कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

अतुल मिश्र

काठमाडौँ — प्रा.डा.गोविन्द केसीले सरकारले आफूसँग जनहितका विषयमा सहमति गरेपनि त्यसको पालना नगरेकोले जुनसुकै समय १६ औं अनशन बस्न सक्ने चेतावनी दिएका छन् । उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामाको माग समेत गरेका छन् ।

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

उनले चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद अधिवेशन अन्त्य गरिएको प्रति आक्रोश प्रकट गर्दै जुनसुकै समय अनशन बस्ने चेतावनी दिएका हुन् ।


तर उनले आफ्नो अनशनको स्थान, समय आदिबारे स्पष्ट पारेनन् । ‘बिना जानकारी नै म, जुनसुकै ठाउँमा अनशन बस्न सक्छु,' डा.केसीले शुक्रबार भने, ‘म १६ हैन, १७ चोटी सत्याग्रह गर्छु र यो ऐन हामीले भने जस्तो जनता र विद्यार्थीमुखी भएर आउनु पर्छ ।’


माथेमा कार्यदलको प्रतिवेदन र आफूहरुसँग भएको सहमति अनुसार संसदबाट विधेयक पारित गर्ने गरी १५ औं सत्याग्रह अन्त्य गर्दा सरकारसँग सहमति भएको दुई महिना बितिसकेपछि संसद अधिवेशन अन्त भएको हो ।


शिक्षामन्त्री पोखरेललाई कुर्सीमा बसी राख्ने नैतिकता नरहेको जनाउँदै डा.केसीले भने, ‘विधेयकमा फलानो कुरा हटाउने हो भने आजै ऐन पारित हुन्छ भनेर शिक्षामन्त्रीको तर्फबाट फोन आयो । संसदको अन्तिम दिनमा ब्ल्याकमेलिङ्ग गर्ने ?’


गत साउन २६ गते आफूहरुसँग भेटघाटमा प्रधानमन्त्री केपी ओलीले सरकारले गरेको सम्झौता अनुसार नै विधेयक संसदबाट पारित हुने र सहमतिका सबै बुँदाहरु कार्यान्वयन गर्ने विश्वास दिलाएको डा.केसीले बताए ।


डा.केसीका अनुसार अध्यादेशलाई तोरमरोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्रीले नै प्रधानमन्त्रीको पहलमा भएको सम्झौता विरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैर जिम्मेवारपूर्ण रहेको बताए ।


पुँजीवादी मुलुकमा शिक्षा र स्वास्थ्य व्यवसायीकरण नभए पनि नेपालमा नेता व्यवसायिक स्वार्थ बोकेर व्यापारीकरण गरेको आरोप उनी लगाउँछन् ।


‘हेर्नोस म(जनता) सँग सहमति गर्ने अहिले सम्मका सबै सरकारले अन्तत: छलछाम गरेर जनहित विरोधी काम गर्ने प्रयास नै गरेको छ,' डा.केसीले भने, ‘१५ औं सत्याग्रह नगर्दा जनता र विद्यार्थी विरोधी कानुन बन सक्थ्यो ।’


मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्र तीन दशकदेखि व्यापारिक स्वार्थ बोकेका नेता र माफियाहरूको मिलेमतोमा अनियन्त्रित व्यापारी करण भएको जनाउँदै डा.केसीले नियामक निकायमा दलीय भागवण्डा र भाँडभैलोले गर्दा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर खस्किनुको साथै चरम महँगी र ठगी व्याप्त रहेको बताए ।


उनले आफू विधिको सासन कायम गर्न र मुलुकमा सिस्टम बसाल्न लड्दै आएकोले सरकारलाई जनताप्रति जवाफदेही हुनैपर्ने र नभए जवाफदेही बनाएरै छाड्ने बताए ।

प्रकाशित : आश्विन १२, २०७५ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?