थानीय दीपक गुरुङले भने, ‘अन्नपात राख्न पनि त तल एउटा घर त चाहिन्छ । फेरि माथि बेस्सरी चिसो हुन्छ, बुढाबुढी र केटाकेटी चिसोले बिरामी पनि पर्छन् ।’ गुप्सीपाखामा घर निर्माण ढिलाइ भएर टहरोको बसाइँ लम्बिँदै जाँदा तल्लो बस्तीमा घर निर्माण गर्नुपरेको केही स्थानीय बताउँछन् ।


गुप्सीपाखामा बन्ने सबै घरका लागि घडेरी सम्याउने र जग खन्ने काम सकिएको साइट म्यानेजर अर्यालले बताए । ‘तल्लो फ्लोरको झ्यालसम्मको काम १०/१२ घरको बाहेक अरू सबै लगभग सकिएको छ,’ उनले भने, ‘२ सय ३८ घरको ढोकाभन्दा माथि इँटा लगाउने काम सकेका छौं । २ सय २८ को ट्रस्ट पनि हालिसक्यौं ।’ उक्त बस्ती निर्माणमा संघलाई नेपाली सेनाले सघाएको छ । सेनाका का १ सय १० र संघका सय गरी २ सय १० कामदार निर्माणको काममा खटिएका छन् । गुप्सीपाखाको १८.३ हेक्टर क्षेत्रफल जग्गा स्वामित्वमा लिएर घर निर्माण सुरु गरिएको हो । एउटा घरका लागि ३ आना ३ पैसाको घडेरी छ ।

प्रकाशित : आश्विन १२, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?