१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेता नेपाललाई लक्षित गर्दै ओलीले भने- ‘म नहुँदा त्यत्रो छटपटी ?’

कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ । 

नेता नेपाललाई लक्षित गर्दै ओलीले भने- ‘म नहुँदा त्यत्रो छटपटी ?’

हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ । ‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो । म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ ।’


नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई लिएर ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न...’ भन्ने गीत बिहीबार संसद्मा गाएका थिए । सतहमा उनको अभिव्यक्ति सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति लक्षित छ । नेकपाकै कतिपय नेताले भने उनको अभिव्यक्तिलाई सरकार असफल बनाउने योजनाका रूपमा लिएका छन् ।


गृहमन्त्री रामबहादुर थापाले शनिबार तम्घासमा यस्तै संकेत गर्दै भने, ‘सरकारलाई घेराबन्दी गर्ने र गिराउनेसम्मको षड्यन्त्र भइरहेको छ ।’ संसद्मा नेपालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागेको र रौतहटलगायत ठाउँमा किशोरीमाथि एसिड प्रहार भएको घटना उप्काउँदै गृहमन्त्री खोइ भन्ने प्रश्न गरेका थिए ।


नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको असन्तुष्टिलाई सरकार ढाल्ने ‘षड्यन्त्र’ मान्न नहुने बताए । ‘आलोचना सरकारलाई सफल बनाउनकै लागि गर्ने हो,’ उनले भने, ‘विकल्प खोज्ने कुरा अहिले कल्पना गर्न सकिन्न । सरकारको आलोचनालाई लिएर अरू कुरा सोच्न पनि मिल्दैन ।’


वर्षे अधिवेशनको अन्तिम बैठकमा नेपालले दिएको अभिव्यक्तिले नेकपाका धेरै नेता–कार्यकर्तालाई २०७३ साउन ८ गतेको घटना सम्झाइदिएको छ । त्यतिबेला संसद्मा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल चल्दै थियो । नेपाल प्रस्तावको प्रतिवाद गर्न रोस्ट्रममा उभिएका थिए । तर उनले अविश्वास प्रस्तावको प्रतिवाद गरेनन् । बरु, त्यसैलाई पुष्टि हुने गरी प्रधानमन्त्री ओलीको आलोचना गरे ।


त्यतिबेला उनले ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न....’ भन्ने गीतबाटै भाषण सुरु गरेका थिए । जसको स्मरण उनी आफैंले बिहीबार संसद्मा बोल्दा गराए । सरकार एमालेले भन्दा पनि गुटले चलाएको मुख्य आरोप पनि त्यतिबेला उनले लगाएका थिए । नेपालको त्यही आलोचनापछि ओलीले अविश्वास प्रस्ताव सामना नगरी राजीनामाको बाटो रोजेका थिए ।


पहिलो पटक नौ महिनामै सत्ताबाट बहिर्गमन भएका ओलीमाथि अहिले सात महिना पुग्दै गर्दा आफ्नै पार्टीबाट आलोचना सुरु भएको छ । यसका पछाडि सरकारभन्दा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले आफूलाई नसोधी एकलौटी रूपमा अघि बढाइरहेको पार्टी एकता प्रक्रियासँग नेपालको असन्तुष्टि मुख्य कारण रहेको नेकपाका एक नेताले बताए । प्रदेश, जिल्ला र त्यसभन्दा तल्ला कमिटीमा आफ्नो पक्षलाई उपेक्षा गर्ने त्रास बढेपछि नेपाल आलोचनामा उत्रिएका हुन् ।


बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा शुक्रबार स्थायी समितिको भेला डाकेर नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै त्यसविरुद्ध संगठित रूपमा आवाज उठाउने उद्घोष गरे । उनले नेपालले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने सचिवालयको निर्णयमा लिखित असहमति जनाएका छन् ।

‘सचिवालय बैठकमा उहाँको (नेपाल) रिजर्भेसन थियो, अध्यक्षहरू (ओली र दाहाल) फर्केर आएपछि समाधान गर्न सकिन्छ,’ नेता राजन भट्टराईले भने, ‘उहाँजस्तो सिनियर नेताले पार्टीभित्रको असन्तुष्टिलाई लिएर सरकार असफल बनाउन खोज्नुभएको होला भन्ने लाग्दैन । संसदमा उहाँको अभिव्यक्ति यसप्रति जोडिएको पनि होइन ।’ यति भन्दाभन्दै पनि भट्टराईले पार्टीबाहिरको शक्तिबाट भने सरकार असफल बनाउने प्रयत्न भइरहेको बताए । त्यस्तो शक्ति को होला त ? भन्ने प्रश्नमा भट्टराईले शक्ति र सत्ताबाट बाहिर रहेकाहरू भन्दै पूर्वराजा र राजावादीतर्फ संकेत गरे ।


‘यस्ता शक्तिको पहिलो प्रयास सरकारलाई असफल बनाउने छ । त्यसपछि संघीयता, गणतन्त्र र समावेशितालाई अफापसिद्ध बनाई अहिलेको व्यवस्थालाई उल्टाउन प्रयत्न भइरहेको छ । पार्टीबाहिरबाट भएका यस्ता प्रयत्नलाई विपक्षी, नगारिक समाज कसैले पनि मलजल गर्नु हुन्न । व्यवस्था रहेन भने हामी कोही रहन्नौं ।’


न्युयोर्कमै रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं नेकपाका नेता विष्णु रिमालले पनि घुमाउरो शैलीमा नेपालको चर्को आलोचना गरेका छन् । ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ,’ नेपालले संसद्मा दिएको अभिव्यक्तिपछि रिमालले टिवट गर्दै भनेका छन् ।

प्रकाशित : आश्विन १३, २०७५ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?