प्रधानमन्त्रीको प्रश्न, 'नेपाल यही सात महिनामा गरिब भएको हो ?'

दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले सरकारले गति नलिइरहेकोबारे भइरहेका टीकाटिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले सरकारले  सही दिशा पक्रिइरहेको राम्रो काम गरिरहेको उनले दाबी गरे । ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो, बजेट नै राम्ररी निकास हुन पाएको छैन त्यो भएन र यो भएन ?’

प्रधानमन्त्रीको प्रश्न, 'नेपाल यही सात महिनामा गरिब भएको हो ?'

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मानौं नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटाघाटा यही सात महिनामा बनेनन्, पहिले त पिच नै पिच थिए ?’

ओलीले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताए । उनले भने, ‘यो सरकार पाँच वर्षसम्म चल्छ । चुनाव गराउँछ र यो भन्दा बलियो भएर आउँछ ।’ नेकपाकै नेताले सरकारको आलोचना गरेकोप्रति इंगित गर्दै उनले अस्थायी कुरा र हल्लाका पछाडि नकुद्न आग्रहसमेत गरे ।

‘हावा चल्यो, हावामा पात बह्यो भने त्यस्तो राजनीतिको पछाडि कुद्ने होइन’ ओलीले भने, ‘मान्छेलाई कहिलेकाहीं चित्त बुझेको हुँदैन । कवितात्मक ढंगले, लयात्मक ढंगले केही कुरा भनिहाल्यो भने त्यसैलाई समातेर एकदम कुद्नुपर्ने केही पनि छैन ।’ उनले कुनै दृष्टिकोण, नीति, देशलाई दिशा दिने र जनताका यथार्थ समस्या सम्झिने राजनीति नगर्न आग्रह पनि गरे ।

प्रधानमन्त्री ओली अमेरिका रहँदा सत्तारुढ नेकपाकै वरिष्ठ नेता माधव नेपालले संसद् बैठकमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए ।

ओली नेतृत्वको टोली गत असोज ६ गते न्यूयोर्क प्रस्थान गरेको थियो ।

प्रकाशित : आश्विन १८, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?