लुम्बिनी गुरुयोजना तीन वर्षमै

माधव ढुंगाना

भैरहवा — लुम्बिनी विकास कोषले ४० वर्षदेखि अधुरो गुरुयोजना ३ वर्षभित्र पूरा हुने जनाएको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार गरेका थिए । अहिलेसम्म पूरा नभएपछि कोष र सरकारको आलोचना हुँदै आएको थियो । कोषका अनुसार अहिले यसको द्रुत गतिमा काम भइरहेको छ ।

लुम्बिनी गुरुयोजना तीन वर्षमै

कोषका योजना प्रमुख तथा निमित्त सदस्य(सचिव सरोज भट्टराईले ३ वर्षभित्र पूरा गर्न आवश्यक तयारी सकिएको बताए । ‘बजेट कमी देखाएर अब कोष चुप बस्दैन,’ उनले भने, ‘नेपाल सरकाबाट उपलब्ध भए ठीक छ । नत्र ऋण जुटाएर भए पनि गुरुयोजनाको काम पूरा गर्छौं ।’


उनका अनुसार अन्तर्राष्ट्रियस्तरको डिजाइन र अनुगमन परामर्शदाता छनोट गरी गुरुयोजना सम्पन्न गर्ने तयारीमा कोष जुटेको हो । ‘परामर्शदाता नियुक्तिका लागि सबै प्रक्रिया पूरा गरी सूचना प्रकाशित गर्ने तयारी भएको छ,’ उनले भने । चाँडै बस्ने कोषको बोर्ड बैठकमा प्रक्रियालाई पूर्णता दिइनेछ । परामर्शदातालाई डिजाइन तयार पार्न ५ महिना, निर्माण सक्न ठेकेदारलाई २ वर्ष र परामर्शदाता/ठेकेदारको नियुक्तिका लागि सूचना प्रकाशन, मूल्यांकन गर्न ७ महिना छुट्याइएको छ ।


गुरुयोजना पूरा गर्न ०४२ सालमा विकास कोष गठन भएको थियो । ०४६ को राजनीतिक परिवर्तनपछि कोषको पदाधिकारीमा राजनीतिक नियुक्ति गर्न थालियो । डेढ दर्जन पदाधिकारी परिवर्तन भइसके पनि गुरुयोजना अधुरै छ । सरकार तथा विभागीय मन्त्रीले क्षमतावान्भन्दा अनुकूलका व्यक्ति नियुक्ति गर्ने परिपाटीले गुरुयोजनाले गति लिन नसकेको हो ।


कोषको गठनपूर्व ५ वर्षसम्म लुम्बिनी विकास समिति थियो । समितिले लुम्बिनीका लागि १ हजार १ सय ५० बिघा अधिग्रहण गर्‍यो । सदस्य(सचिव भट्टराईले अहिलेसम्म गुरुयोजनाको ८० प्रतिशत काम सकिएको दाबी गरे । बाँकी २० प्रतिशतका लागि ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसका लागि सरकारले एकमुष्ट बजेट उपलब्ध गराएको छैन । चालु वर्ष विकास र प्रशासनिक कार्यका लागि ५७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । ‘यही हिसाबले बजेट आए गुरुयोजना पूरा गर्न अझै ११/१२ वर्ष लाग्छ,’ उनले भने, ‘ऋण लिएर भए पनि ३ वर्षमा सक्ने तयारीमा छौं ।’


२ ठूला पानीटयांकी, उथान्त अडिटोरियम हल, ६ ठूला भवन, करिब २३ किमिको ढल, कोष परिसरभित्रका ३ खोलामा तटबन्ध, गोलाकार पोखरीको सुन्दरीकरण, १२ किमि सडक निर्माणलगायत काम बाँकी छन् ।


सन् १९७८ मा गुरुयोजना सम्पन्न गर्न ५५ मिलियन अमेरिकी डलर (६ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको थियो । हरेक वर्ष डलरसँग नेपाली रुपैयाँ अवमूल्यन हुुनु र मजदुर तथा निर्माण सामग्रीको मूल्य बर्सेनि बढ्दा लागत बढेको भट्टराईको भनाइ छ । टाँगेले गुरुयोजना तयार पार्न ६ वर्ष लगाएका थिए । गुरुयोजनामा लुम्बिनीलाई बुद्धको जीवनीसँग मेल खाने गरी धार्मिक स्थल मात्रै नभएर विश्व शान्तिको महत्त्वपूर्ण स्थलका रूपमा चित्रण गरिएको छ ।


‘गुरुयोजना बनाउँदा ६ वर्ष त्यसै खर्च गरेका होइनन् । यसका बहुआयामिक पक्ष छन्,’ वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भने, ‘टाँगेको गुरुयोजना बुद्धको शान्ति र करुणाको सन्देशको अभिव्यक्ति दिने मूर्त भूदृश्यमा आधारित छ ।’


प्रकाशित : आश्विन १५, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?