१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाल वायुसेवा निगमलाई महालेखा परीक्षकको आरोप: 'खरिद प्रक्रिया र मूल्य अपरादर्शी'

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले २३ अर्ब २० करोड रुपैयाँमा किनेको दुईवटा एयरबसका वाइडबडी ३३० विमान खरिदको प्रक्रिया र मूल्यमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न गरेको छ । 

नेपाल वायुसेवा निगमलाई महालेखा परीक्षकको आरोप: 'खरिद प्रक्रिया र मूल्य अपरादर्शी'

संसदको सार्वजनिक लेखा समितिमा यी दुई विमानको खरिद प्रक्रियाबारे सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै महालेखा परीक्षक टंकमणी शर्माले ‘पुरानो खरिद प्रक्रियाबाट नयाँ विमान खरिद गरिएको’ जनाकारी गराउँदै प्रक्रिया पारदर्शी नभएको बताए । ‘पुरानो विमान प्रक्रियाको बाटोबाट नयाँ विमान ल्याइयो । यसमा हाम्रो कमेन्ट छ,’ शर्माले सिंहदरबारमा शुक्रबार आयोजित छलफलमा भने ।


निगमको आर्थिक विनियमले नयाँ र पुरानो विमान खरिद गर्न बाटो खोलेको छ । विनियमको २३६ (१) अनुसार, नयाँ र (२) अनुसार पुरानो विमान खरिद कसरी गर्ने भनी प्रक्रिया लेखिएको छ । त्यो विनियमले नयाँ विमान खरिद गर्नुपरेमा समिति बनाउनु पर्ने, उक्त समितिले कस्तो विमान चाहिने हो ? रुट, सेवा, लाभ लगायतका विषयमा विस्तृत अध्ययन गरेर प्रस्ताव तयार पार्नुपर्ने भनेको छ । उक्त प्रस्ताव निगमको सञ्चालक समितिमा पेश गरेपछि, खरिदकालागि स्रोत जुटाउनुपर्ने, आवश्यकपरे परामर्शदाता नियुक्त गर्नुपर्ने र टेन्डर आव्हान गरेर विमान उत्पादक कम्पनीसँग खरिद सम्झौता गर्नुपर्ने भनिएको छ । विनियमको २३६ (२) ले खरिद प्रक्रिया (१) अनुसारै गरिनुपर्ने भन्दै पुरानो विमान बैंकर, एजेन्ट, लिजिङ्ग कम्पनी, विमान सञ्चालक, उत्पादक आदिबाट पनि खरिद गर्न सकिने कानुनी व्यवस्था उल्लेख गरेको छ ।


‘कानुनी व्यवस्था यो हो,’ महालेखा परीक्षक शर्माले भने, ‘यदी एयरबस ३३० सिधैं खरिद गर्नुपर्ने स्थिति थियो भने सार्वजनिक खरिद ऐनमै पनि व्यवस्था थियो । तर उहाँहरु (निगम)ले अर्को बाटो किन अपनाउनु भयो ? पारदर्शी भएन भन्ने हाम्रो प्रश्न हो ?’ शर्माले जहाजको मूल्यबारे पनि महालेखाले प्रश्न उठाएको बताए । ‘प्राइसको बारेमा हाम्रो प्रश्न छ,’ चार जना सांसदहरुको प्रश्नको जवाफ दिँदै शर्माले भने, ‘एयरबसको वेबसाइटमा मूल्य तोकिएको छ । निगमले बनाएको स्पेसिफिकेसन र स्टिमेसनअनुसार एयरबससँगको वेबसाइटमा राखिएको मूल्यसँग तुलना गर्नुपर्ने थियो ।’


नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमार्फत घोषणा गरेको वाइडबडी विमान खरिदमा महालेखाले दुईवटा विषयबाहेक जहाजको म्याक्सिमम टेकअफ वेट (एमटीओडब्लू) वारेन्टी, ग्यारेन्टी, उडान सुनिश्चितता, उडान योजना, जनशक्ति तालिम, क्षमता विकासका विषयमा पनि प्रश्न उठाएको छ । ‘यसपटक हामी विस्तृत छानविन गरेर अडिट गर्दै छौ,’ शर्माले भने, ‘विमानको मूल्य, भुक्तानी तथा यर्थाथ मूल्य विवरण खोज्दै छौं । म्याक्सिमम टेकअफ वेटको विषयलाई पनि छानविनको दायरामा राखेका छौं ।’


‘प्रक्रिया र प्राइसको बारेमा इस्यू उठाएका हौं । यो क्लियर हुनुपर्छ,’ शर्माले समितिमा भने, ‘सञ्चालक समितिका पदाधिकारीलाई पनि बोलाएका थियौं । तर उनीहरुको जवाफमा हामी सन्तुष्ट छैनौं । छानविन हुनुपर्छ ।’


बैठकमा सांसदहरु हृदेश त्रिपाठी, प्रेम आलेमगर र राजेन्द्र कुमार केसीले निगमको विमान खरिद प्रक्रियाबारे प्रश्न गरेका थिए । यसैबीच समितिका सभापति भरत कुमार शाहले विमान खरिदबारे पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन सचिव कृष्ण देवकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल र यो विमान खरिदमा संलग्न महाप्रबन्धक सुगतरत्न कंसाकारलाई बोलाई थप छलफल गर्ने बताए ।


०७३ बैशाखमा निगमको सञ्चालक समितिले दुईवटा वाइडबडी खरिद गर्ने निर्णय गरेको थियो । ०७३ भदौंमा अर्थ मन्त्रालयले यी विमान खरिदकालागि जमानत बस्ने निर्णय गरेको थियो । त्यसै वर्षको असोजमा निगमले बढीमा १ हजार घन्टा उडेको दुईवटा वाइडबडी विमान खरिदकालागि टेण्डर आव्हान गरेको थियो । ४५ दिने म्यादपछि ०७३ पुसमा ११ वटा प्रस्तावकमध्येबाट अमेरिकी कम्पनी एएआर करपोरेशन छानिएको थियो । यस्ले ०७५ असारमा पहिलो र साउनमा अर्को गरी निगमलाई एयरबसले उत्पादन गरेका दुईटा ब्राण्ड न्यू वाइडबडी विमान काठमाडौंमा ल्याइदिएको थियो ।

प्रकाशित : आश्विन १२, २०७५ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?