सुदूरपश्चिमको राजधानी तेघरी : जहाँ पैसाको मुठो बोकेर दिनदिनै पुग्छन् जग्गा 'दलाल'

‘गाउँघरमा खसीबोका किन्न आउने ग्राहक जसरी दलालहरू जग्गाजमिन बिकाउ छ ? भन्दै घरदैलोमा आउन थालेका छन्'
मोहन बुढाऐर

धनगढी — कैलालीको तेघरीका भीमबहादुर थापामगरले वर्ष दिनअघि आफ्नो ५ कट्ठासहितको घरखेत बिक्री गर्न खोजेका थिए । सफल नभएपछि अहिले नबेच्ने मनस्थिति बनाएका छन । तर जग्गा 'दलाल'हरू भने पैसाको मुठो बोकेर दिनदिनै उनको घर धाउन थालेका छन् । 

सुदूरपश्चिमको राजधानी तेघरी : जहाँ पैसाको मुठो बोकेर दिनदिनै पुग्छन् जग्गा 'दलाल'

‘दलालको ढिपीबाट हैरान भइसकें,’ उनले भने, ‘राजधानी हामीलाई विस्थापित गर्न आएको हो भन्ने लाग्न थाल्यो ।’ उतिबेलाको समस्या समाधान भइसकेकाले अहिले जग्गा बेच्नुपर्ने कुनै आवश्यकता नभएको उनले बताए ।


गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरी सामुदायिक वनक्षेत्रमा सुदूरपश्चिम प्रदेशको राजधानी राख्ने प्रस्ताव प्रदेशसभाबाट पास भएपछि जग्गा दलालहरू सम्पर्कमा आउने क्रम हवात्तै बढेको उनी बताउँछन् । ‘गाउँघरमा खसीबोका किन्न आउने ग्राहक जसरी दलालहरू जग्गाजमिन बिकाउ छ ? भन्दै घरदैलोमा आउन थालेका छन्,’ उनले भने, ‘तेघरीमा राजधानी बस्ने भएर त यसो भएको होला नि ।’


स्थानीय भोजराज जोशीका अनुसार तेघरी क्षेत्रमा अधिकांश निम्न वर्गीय परिवारको बसोबास छ । मगरलगायत जनजाति बढी छन् । एक परिवारसँग १ देखि ५ कट्ठासम्म जग्गा छ । उनीहरूलाई साँझ–बिहान छाक टार्नै समस्या छ । केही जमिन्दार पनि छन् । केहीले धनगढी–डडेलधुरा राजमार्ग किनारको जग्गा किनेर प्लटिङ गरेका छन् । उनीहरू जग्गाको मूल्य अकासिने प्रतीक्षामा छन् ।


तेघरीको सामुदायिक वनक्षेत्र राजधानीका लागि तोकिएको हो । वडा नं. २ नजिक वनक्षेत्र सँगै ऐलानी जग्गा कमाइ गरेर बसोबास गरेका परिवार धेरै छन् । डोटी, डडेलधुरा र बझाङलगायत विभिन्न ठाउँबाट बसाइँ सरिआएका उनीहरू निम्न वर्गीय परिवारका हुन् ।


‘प्रस्तावित राजधानीसँग जोडिएको बस्तीमा जग्गा दलालको पहिलो आँखा पुग्नु स्वाभाविक हो,’ जोशीले भने, ‘यो गरिब बस्ती पनि छ । गरिबको जमिन सस्तोमा पाउने आशामा दलालहरू यही क्षेत्रमा बढी आकर्षित भएका हुन् ।’ उनले गोदावरी २ को अत्तरिया बजारदेखि तेघरीसम्मको खेतीयोग्य उर्वरा जमिन प्लटिङमा नै सकिने बताए । यतिखेर दलालले घरबाहेक खेत भएको जमिनलाई मागेजति मूल्य दिन खोजिरहेको जोशी बताउँछन् ।


अर्का स्थानीय कैलाशकुमार जोशीले पनि दलालहरू प्रस्तावित राजधानी आसपासका जमिनको खोजीमा बढी सक्रिय भएको बताउँछन् । ‘उसै पनि पछिल्लो समयमा अत्तरिया बजारको घरजग्गा कारोबार बढेको थियो,’ जोशीले भने, ‘राजधानीको चर्चाले यतिबेला जग्गाको मूल्य विगतका वर्षको तुलनामा शतप्रतिशतले वृद्धि भएको छ ।’ उनका अनुसार स–साना जग्गा कारोबारीबाहेक अत्तरियामा स्थानीय र बाहिरका गरी ४ भन्दा बढी ठूला घरजग्गा कारोबार कम्पनी जग्गा खरिदबिक्रीमा संलग्न छन् ।


प्रस्तावित राजधानीको तेघरी वन क्षेत्रको पूर्वतर्फको भागमा रहेको अतिक्रमित आवादी अत्तरिया बजारसम्म जोडिएको छ । यो भीमदत्त राजमार्गको दायाँबायाँ क्षेत्रमा पर्ने भएकाले उर्वर भूमि प्लटिङमा सकिन लागेको जोशी बताए । अहिले राजमार्गसँग जोडिएको घडेरीको मूल्य २ करोडसम्म पुगेको छ ।


घरजग्गा कारोबारी पुस्कर भट्टले जता आकर्षण उतै कारोबार बढ्ने बताए । ‘अहिले राजधानीको चर्चाले अत्तरियादेखि तेघरीसम्मको क्षेत्र आकर्षणको केन्द्र बनेको छ,’ उनले भने, ‘व्यवसायका लागि राजधानी आसपास क्षेत्रको जमिनको प्लटिङ गर्न खोज्नु स्वाभाविक हो ।’


राजधानीदेखि पूर्व–उत्तरतर्फ तेघरीको २१ बिघा खेत पहिल्यै प्लटिङ भइसकेको भट्टले बताए । ‘पहिला त्यो प्लटिङ भएको जमिनको प्रतिघडेरी ३० लाखदेखि ४० लाख थियो,’ भट्टले भने, ‘राजधानीको चर्चा चलेपछि हाल १ करोडसम्म पुगेको छ ।’


प्रस्तावित राजधानीको वन क्षेत्रसँग जोडिएको अतिक्रमित जग्गाको समेत किनबेच सुरु भएको उनी बताउँछन् । उनका अनुसार दर्ता नभएको ऐलानी जमिनकै प्रतिकट्ठा १५ लाखदेखि २० लाखसम्म पुगेको छ ।

प्रकाशित : आश्विन १५, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?