१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

जामले लियो ज्यान

भरतपुरबाट सामान्य अवस्थामा ४ घण्टामा काठमाडौं पुगिन्छ तर नचनीलाई लिएर साढे पाँच बजेतिर हिँडेको एम्बुलेन्स साढे नौ बजे बल्लतल्ल नागढुंगादेखि केही तल टायल घर पुग्यो । त्यहीं उनको प्राण गयो ।
रमेशकुमार पौडेल

चितवन — सिकिस्त बिरामी नचनी चौधरीलाई उनका दुई छोराले राम्रो उपचारका लागि भरतपुरदेखि एम्बुलेन्समा राखेर बुधबार बिहान काठमाडौं दौडाए । तर नौबिसे–नागढुंगाको लामो जाम छिचोल्न नसक्दा उनी अस्पताल पुग्नै पाइनन् । बाटैमा उनको प्राण गयो ।

जामले लियो ज्यान

काठमाडौं पुर्‍याए स्वास्थ्य सुधार हुने आशा लिएका छोराहरू देवघाटमा आमाको सतगत गरेर घर फर्किए । रत्ननगर–६, बछौलीकी ५१ वर्षीया नचनीलाई ज्वरो आउनेलगायत समस्या देखिन थालेपछि छोराहरूले सदरमुकामको भरतपुर सामुदायिक अस्पताल लगेका थिए । अस्पतालमा भर्ना गरेर उपचार हुँदै थियो तर सुधार भइरहेको थिएन । १४ गतेपछि आमाको अवस्था बिग्रँदै गएको माइला छोरा राजेश चौधरीले बताए । डाक्टरले काठमाडाैं लैजान भनेपछि जेठा दाइ भुवनेश्वर र उनी आमालाई लिएर बाटो लागे ।


भरतपुरबाट एम्बुलेन्स साढे पाँच बजेतिर हिँडेको थियो । सामान्य अवस्थामा पौने चार वा चार घण्टामा एम्बुलेन्स काठमाडौं पुग्छ तर उनीहरू चढेको बा६ख ५२५५ नम्बरको एम्बुलेन्स सरर जान पाएन । जाम परेका कारण रोकिँदै गुडदै गर्दा काठमाडौं पुग्ने समय (साढे नौ बजे) मा उनीहरू नागढुंगादेखि केही तल टायल घर पुगे । त्यो बेला नचनीको मुखबाट फिँज निस्केको थियो ।


एम्बुलेन्स चालक नवराज थापाले नचनीको प्राण नरहेको अडकल काटे । त्यसैले काठमाडौं लैजानु बेकार जस्तै थियो । फर्केर गजुरीको मेडिकलमा परीक्षण गर्दा मृत्यु भएको पक्का भयो । भरतपुर सामुदायिकमा नचनीलाई डा. विशाल श्रेष्ठले हेरेका थिए । डा. श्रेष्ठका अनुसार मिर्गौलाभन्दा माथि एक प्रकारको हर्मोन निस्कने ग्रन्थि हुन्छ, नचनीको त्यो ग्रन्थीमा ट्युमर पलाएको थियो ।


‘बिरामीको रक्तचाप अचानक बढ्ने समस्या थियो । यहाँ राखेर सुधार हुने नदेखेपछि राम्रो उपचारका लागि काठमाडौं पठाएका हौं,’ उनले भने । उनका अनुसार नचनीको रक्तचाप झयाप्पझयाप्प बढ्ने गरेको थियो । एम्बुलेन्स जाममा फस्दा रक्तचापमा समस्या आएको हुन सक्ने उनको अनुमान छ । एम्बुलेन्स चालक नवराज थापाले जाममा नपरेको भए बिरामीलाई अस्पताल पुर्‍याउन सकिने बताए । ‘जहाँसम्म हामी पुगेका थियौं, त्यहाँबाट ४० मिनेटमा महाराजगन्ज शिक्षण अस्पताल पुग्न सकिन्थ्यो तर बाटामा लगभग दुई घण्टा जाममा परियो,’ थापाले टेलिफोन कुराकानीमा भने ।


भरतपुरबाट मलेखु पुग्दासम्म बाटो सामान्य थियो । मलेखुबाट गाडीको ताँती देखिन थालेको थियो । एम्बुलेन्स स्वाभाविक गतिमा गुड्न पाएको थिएन । सिम्ले पुगेपछि जाम सुरु भएको छोरा राजेशले बताए । जुँगेखोला पुगेपछि एम्बुलेन्स रोकेर बस्नुपरेको थियो । ‘सुरुमा पौने घण्टाजति रोकियौं, दुई–तीन किलोमिटर हिँडेपछि फेरि रोकिनुपयो,’ राजेशले भने । प्रहरीलाई खबर गरे पनि गाडी अस्तव्यस्त भएका कारण केही उपाय निकाल्न नसकेको उनले बताए ।


शिक्षण अस्पतालमा आईसीयू व्यवस्था भइसकेको थियो । भरतपुरमा आईसीयूमै राखेकाले काठमाडौंमा पनि त्यसै गर्नुपर्ने भएपछि बुझेर पहिल्यै बुक गरेको भुवनेश्वरले बताए । ‘डेढ लाख भरतपुरमै खर्च भएको थियो । काठमाडौं लैजानुपर्ने भएपछि छरछिमेक र आफन्तसँग सरसापट गरेर दुई लाखजति लिएर हिँडेका थियौं । आईसीयू तयार थियो तर आमालाई अस्पताल पुर्‍याउनु परको कुरा, काठमाडौं छिराउन पनि सकिएन,’ भुवनेश्वरले दु:ख पोखे ।

प्रकाशित : आश्विन १९, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?