१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

१० महिनामा प्रगति २० प्रतिशत

भूकम्प स्मृतिपार्क
हरिराम उप्रेती

गाेरखा — भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माण सुरु भएको भूकम्प स्मृतिपार्कको २० प्रतिशत काम सकिएको छ । २०७४ मंसिर १४ मा ठेक्का सम्झौता भएको उक्त योजना ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

१० महिनामा प्रगति २० प्रतिशत

‘पार्कसम्म पुग्ने सडकमा कल्भर्ट राख्ने र ठाउँ–ठाउँमा रिटेनिङ वाल लगाउने र पार्क क्षेत्रमा तारबार लगाउने काम गरिरहेका छौं,’ निर्माण इकाईकी प्रमुख सुनीता श्रेष्ठले भनिन् । वर्षायाममा सडक अवरुद्घ हुँदा निर्माण सामग्री अभावमा कामले तीव्रता पाउन नसकेको उनले बताइन् । ‘अब सडक पनि खुल्दैछ,’ उनले भनिन्, ‘सम्झौता अवधिमा सक्ने लक्ष्य पूरा गर्न कामलाई तीव्रता दिन्छौं ।’ वर्षायाममा निर्माणको काम रोकिएको थियो । आगामी साताबाट काम पुन: थालिने इकाई कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा पार्क निर्मणको बजेट प्राप्त नभएको प्रमुख श्रेष्ठले बताइन् । ‘माथि कुरा हुँदा बजेट हाल्न छुटेको भन्ने बुझ्यौं । जानकारी गराइसकेका छौं,’ उनले भनिन्, ‘संशोधन हँुदैछ भन्ने जानकारी आएको छ ।’पार्क निर्माण क्षेत्र पुग्ने सडक स्तरोन्नति र तारबारका लागि पहिलो चरणमा गत वर्ष १ करोड ५४ लाख निकासा भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले २०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा पार्क बनाउन लागेको हो ।२ सय १६ रोपनी क्षेत्रफलमा बन्ने पार्कभित्र रहने स्मृतिस्तम्भ प्रमुख आकर्षणको केन्द्र हुनेछ । सरकारी स्वामित्वको जग्गामा पार्क निर्माण थालिएको हो । १४ जिल्लामा भूकम्पमा परी ज्यान गुमाएका सम्झनामा १४ वटा छुट्टाछुट्टै स्तम्भ रहनेछन् । ‘१४ वटा स्तम्भमाथि ग्लोब राख्छौं,’ प्रमुख श्रेष्ठले भनिन्, ‘भूकम्पमा ज्यान गुमाएका सबैको स्तम्भमा नाम लेख्छौं ।’

भूकम्पमा दिवंगतका नाम जिल्ला प्रशासन कार्यालयमार्फत संकलन गरी लेख्ने तयारी भएको हो । दुई शौचालय, एक चमेनागृह, पार्किङस्थल र बगैंचा लगायतका संरचना उक्त पार्कमा रहनेछन् । पार्क निर्माण सम्पन्न गर्न १३ करोड ७ लाख १५ हजार लाग्ने सम्झौतामा उल्लेख छ ।

पार्क निर्माण भएसँगै पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ । ‘त्यति धेरै मान्छेको मृत्यु भयो, अब भूकम्पीय जोखिमबाट बच्न सिक्ने जानकारी लिन पनि पर्यटक आउँछन्,’ बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भने, ‘दिवंगतका आफन्तले फूल चढाउन भने पनि यहाँ आउने भए । यसो हुँदा पर्यटन प्रवद्र्घन हुने नै भयो ।’ बारपाक पर्यटकीय गन्तव्यका रूपमा नाम चलेको गाउँ हो । पार्क निर्माणले अझ शोभा बढ्ने भट्टले बताए ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?