कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बर्दिया बाघको वैभव

बाँकेमा ५ वर्षमा १७ र बर्दियामा ४ वर्षमा ३७ पाटे बाघ बढे

बर्दिया/बाँके — वन्यजन्तु र प्राकृतिक विविधताले भरिपूर्ण बर्दिया निकुञ्ज अहिलेसम्म ओझेलमै छ । संघीय राजधानीबाट स्थल र हवाई दुवै मार्गबाट लामो दूरीमा रहेकाले यसले फडको मार्न नसकेको हो । मुलुकमा चलेको एक दशकभन्दा लामो ‘द्वन्द्व’ पनि पिछडिनुको कारण हो ।

बर्दिया बाघको वैभव

तत्कालीन माओवादी र राज्यबीचको भिडन्तले बर्दियालगायत मध्य तथा सुदूरपश्चिमका जिल्ला प्रत्यक्ष प्रभावमा परे । त्यसको असर संरक्षणमा पनि पर्‍यो । त्यही अवधिमा निकुञ्जमा चोरीसिकार बढे । मुलुकमा शान्ति स्थापनासँगै निकुञ्ज संरक्षणमा सुधार आयो ।


रणनीति फेरिए । कर्मचारी र सुरक्षाकर्मीको उपस्थिति बाक्लियो । संरक्षणकर्मीले दिनरात नभनी काम गर्न थाले । उपभोक्ता चनाखो बने । त्यसको प्रतिफल बाघको संख्या ह्वात्तै बढेको छ । सुरक्षित वातावरण र प्रशस्त आहारा प्रजाति भएकाले दुर्लभ पाटे बाघ बढिरहेका छन् ।


निकुञ्ज र मध्यवर्तीमा स्थानीय समुदायले सञ्चालन गरेका संरक्षण र उपभोक्ताको जीविकोपार्जनका गतिविधि अवलोकन गर्न दुई वर्षअघि बेलायती राजकुमार ह्यारी आएका थिए । उनले डल्लामा सञ्चालन गरिएको होमस्टे अवलोकन गरे । उनको भ्रमणले निकुञ्जको प्रचारप्रसारमा मद्दत पुग्यो । सात वर्षअघि प्रसिद्ध हलिउड अभिनेता लियोनाद्रो डिक्याप्रियो निकुञ्ज घुम्न आएका थिए ।


उनले निकुञ्ज भ्रमणका बेला अमेरिकी फोटोग्राफरले खिचेको चार डमरुसहितको बघिनीको तस्बिर विश्वव्यापी बन्यो । तस्बिरले बाघलाई ‘सेलिब्रेटी’ बनायो । तस्बिर भाइरल बनेपछि बाघ हेर्न आउनेको संख्या पनि बढेको पर्यटन व्यवसायी जितबहादुर थापाले बताए । दिनहुँ बाघ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउन थाले । यसपछि पर्यटक दोब्बर भए ।


एक साताअघि सार्वजनिक गणनाको नतिजाअनुसार बाघको संख्या ५० बाट बढेर ८७ पुगेको छ । चार वर्ष अवधिमा ३७ बाघ बढे । बबई उपत्यका र कर्णाली तटीय क्षेत्रमा संख्या बढेको निकुञ्ज सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जको बबई र कर्णाली तटीय क्षेत्र उचित वासस्थान मानिन्छन् । केही समययता निकुञ्जसँग जोडिएको अन्तर्राष्ट्रिय जैविक मार्ग खाता र शिव सामुदायिक वनमा बाघ देखिएको चोरी सिकारी नियन्त्रण युवा परिचालन अध्यक्ष हेमन्त आचार्यले बताए ।


लामो समयदेखि चोरीसिकार नियन्त्रणबिरुद्ध संगठित भएर काम गरेकाले सुखद परिणाम मिलेको उनको बुझाइ छ । पछिल्लो समय वासस्थान सुधारका लागि निकुञ्ज र संरक्षणमा हातेमालो गरिरहेका संस्थाले प्रयास गरिरहेका छन् । निकुञ्जभित्र बाघ विचरण गर्नेस्थल छनोट गरेर सौर्य ऊर्जामार्फत ८५ ठाउँमा पोखरी निर्माण गरिएको छ । आहारा प्रजाति बढाउन घाँसेमैदान सुधार गरिएको छ । यहाँको जंगलमा अतिक्रमणकारी झार कम छ । ठूल–ठूला फाँट छन् । ती फाँटमा मृग धेरै छन् ।


संख्या बढ्नुको प्रमुख कारण चोरीसिकार नियन्त्रण, सुरक्षा, उचित वासस्थान र आहारा प्रजातिहरू चित्तल, बँदेल, जरायो, लंगुरलगायत प्रशस्त मात्रामा बढ्नु रहेको संरक्षण अधिकृत भण्डारीले बताए । उनका अनुसार यस अवधिमा निकुन्जले बबई उपत्यकाको उत्तरी क्षेत्र सुर्खेत लेखपराजुललगायत स्थानबाट अवैद्य हतियार बुझाउन आह्वान गरेपछि करिब तीन सय थान भरुवा बन्दुक संकलन भए । ती क्षेत्रमा अहिले स्थानीयका लागि वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको छ ।


यसरी गणना
संख्या पत्ता लगाउन यसपटक क्यामेरा ट्रयापिङ प्रविधि अपनाइएको थियो । निकुन्ज आसपासका खाता जैविक मार्ग र कैलालीको सत्तिवन सामूदायिक वनमा स्वचालित क्यामेरा जडान गरिएको थियो । अगाडिबाट कुनै बस्तु हिडयो भने क्यामेराले तस्बिर खिच्छन् । निकुञ्ज र आसपास क्षेत्रमा २ सय २९ थान क्यामेरा जडान गरेर संख्या यकिन गरिएको निकुञ्जले जनायो ।


दुई–दुई किलोमिटर दूरीमा १५ दिनसम्म अनुगमन गरिएको थियो । गणनाका लागि खटिएका टोलीले जंगलमा बसेर अनुगमन गरेका थिए । गणनाका लागि आठ प्राविधिक टोलीसहित करिब एक सय कर्मचारी परिचालन भएका थिए । बर्दिया र बाँके निकुञ्जमा गणना गर्दा एक करोड खर्च भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख श्याम थापाले बताए ।


सुरक्षा चुनौती
बाघ बढेसँगै सुरक्षा चुनौती थपिएको छ । मध्यवर्तीमा प्रवेश गरेर मानव क्षति बढाउने चिन्ता छ । यसले मानव–वन्यजन्तु द्वन्द्वको खतरा छ । ठाकुरबाबा नगरपालिका २ का मोहन थारूले संख्या बढ्नु हर्ष भए पनि स्थानीय बासिन्दालाई सुरक्षित राख्न चुनौती थपिएको बताए । निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका गणपति चन्द्र चापागाईंले २४ सै घण्टा पैदल, साइकल, हात्ती, र्‍याफ्टिङलगायत सवारी साधनबाट सेनाले गस्ती गरिरहेको बताए ।


कान्छो निकुञ्जमा खुसी
मुलुकको कान्छो बाँके निकुञ्ज स्थापनाको आठ वर्षमा पाटे बाघको संख्या २१ पुग्यो । सन् २०१२ मा गरिएको गणनामा चार पाटे बाघ देखिएका थिए । त्यसको पाँच वर्षमै १७ बढेर २१ पुगेको छ । ‘बाघका लागि आवश्यक पर्ने अहारा बन्यजन्तु चितल, बंदेल, हरिणको संख्या बढाउन घांसे मैदान बनाइयो । ती जनावरले पानी खानका लागि निकुञ्जको २० ठाउँमा पोखरी खनियो,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले भने, ‘अहारा बढेपछि संख्या पनि बढ्यो ।’


निकुन्जभित्रका खोलानाला सुख्खा समयमा सुक्ने भएका कारण कृत्रिम पोखरी बनाइएको हो । अहारा बढेपछि छिमेकी निकुञ्जबाट बाघ आएको हुन सक्ने संरक्षणकर्ताको अनुमान छ । बाँकेमा कम्दी जैविक मार्ग भएर भारतीय निकुन्ज सुहेलवाबाट हात्ती र बाघ आउजाउ गर्छन् । उक्त निकुञ्जले पश्चिम बर्दिया र पूर्वतर्फ नवलपरासीको जंगल जोडिएकाले वन्यजन्तु आउजाउ बढी हुने गरेको छ । भारतको सुहेलवासँगै बर्दिया निकुञ्जबाट पनि बाघ आएको हुनसक्ने अनुमान छ ।


त्यस्तै सुरक्षित बासस्थान, चोरीसिकारी नियन्त्रण, पर्याप्त आहाराको व्यवस्थापन भएपछि थोरै समयमा बाघ बढेको निकुञ्जले जनाएको छ । पुनका अनुसार संरक्षणपछि बाघको संख्या बढेको बताए । ‘चोरी सिकार रोकिएको छ । जसका कारण बाघका लागि आवश्यक पर्ने आहराजन्य वन्यजन्तु बढेका छन्,’ उनले कान्तिपुरसँग भने, ‘संरक्षण प्रमुख कुरा हो । स्थानीयले पनि संरक्षणमा निकै सहयोग गरेका छन् ।’


निकुञ्जले बाघको संख्या बढाउन चोरी सिकारी नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । मध्यवर्ती क्षेत्रका युवाहरूको सुरक्षा दस्ता नै बनाइएको छ । निकुञ्ज सुरक्षामा खटिने युवा दास्ताका अगुवा कृष्ण चौधरीले स्थानीयहरूले संरक्षणमा निकै ठूलो योगदान पुर्‍याएको बताए । ‘निकुञ्जको संरक्षणमा स्थानीय जुटेपछि बाघको संख्या बढ्नमा सहयोग पुगेको छ,’ उनले भने, ‘बाघ बढेपछि यहाँको पर्यापर्यटनमा पनि सहयोग पुगेको छ ।’


प्रकाशित : आश्विन १५, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?