भुसुनाले सार्‍यो पहाडमा कालाजार

अतुल मिश्र

काठमाडौँ — तराईको रोग भनेर चिनिएको कालाजार पहाडी जिल्लातिर सर्दै गएको छ । पछिल्ला ९ महिनाको अवधिमा पहाडी जिल्लामा कालाजारबाट ४ जनाको मृत्यु भएको छ । जुम्ला, बाजुरा, काठमाडौं र पाल्पामा एक/एक जनाको मृत्यु भएको हो ।

तीन वर्षयता कालाजारको परम्परागत थलो ठानिएको तराई र भित्री मधेसका २२ जिल्लामा यो रोगबाट कसैको मृत्यु भएको छैन ।


‘३ वर्षदेखि मधेसमा यो रोगले मृत्यु भएका छैनन् भने पहाडी र उच्च पहाडी जिल्लामा बढ्दै गइरहेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘यो रोग उत्पन्न गर्ने भुसुना (सैन्ड फ्लाई) पहाडी तथा हिमाली जिल्लामा समेत प्रशस्त देखिन थालेका छन् ।’


ईडीसीडीको तथ्यांकअनुसार ९ महिनायता कालाजारको ४४ मध्ये २८ वटा संक्रमण पहाडी जिल्लामा देखिएको छ । भोजपुर, खोटाङ, ओखलढुंगा, काठमाडौं, मकवानपुर, रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, भक्तपुर, स्याङ्जा, तनहुँ, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, दैलेख, हुम्ला, जुम्ला, कालिकोट, सल्यान सुर्खेत, अछाम, बैतडी, बाजुरा, डडेलधुरा र दार्चुलामा कालाजार संक्रमण भेटिएको हो ।


सरकारी तथ्यांकअनुसार नौ महिनायता ४४ जिल्लाका १ सय ५५ जनामा कालाजार देखिएको छ । सन् २०१६ मा ४८ जिल्लामा कालाजार देखिएकामा २ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा ४९ जिल्लामा कालाजारको केस रिपोर्ट गरिएकामा ५ जनाको मृत्यु भएको थियो । यी सबै मृत्यु पहाडी जिल्लामा भएको हो ।


ईडीसीडीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेल भन्छन्, ‘केही वर्षयता पहाडी र हिमाली जिल्लाका होचो भूभागमा कालाजारको असर देखिन थालेको छ ।’ सरकारले मधेसका जिल्लामा कालाजार नियन्त्रणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ तर हिमाली तथा पहाडी जिल्लामा यससम्बन्धी कार्यक्रम खासै छैनन् । सरकारले कालाजार नियन्त्रणका लागि अपनाउँदै आएको मधेस केन्द्रित नीतिमा परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको विशेषज्ञ बताउँछन् ।


जलवायु परिवर्तन र तराईबाट पहाडतिर गाडीमा सामान लानेक्रम बढेका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको डा. विवेक औंल्याउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला भन्छन्, ‘हिमाली, पहाडीलगायत जिल्लामा रोग नियन्त्रणलगायत कार्यक्रम नभएकाले यसको समस्या आएको हो ।


कालाजार सार्ने भुसुनाको आकार लामखुट्टेको दाँजोमा एक चौथाइ मात्र हुन्छ । भुसुनाको शरीरको लम्बाइ १.५ मिलिमिटरदेखि ३.५ मिलिमिटरको बीचमा हुन्छ । यस्ता भुसुना माटाको घरमा राम्ररी हुर्किन्छन् । पोथी भुसुनाले जनावर वा मनुष्यको रगत चुस्ने क्रममा रोगका कीटाणु सार्छ । यो रोग सुरुवाती अवस्थामै पहिचान गरेर उपचार गर्नु उत्तम हो । कालाजार हल्का ज्वरो र कमजोरीले सुरु हुन्छ र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो दुख्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, कमजोरीजस्तो लक्षणमा परिणत हुन्छ । बेलैमा उपचार नभए बिरामीको मृत्युसमेत हुन्छ ।


सरकारी स्वास्थ्य निकायमा नि:शुल्क पाइने ‘लिपोसोमल एम्फोटेरिसिन बी’ औषधिको एक मात्राले कालाजार निको हुने डा. बाँस्तोलाले बताए ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार लिसमेनियासिसका तीनवटा मुख्य प्रकार छन् । यसअन्तर्गत कालाजारका नामले चिनिने सबैभन्दा गम्भीर रूप भेसरलबाहेक क्युटेनियस र म्युकोक्युटेनियस हो ।


विश्वभरिमा बर्सेनि लिसमेनियासिसको अनुमानित ७ लाखदेखि १० लाख नयाँ केस देखिने गरिएको छ भने २० देखि ३० हजार जनाको मृत्यु हुन्छ ।

प्रकाशित : आश्विन १९, २०७५ ०७:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वृद्धाश्रम जाँदैनन् मधेसका बासिन्दा

घनश्याम खड्का

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले वृद्धाश्रमका बेथिति अध्ययन गर्दा वृद्धाश्रममा तराईवासीको असाध्यै न्यून सहभागिता रहेको फेला पर्‍यो । यो तथ्यलाई प्रशासनिक नभई समाजशास्त्रीय आँखाले हेर्न बाध्य भए आयुक्त प्रकाश वस्ती ।

‘मधेसका मानिस वृद्धाश्रममा बस्दा रहेनछन्,’ उनले भने, ‘खोजबिन गर्दा यसका केही कारण देखा परे ।’


आयोगको अध्ययनअनुसार मधेसमा वृद्धाश्रम बसाइलाई सामाजिक अनुमोदन छैन । ‘कोही वृद्धाश्रममा बसे तीन पुस्तासम्म त्यस घरका छोरीचेलीको बिहा हुँदो रहेनछ,’ वस्ती भन्छन्, ‘जतिसुकै दाइजो दिँदा पनि गरिबकी छोरी भनेर बिहेवारीको प्रस्तावै अस्वीकार गरिँदो रहेछ ।’


वृद्धाश्रममा बस्नेका छोराको समेत विवाह हुन गाह्रो पर्ने लेखक तथा विश्लेषक सीके लाल बताउँछन् । ‘मधेसी समाजमा वृद्धाश्रममा बस्नु भनेको कलंकित हुनु हो,’ उनले भने ।


सन्तानको बिहेमा आउन सक्ने कठिनाइ मात्रै वृद्धाश्रम नजानुको मुख्य कारण भने होइन । ‘यसका अरू पनि कारण रहेछन्,’ वस्ती भन्छन्, ‘जस्तो कि पहाडमा एउटाभन्दा अर्काे घर पर हुने हुनाले वृद्धाश्रममा गएर बसेको हो भने पनि हल्लै कम हुन्छ, जबकि मधेसमा घर झुरुप्प हुने हुनाले वृद्धाश्रममा बसेको चर्चा पूरै बस्तीमा फैलिन्छ । मानिसहरू बेइज्जतीको डरले घर छाड्न सक्दा रहेनछन् ।’


यसले गर्दा भोकै बस्न परे पनि छोराछोरी बाआमालाई वृद्धाश्रम पठाउन तयार नहुने देखिएको वस्तीले बताए । अर्काे कारण पहाड र मधेसमा प्रचलित धार्मिक मान्यता पनि हो । ‘पहाडमा बूढो भएपछि काशीबास जानुपर्छ भन्ने एकखालको मान्यता छ, अरूको शरणमा पर्नुलाई धर्मअनुसारकै व्यवहार मानिन्छ,’ वस्ती भन्छन्, ‘तर मधेसमा कसैको शरणमा जानुलाई धर्म मानिँदैन । यसले गर्दा पनि त्यहाँ आश्रम जाने चलन छैन ।’


आयोगका अनुसार देशमा जम्मा ८७ वृद्धाश्रम छन् जहाँ ९ सय ६५ महिला र ६ सय १२ पुरुष गरी १५ सय ७७ जना बस्छन् । यिनमा मधेसवासी ५ जना मात्रै छन् । दुई जना जनकपुर, एक जना सर्लाही, एक जना धनगढी र एक जना धनकुटाको वृद्धाश्रममा बस्ने गरेको वस्तीले बताए । मधेसमा जानकारी अभावले पनि मानिसहरू वृद्धाश्रमसम्म पुग्न नपाएको ठान्छन् सीके लाल । त्यसैले मधेसको राजधानी मानिने जनकपुरस्थित जानकी वृद्धाश्रम पहाडका मानिसले भरिएको देख्दा उनलाई अनौठो लाग्दैन ।

प्रकाशित : आश्विन १९, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT