२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हिँड्दा आनन्द लाग्ने ठाउँ घट्दै

भीम घिमिरे

पोखरा — उनी वर्षमा दुईपटक पोखरा आउँछन् । मुख्य बजार क्षेत्रबाट १३/१४ किलोमिटर पर्तिर लामोआहालमा यमबहादुर गुरुङको घरमा बास बस्छन् । बिहान ७ बजे सेती तरेर भरतपोखरीको उकालो उक्लन्छन् ।

हिँड्दा आनन्द लाग्ने ठाउँ घट्दै

डेढ/दुई साताको पोखरा बसाइँमा उनको प्रत्येक यात्रामा बिहानै उकालो र ओरालो गर्ने नियमितता उस्तै छ ।


भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहतालाई नेपाल बसाइँ रमाइलो लाग्नेमात्रै होइन, मेची–महाकाली धेरै ठाउँको भूगोलबारे जानकारी छ । नेपाली बोल्न पनि जान्दछन् । भारतीय गोर्खा रेजिमेन्टका यी पूर्वमेजरले बुधबार लामेआहालमा खुकुरीले केक काटेर ८० औं जन्मोत्सव मनाए । उनका लागि गोर्खा रेजिमेन्टका सेवानिवृत्त गोर्खाली फौजी विभिन्न जिल्लाबाट भेला भए ।


‘म पहिलोपटक २०१६ सालमा नेपाल आएको हो,’ उनले भने, ‘त्यो बेला रक्सौलबाट त्रिभुवन राजपथ हुँदै हिंडेर काठमाडौं, पोखरा, घान्द्रुक, बारपाक, बुटबल, भैरहवा गएँ । ६० दिन हिँडिएछ ।’ दैनिक हिँड्ने बानी भएकाले वर्षको दुईपटक नेपाल आउनु हिँड्नकै लागि भएको उनी बताउँछन् । ‘पहिले ब्रिटिसले पोखरामा अफिस खोले, इन्डियन आर्मीले खोलेपछि म पोखरा आउँदा रामबजार बस्थेँ,’ उनले भने, ‘यमबहादुरले लामेआहालमा घर बनाएपछि मलाई रामबजारतिर पनि भीड लाग्छ । त्यता जान्नँ, यतै बस्छु ।’

गोर्खा पल्टनबाट सन् २००९ मा सेवानिवृत्त यमबहादुर गुरुङलाई मेहताले छोरा मानेका छन् । ‘नेपालमा जहिलेदेखि आउन थालेँ, म आफ्नै खर्चले आएँ,’ उनले भने, ‘सडक खुल्यो, गाडी बढ्यो । अब त दिनदिनै हिँड्दा आनन्द लाग्ने ठाउँ घट्दै छन् ।’ सन् १९९३ मा गोर्खा पल्टनमा आफ्नो बिहे नेपाली पुजारीले नै गराएको उनले बताए । ‘मैले उनैसँग दोस्रोपटक पनि बिहे गरेँ पोखराको विन्ध्यवासिनीमा आएर,’ उनले भने, ‘यो उमेरसम्म म स्वस्थ रहनुको कारण डाक्टरले तँ बिहान बिहान हिंड्छस् त्यसैले हो भनेका छन् ।’ उनले बिग्रँदो वातावरणप्रति चिन्ता व्यक्त गरे । ‘जहाँसुकै हामीले बिहान सजिलोसँग हिँड्न पर्ने ठाउँ घट्दैछन्, भीड बढ्दै छ,’ उनले भने ।


मेहता र उनकी पत्नी अदितीलाई स्वागत गर्दै भारतीय गोर्खा पल्टनका भूपूहरूले उपहार दिए । दीर्घायुको कामनासँगै चौरासी पोखरामै गर्नुपर्छ भने । आफ्नो जन्मदिन पोखरामा मनाउन उनले निकै अघिदेखि योजना बनाएको यामबहादुर गुरुङले बताए । ‘पोखरा आउँदा जहिले पनि मेरैमा बस्नुहुन्छ,’ उनले भने, ‘उहाँको उमेरमा हामी के गर्लाऊँ, मेहता साब बिहान ३ घण्टा हिंड्नुहुन्छ । दिउँसो सुत्नुहुन्न । किताब पढ्नुहुन्छ, इमेल हेर्नुहुन्छ । सक्रियता अचम्मको लाग्छ ।’


दाङको तुलसीपुरका लक्ष्मणसिंह थापाका बाजे इन्द्रपिर थापा ब्रिटिसका पालामा गोर्खा रेजिमेन्टमा अनरेरी क्याप्टेन थिए । उनले भीसीपछिको उच्च मानिने पदक पनि पाएका थिए । सेवानिवृत्त भएर उनी घर फिरेपछि बेलाबेला मेहता अग्रज फौजीको अनुभवबारे बुझ्न घर आइरहन्थे । ८५ वर्षको उमेरमा इन्द्रवीर बिते पनि मेहता अझै तिहारमा थापा निवास पुग्छन् ।


उनले लक्ष्मणकी आमा रत्नलक्ष्मीलाई दिदी मानेर तिहारमा टीका पनि लगाउने गरेका छन् । ‘उहाँ कूटनीतिक मान्छे हो,’ लक्ष्मणले भने, ‘सादा जीवन छ । सम्बन्ध राम्रो राख्नुहुन्छ । आफ्नो काममा बढी ध्यान दिनुहुन्छ । हाम्रो राम्रो सम्बन्ध छ ।’ धर्मदाजुको जन्मोत्सव समारोहमा दिदी रत्नलक्ष्मी पनि सहभागी थिइन् । फौजीको जागिरबाट सेवानिवृत्त गोर्खा पल्टनमा बराबर पुग्ने, गोर्खाका कुरा सुन्ने भएकाले मेहता सबैको प्रिय रहेको दलबहादुर गुरुङले बताए । पूर्वमेजर जनरलका लागि भूपुहरूले ठूलो केक र त्यसलाई काट्न खुकुरीको व्यवस्था गरेका थिए । मेहतालाई बधाई दिन बेलायती सेनाका भूपू कर्णेल जेपी क्रस पनि पुगेका थिए ।

प्रकाशित : आश्विन १८, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?