कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भेटिन छाडे पानीघट्ट

एलपी देवकोटा

जुम्ला — ग्रामीण क्षेत्रको मिल अन्न पिस्ने पानीघट्ट पाउनै छाडिएको छ । गाउँगाउँमा डिजेल मिल सञ्चालनमा आएपछि यी पानीघट्ट संकटमा परेका हुन् ।

भेटिन छाडे पानीघट्ट

खोलानालामा पानी कम हुन छाडेपछि घट्ट चलाउनै समस्या परेको छ । सदरमुकाम र व्यापारिक केन्द्रहरुमा भने केही वर्षअघि देखि आधुनिक मिलले पानीघट्ट विस्थापन गरेका थिए ।

ग्रामीण क्षेत्रमा पानीघट्टको सहायताले अन्न पिसेर गुजारा गर्दै आएका स्घट्ट लोप हुन थालेपछि समस्यामा परेका छन् । अधिकांश स्थानमा आधुनिक मिल सञ्चालन नहुँदा स्थानीयलाई घन्टौं हिंडेर अन्न पिस्न जानुपर्ने बाध्यता छ । स्थानीय चाउरी सार्कीले खलंगा बजारमा चौबीसैं घण्टा विद्युत् सुविधा नहुँदा मिलमा गएर अन्न पिस्नसमेत समस्या भएको बताइन् । ‘गाउँमा गएर पानीघट्टमा अन्न पिसेर उपभोग गर्दै आएका थियौं,’ उनले भनिन्, ‘बिस्तारै घट्ट लोप हुन थालेपछि समस्या भएको छ ।’

जिल्लामा बढ्दो जनसंख्या, प्राकृतिक सम्पदाको नोक्सानी र जलवायु परिवर्तनको प्रभावले खोलानाला र पानीका मुहान सुक्दै जान थालेको स्थानीय जानकार दुर्गाप्रसाद पाण्डेले बताए । ‘पानीका मुहान सुक्नुको ठूलो असर घट्ट सञ्चालनमा परेको छ,’ उनले भने, ‘अहिले ग्रामीण क्षेत्रमा समेत मुस्किलले एक/दुईमात्र घट्ट देखिने गरेका छन् ।’ अधिकांश गाउँमा विद्युत् नभएको र धेरै रकम खर्च गरेर कुटानी–पिसानीका लागि मिल स्थापना हुन नसकेको उनले बताए । उनका अनुसार गाउँमा पानीघट्ट नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

घट्टको संख्या घटेपछि अन्न पिस्न जाग्राम बस्नुपर्ने बाध्यता हुन थालेको पातारासी गाउँपालिकाकी पार्वती बुढाले बताइन् । ‘घट्टमा अन्न पिस्न प्राय: महिला नै जाने गरेका छौं,’ उनले भनिन्, ‘गाउँभर एउटामात्र घट्ट भएकाले राति पालो कुर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार तीन वर्षअघि गाउँमा १२ पानीघट्ट सञ्चालनमा थिए । उनले एक बोरा अन्न पिस्न एक साता पालो कुर्नुपर्ने बाध्यता हुन थालेको बताइन् ।

केही वर्ष अघिसम्म आफैंले घट्ट सञ्चालन गरेका तातोपानी गाउँपालिकाका नवराज जैसी अहिले अन्न पिस्न समस्या हुन थालेको बताउँछन् । ‘खलंगामा विद्युत्बाट चल्ने कुटानीपिसानी मिल सञ्चालनमा छन्, तर गाउँमा घट्ट नहुँदा स्थानीयलाई सास्ती छ,’ उनले भने, ‘मिल नहुँदा स्थानीयवासी दुई/तीन घण्टा हिंडेर अन्न पिस्न जान बाध्य छन् ।’ नियमित विद्युत् आपूर्ति नहुँदा मिलसमेत भनेको समयमा अन्न पिस्ने नपाउने समस्या रहेको चन्दननाथ नगरपालिकाकी माया आचार्यले बताइन् ।

प्रकाशित : आश्विन १५, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?