१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिंहदरबारको पर्खाल संरचना दह्रो भेटियो, पश्चिम मोहडा भत्काउन नपर्ने 

सिंहदरबारको ‘सबलीकरण’ सम्भव
देवेन्द्र भट्टराई

काठमाडौँ — मुलुकको प्रुमख प्रशासनिक निकाय सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउनुपर्ने पक्षमा चलखेल चलिरहेका बेला एक स्वतन्त्र अध्यनले यो संरचनाको भार बहन गर्ने पर्खाल(लोड–वियरिङ वाल)मा सामान्य क्षती मात्रै पाइएकाले पश्चिमी मोहडा भत्काइरहनु नपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारको पर्खाल संरचना दह्रो भेटियो, पश्चिम मोहडा भत्काउन नपर्ने 

सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउने कि जोगाउने भनेर बहस चर्किएपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले यसबारे विस्तृत अध्यन गर्न ४ महिनाअघि इन्फ्रास्टक्चर इन्जिनियरिङ रिसर्च एण्ड कन्सल्ट प्रालिलाई जिम्मा दिएको थियो । कन्सल्ट प्रालिका प्रबन्ध निर्देशक डा.ऋषीराम पराजुलीले सोमबार सिंहदरबारमा प्राधिकरणसमक्ष ‘पश्चिमी मोहडा’ अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुत गरेका थिए । ‘बाहिर चर्चामा आएजस्तो पश्चिमी मोहडाको संरचना त्यति धेरै क्षतीमा नपरेको’ भन्दै यसमा सबलीकरण (रेट्रोफिटिङ) सम्भव भएको पराजुलीले बताएका थिए ।


‘सिंहदरबारको पश्चिमी मोहडातर्फ सिंगो संरचनाको भार बेहोर्ने पर्खालमा खासै क्षती नपुगेको पाएका छौं’, प्रबन्ध निर्देशक डा.पराजुलीले कान्तिपुरसँग भने, ‘संरचनामा प्रयोग भएको इट्टा अहिले बजारमा पाइने ‘सुपर वन’ भन्दा राम्रो क्षमताको पाइएको छ, माटोको जोडाइ दरिलो भेटिएको छ । प्रयोग भएका काठहरु पनि ‘स्याम्पलिङ’ गर्दा ३२ प्रतिशत अनुपातमा क्षतीमा परेको पाइएको छ ।’


पराजुलीले सिंहदरबार पश्चिमी मोहडाबारेको दोस्रो चरणको अध्यनमा अब सबलीकरण गर्दा अपनाइने पद्धती, समयावधी र लाग्ने खर्चको हिसाब निकालिनेछ । अध्यनको पहिलो चरणका लागि डेढ महिना अवधी तोकिएकोमा यो काम सम्पन्न गर्न ४ महिना लागेको थियो । दोस्रो चरणको अध्यनका लागि अढाइ महिना अवधी तोकिएको छ । पराजुलीले अबको सबलीकरण प्रकृयामा सकेसम्म पुरानै पद्धतीमा माटो, सुर्की आदिको प्रयोगबाट जोडाइ गरिने र सिमेन्ट, रङको प्रयोग ‘अत्यावश्यक अवस्था’मा मात्रै गरिने जनाउ दिए ।


पश्चिम मोहडातर्फको भत्कन लागेको सिंहदरबार संरचनाबारे तीन वर्षयता बहस जारी रहेका बेला विभिन्न प्राविधिक परामर्श समूहले यसलाई ‘भत्काउनु उपयुक्त’ भनेर निचोड सुनाउँदै आएका थिए ।


‘यो ऐतिहासिक संरचना जोगाउने र सबलीकरण गर्ने पक्षमा प्राधिकरणले सबै प्रकारको सहयोग–समन्वय उपलब्ध गराउनेछ,’ प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीले भने, ‘इन्फ्रास्टक्चर इन्जिनियरिङ रिसर्च एण्ड कन्सल्टले सिंहदरबार पश्चिमी मोहडाबारेको बिस्तृत प्रतिवेदन बुझाउनासाथै सबलीकरणको मोडालिटी निर्धारण हुनेछ ।’


पश्चिमी मोहडाको संरचना मुल्यांकन गर्ने क्रममा जीएस सोयल एण्ड म्याटरियल इन्जिनियरिङले मोहडाको सतहमुनिको माटो परीक्षण गरेको थियो भने इट्टा, काठ, जोडाइ (माटो) सहितको अलग परीक्षण समेत भएको थियो । ‘परीक्षणमा सबै बिम खोलेर काठ वा जोडाइ परीक्षण गरिएको छैन तर, ‘स्याम्प्लिङ’ भने उत्साहप्रद पाइयो । सबलीकरण सम्भव छ भन्ने देखिएको छ,’ प्रबन्ध निर्देशक पराजुलीले भने । नयाँ बन्ने संरचनाभन्दा बढी समय पुरानोको ‘सबलीकरण’मा लाग्ने भएपनि सिंहदरबारको ‘सिग्नेचर आइकन’ जोगाउन सबै तहबाट हरसम्भव प्रयत्न गरिने उनले बताए ।


तीन वर्षअघि आएको भुकम्पका कारण क्षतीग्रस्त बनेको सिंहदरबारका पुर्वी, उत्तरी र दक्षिणी मोहडामा सबलीकरण (रेट्रोफिटिङ) जारी रहेपनि पश्चिमी मोहडालाई भने अझै अध्यन/अनुसन्धानकै क्रममा राखिएको थियो । युरोपेली शैली–संरचना (नियो–क्लासिकल)मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबारको पश्चिमी भागमैं बेलायती बैठकदेखि स्टेल हलसम्मका विशिष्ट संरचना छन् । सिंहदरबारका तीन मोहडासहितको मुख्य भागमा अहिले पनि रेट्रोफिटिङ जारी छ ।


प्रकाशित : आश्विन १६, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?