कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सांसदको कम्पनीले ट्रयाक खुलाएन

६ वर्षअघि लिएको ठेक्काको अहिलेसम्म कामै भएन
माधव अर्याल

पाल्पा — कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रिडी–राम्दी खण्ड निर्माणको ६ वर्षअघि ठेक्का लिएको सांसद बहादुरसिंह लामाको हिमदुङ एन्ड ठोकर कन्स्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेपछि ट्रयाकसमेत खुलेको छैन ।

सांसदको कम्पनीले ट्रयाक खुलाएन

अन्य जिल्लामा ट्रयाक खुलेर ग्राभेल सकिन लाग्दा यस खण्डमा भने ठेकेदार कम्पनीकै कारण काम अलपत्र परेको हो । ०६९/७० मा लिएको ठेक्काको काम सकिएको छैन । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार सडक चौडा गर्ने र ट्रयाक खोल्ने कामसहित ५२ प्रतिशत काम गर्नै बाँकी छ । करिडोरको छेर्लुङ रानीमहलदेखि दैलातुङसम्म ट्रयाक खोल्न ८५ लाखमा उक्त कम्पनीले ठेक्का लिएको थियो । सम्झौताअनुसार ०७० जेठमा काम सक्नुपर्ने हो । तर, अहिलेसम्म अलपत्र छ ।


आयोजनाले पनि निर्माण व्यवसायीलाई काम लगाउन सकेको छैन । दबाब दिन र कालोसूचीमा राख्ने प्रक्रिया थालेको छैन । ‘सांसदको कम्पनीलाई कालोसूचीमा राख्न नसकिएको हो,’ निमित्त आयोजना प्रमुख कृष्ण खड्काले भने, ‘सुरुकै ठेक्का भएको र विभिन्न कारणले गर्दा काम गराउन सकिएन ।’ खनेको ट्रयाकमा समेत पहिरोले गाडी चल्न सकेको छैन ।


त्यस क्षेत्रमा भीर, चट्टाने भूभाग छ । आयोजनाका अनुसार ग्याभिएन वाल, १० मिटर चौडालगायत स्तरोन्नति काम गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । ‘सम्झौताअनुसार अझै ट्रयाक खुलेको छैन,’ खड्काले भने, ‘पुरानो ठेक्का हो तर काम भएन ।’ रानीमहल–अर्गली जोड्ने सडकअन्तर्गत तानसेन नगरपालिका १३ स्थित रानीमहलमाथिको १ सय मिटर भीरमा ट्रयाक खोल्न बाँकी छ । अन्य काम पनि केही भएको छैन ।


करिडोरको दैलातुङ–दरपुक खण्डमा पनि ट्रयाक खुल्न सकेको छैन । रानीमहल–राम्दी जोड्ने सडकको बगनासकाली ६, यम्घाको मन्द्राननजिक ५ सय मिटर ट्रयाक खोल्ने काम अझै बाँकी छ । भीर र ढुंगे चट्टान भएकाले ट्रयाक अहिलेसम्म खुल्न नसकेको बगनासकाली ६, यम्घाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए । ‘वर्षौंदेखि ट्रयाक खन्न सुरु गरे पनि सरोकारवालाको लापरबाहीले काम भएन,’ उनले भने, ‘हाम्रो क्षेत्रमा मात्र ट्रयाक खुल्न नसक्नु दु:खद हो ।’


केही महिनाअघि निर्माण व्यवसायीले काम सुरु गर्दा पहिरोले एस्काभेटर पुरिएपछि हिँडेका उनीहरू अहिलेसम्म फर्केका छैनन् । सन्तोषी प्यासेफिक नेपाल प्रगति जेभीले यहाँ ठेक्का लिएको हो । ६ करोड ५५ लाख ठेक्काको ४० प्रतिशत काम अझै बाँकी रहेको करिडोर आयोजनाले जनायो ।


५ वर्षअघि लागेको ठेक्काको काम अहिलेसम्म पूरा भएको छैन । करिडोर कार्यालयले काम नगर्ने व्यवसायीलाई कारबाहीको सट्टा म्याद थपेको थप्यै छ । यहाँ निर्माण व्यवसायीले काम नगर्दा ०७०/७१ देखि नै काम हुन सकेन । नदीबाट बाइपास लगेर स्थानीयले सवारी चलाएका छन् । ‘धेरै वर्षपछि काम गर्न सुरु गरेको थियो,’ निमित्त योजना प्रमुख खड्काले भने, ‘एस्काभेटरले खनिरहँदा माथिबाट पहिरो आएर पुरिएपछि व्यवसायी आएनन् ।’ यस विषयमा ठेकेदार कम्पनीसँग जान्न खोज्दा सम्पर्कमै आएनन् ।


दुई स्थानमा ट्रयाक नखुल्दा रिडीदेखि राम्दीसम्मको यात्रा गर्न नपाएको स्थानीयले बताए । ‘रानीमहल नजिकै ट्रयाक खोल्ने काम गर्दागर्दै अलपत्र छाडिएको छ,’ तानसेन १३, रानीमहलका व्यवसायी सुरेश पाण्डेयले भने, ‘अघिल्लो वर्ष काम गर्दागर्दै छाडेको हो । त्यसपछि काम नै अघि बढेको छैन ।’ सुरुमा यहाँको झन्डै ४ सय मिटर इस्टिमेटमै छुटाएकाले समयमा ट्रयाक खुलेन । ‘३ वर्षअघि नै रिडीबाट राम्दीसम्म सवारीसाधनमा गुड्न पाइने आशा गरिएको थियो,’ बौघागुम्हाका लालबहादुर खत्रीले भने, ‘अहिलेसम्म ट्रयाकसमेत नखोल्दा मन खिन्न भएको छ ।’


उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर) अन्तर्गत अर्गली–रामपुर–गंैडाकोट १ सय ३२, रिडी–गुल्मी–बाग्लुङ ८८ किलोमिटर, बाग्लुङ–बेनी–जोमसोम ८७, जोमसोम–कोरला १ सय ५ किलोमिटर पर्छ ।

प्रकाशित : आश्विन १९, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?