१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रधानाध्यापकसँग कार्यसम्पादन करार

विद्यालय शिक्षक अब पार्टीको कुनै पदमा बस्न नपाउने
डम्बरसिं राई

खोटाङ — शिक्षाको गुणस्तर सुधार गर्न दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले नगरक्षेत्रका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गराएको छ ।

प्रधानाध्यापकसँग कार्यसम्पादन करार

शैक्षिक गुणस्तर, विद्यालयको भौतिक पूर्वाधारसहितका प्रस्तावमा नगर शिक्षा अधिकृत पञ्चकुमार राई र नगरका १८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच शनिबार सम्झौता भएको हो ।


त्यसअघि अधिकृत राईले नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेखा पाण्डे केसीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । शैक्षिक गुणस्तरका लागि शुक्रबार र शनिबार छलफलपछि कार्यसम्पादन करार सम्झौता गरिएको हो ।


गत वर्ष नगरपालिकाले पारित गरेको नगर शिक्षा नियमावलीमा कार्यसम्पादन करार सम्झौता गरिने उल्लेख थियो । यसले शैक्षिक गुणस्तरमा सुधार आउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।


शिक्षा नियमावली शिक्षाविद विद्यानाथ कोइरालासहितको शैक्षिक सेमिनार आयोजना गरी शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिले आचारसंहितामा हस्ताक्षर गरेका थिए । नियमावलीमा नगरपालिकाभित्र सञ्चालित विद्यालयका शिक्षक अब पार्टीको कुनै पदमा रहन नपाइने व्यवस्था गरिएको छ । नियमावलीमा निजामतीसरह शिक्षकको बिदा र सेवासुविधा व्यवस्था गरेको छ ।


नगर शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाको विज्ञ र वडाको हकमा वडा शिक्षक समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाको विज्ञको सहभागितामा मापदण्ड बनाएर शिक्षकहरूको मूल्यांकन नियमित रूपमा गर्ने र मूल्यांकनका आधारमा उत्कृष्ट शिक्षक, उत्कृष्ट प्रधानाध्यापक र हरेक वडाका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिनेछ ।


नगरभित्र शिक्षकहरूको पदपूर्ति गर्नुपरे नगरभित्र परीक्षा गराएर पदपूर्ति गर्ने व्यवस्था गरेको छ तर स्थानीय अस्थायी कर्मचारीका हकमा सम्बन्धित वडाको विद्यालय, स्रोतकेन्द्र र वडामा सचिवालय रहेर छनोट गर्ने व्यवस्था गरेको छ ।


नगरले सार्वजनिक गरेको नगर शिक्षा नियामावलीमा नगरका प्रत्येक वडामा वडा शिक्षा समितिको व्यवस्था हुने, नीति, नियम र योजना बनाउने काम वडा शिक्षा समितिले र नगर शिक्षा समितिले गर्ने र कार्यान्वयन नगरको शिक्षा शाखा र बहुप्रशासकीय अधिकृतले गर्ने व्यवस्था गरिएको छ । लेखा परीक्षण गर्दा स्तरीय लेखा परीक्षक (चार्टर एकाउन्टटेन्ट) बाट अनिर्वाय रूपमा लेखा परीक्षण गर्ने व्यवस्था गरेको छ । नगरले माध्यमिक तहमा एमएड उत्तीर्ण गरेको शिक्षकलाई प्रअ बनाउने नीति अवलम्बन गरेको छ ।


नियामावलीमा व्यवस्था गरिएको विकास प्रस्ताव तयार गरी प्रधानाध्यापकलाई नियुक्त गरिनेछ र त्यो योग्यता र क्षमता पुगेको प्रधानाध्यापकलाई दस प्रतिशत थप सुविधाको समेत व्यवस्था गरिएको छ । नियामावलीमा व्यवस्था भएअनुरूपको विकास प्रस्तावभन्दा बाहिर रहेर नियुक्त भएको प्रधानाध्यापकको हकमा थप सुविधा लागू नहुने नियमावलीमा उल्लेख छ ।


नगरले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित तह उत्तीर्ण गरेको विद्यालयका अभिभावकबाटै अध्यक्ष हुने व्यवस्था गरेको छ । नगरले नगरशिक्षा समितिमा शिक्षकहरूको महासंघको प्रतिनिधि तथा वडा शिक्षा समितिमा विद्यालयका शिक्षक र भूतपूर्व शिक्षकहरूको प्रतिनिधित्व रहनेछ ।


नगरले शिक्षाको गुणस्तरमा परिवर्तन ल्याउनका लागि खोज अनुसन्धानमूलक, परियोजनामूलक र प्रविधिमूलक शिक्षालाई जोड दिएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकको सहभागितामा सामुदायिक विद्यालयमा सकेसम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने व्यवस्या गरेको छ । यस्तै नगरले निजामती वा सोसरह शिक्षकहरूको बिदा र सेवासुविधाको व्यवस्था गरेको छ । नगरले सुत्केरी बिदा ९८ दिन र सुत्केरी बिदा लिएको अवस्थामा दुई वटा बच्चासम्मका लागि बिदाको सुविधासँगै प्लस पाँच हजार सुत्केरी खर्चको व्यवस्था गरेको छ ।


कुनै विद्यालयमा एक मात्र शिक्षिका भएको र त्यो शिक्षिका सुत्केरी भएर ९८ दिन विद्यालय बन्द हुने अवस्था आएमा नगरले जगेरा शिक्षक कोष स्थापना गरी त्यस्तो विद्यालयमा जगेरा शिक्षकलाई पठाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्ने व्यवस्था गरेको छ ।


स्थानीय अस्थायी कर्मचारीको हकमा सम्बन्धित वडाको विद्यालय, स्रोतकेन्द्र र वडामा सचिवालय रहेर छनोट गर्ने व्यवस्था गरेको छ । नगरले भक्तपुर नगरपालिकाले ख्वप कलेजको अभ्यास गरेअनुसार वडाभित्र अथवा कुनै क्षेत्रभित्र आफ्नै स्वामित्वमा रहने गरी अथवा अरूसँगको साझेदारीमा कलेज र विद्यालय खोल्न पाउने व्यवस्था गरेको छ ।


कुनै सामुदायिक विद्यालय समुदाय अथवा विद्यालय व्यवस्थापन समितिले जिम्मा लिएर आफैं विद्यालय चलाउने भए त्यस्ता विद्यलाय अथवा वडालाई एकमुष्ट रकम प्रदान गर्ने र त्यहाँ भएका सबै दरबन्दी नगरपालिकाले लिने व्यवस्था गरेको छ । नगरले जनप्रतिनिधिको हकमा कुनै विद्यालयको सञ्चालक समितिमा रहेको भए सञ्चालक समितिमा नरहने व्यवस्था गरेको छ ।

प्रकाशित : आश्विन १५, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?