३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निकुञ्जमा सरुवा : कसैलाई डेढ वर्षमै, कोही १० वर्षदेखि एकै ठाँउमा 

अब्दुल्लाह मियाँ

काठमाडौँ — बर्दिया राष्ट्रिय निकुञ्जमा करिब ३ वर्ष सहायक संरक्षण अधिकृत (सहायक वार्डेन) रहेका बद्री विनोद दाहाललाई राष्ट्रिय निकुञ्ज विभागले यसैसाता मकालु बरुण राष्ट्रिय निकुञ्जमा सरुवा गऱ्यो । 

निकुञ्जमा सरुवा : कसैलाई डेढ वर्षमै, कोही १० वर्षदेखि एकै ठाँउमा 

कम आकर्षक मानिने दुर्गमको निकुञ्जमा दाहालको सरुवा भइरहँदा बर्दियामै उनकै हैसियतमा सहायक वार्डेन भएर १० वर्ष काम गरेका अशोक भण्डारीको भने त्यहीँ थमौती भएको छ । स्रोतकाअनुसार भण्डारी पनि अरु नै निकुञ्जमा सरुवा हुनेहरुको सूचीमै थिए । तर, उनको थमौतीकालागि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसम्मै राजनीतिक चलखेल भएपछि अन्तिममा आएर उनको सरुवा रोकिएको हो ।


बर्दिया निकुञ्जको प्रमुखमा उपसचिवको दरबन्दी छ । भण्डारी उपसचिव होइनन् । गत असारमा निकुञ्जको प्रमुख रहेका उपसचिव मनोज साहको काज अवधि सकिएपछि भण्डारी नै बर्दिया निकुञ्जमा निमित्त वार्डेन छन् । फागुनमा साह प्रमुख भएर जानु अघि पनि भण्डारीले नै निमित्त प्रमुख भएर लामो समय काम गरेका थिए । लामो समय दुर्गमको निकुञ्जमा बसेर बर्दिया निकुञ्जमा प्रमुखको जिम्मेवारी पाए पनि साहलाई काम गर्ने वातावरण सिर्जना भएन । उल्टै उनी मानसिक तनावले घर विदा लिएर बसेका छन् ।


बर्दिया निकुञ्जमा निमित्त प्रमुखको अवसर पाउने भण्डारी एक्ला होइनन् । यसअघि पनि अधिकृत रमेश थापाले लामो समय निमित्त प्रमुख भएर निकुञ्ज चलाएका थिए । अहिले पनि त्यही समूह भण्डारीलाई थमौती गर्न सफल भएको स्रोतको दाबी छ । बर्दिया निकुञ्जमा लामो समयदेखि कर्मचारीमा एक किसिमको सिन्डिकेट खडा गरिएको छ । त्यही स्वार्थ समूह जहिले पनि आफू अनुकुलका प्रमुखका लागि शक्तिकेन्द्रकहाँ धाउने गरेको मन्त्रालय स्रोतले बतायो ।


विभागका निमित्त महानिर्देशक गोपालप्रकाश भट्टराईले भने भण्डारीको आँखाको समस्या भएकाले उनलाई पहाड र हिमाली क्षेत्रका निकुञ्जमा नपठाइएको तर्क गरे । वन तथा वातावरणमन्त्री बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेत भने सरुवामा मन्त्रीको कुनै हात नभएको बरु मन्त्रीले कसैलाई अन्याय नहुने गरी सरुवा गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिने गरेको जानकारी दिए ।


निकुञ्ज विभाग र अन्य निकुञ्जहरुमा अनुभवी र प्रभावशाली उपसचिव जिम्मेवारीविहीन भएर बसे पनि उनीहरुलाई जिम्मेवारी दिन विभाग नेतृत्वले आनाकानी गर्ने गरेको पाइएको छ । विभागले हचुवाका भरमा यसै साता २४ जना सहायक संरक्षण अधिकृतको सरुवा गरेको हो ।


झण्डै ५ वर्ष शुक्लाफाँटा निकुञ्जमा काम गरेका गोपालबहादुर घिमिरेलाई चितवन निकुञ्जको सहायक वार्डेनमा सरुवा गरिएको छ । उनले पनि पछिल्लो समय शुक्लाफाँटामा निमित्त प्रमुख भएर काम गरेका थिए । विभागमा रहेकी सरस्वती सापकोटालाई ढोरपाटन सिकार आरक्षमा र बाँके निकुञ्जमा सहायक वार्डेन रहेका लालबहादुर भण्डारीलाई रारा निकुञ्जमा निमित्त प्रमुख बनाउने गरी सरुवा गरिएको छ । राराबाट करिब डेढ वर्षमै अधिकारीको चितवनमा सरुवा भएको हो ।


यस्तै, निकुञ्ज विभागमा सहायक व्यवस्थापन अधिकृत रहेका विष्णु थपलिया र कृष्णसार संरक्षण क्षेत्र, बर्दियामा रहेका पुरुषोत्तम शर्मालाई बाँके निकुञ्जको सहायक वार्डेनमा सरुवा गरिएको छ । विभागमा सहायक इकोलोजिस्ट रहेका ऋषी रानाभाट, शे फोक्सुन्डोका प्रकाश उप्रेती र रारामा सहायक वार्डेन रहेका लोकेन्द्र अधिकारीलाई चितवन निकुञ्जको सहायक वार्डेनमा सरुवा गरिएको छ ।


चितवन निकुञ्जमा सहायक वार्डेन रहेका अभिनय पाठकलाई शुक्लाफाँटा र चितवनमै रहेका नुरेन्द्र अर्याललाई निकुञ्ज विभाग सरुवा गरिएको छ । शिवपुरी नागार्जुन निकुञ्जमा रहेका राजु घिमिरेलाई अपिनाम्पा, सगरमाथा निकुञ्जका मानबहादुर खड्का र कञ्चनजंघाका हेम आचार्यलाई निकुञ्ज विभाग, लामटाङका सूर्य खड्कालाई पर्सा निकुञ्ज र मकालु निकुञ्जका सञ्जिव गुप्तालाई बर्दिया निकुञ्ज सरुवा गरिएको छ ।


ढोरपाटन सिकार आरक्षका पशुपति अधिकारीलाई शिवपुरी, विभागका केदारनाथ कट्टेललाई सगरमाथा निकुञ्ज, शिवपुरीका बाबुराम भट्टराईलाई शे फोक्सुण्डो, पर्साका वीरेन्द्र कँडेललाई शिवपुरी निकुञ्जको सहायक वार्डेनमा सरुवा गरिएको छ । बाँके निकुञ्जका रविन चौधरी थारुलाई सगरमाथा र बाँकेकै प्रमोद यादवलाई शे फोक्सुण्डो निकुञ्ज, अपि नाम्पाका पेम्बा शेर्पालाई शिवपुरी तथा शिवपुरीका अर्जुन भुसाललाई कृष्णसार संरक्षण क्षेत्र आयोजना, बर्दिया सरुवा गरिएको छ ।


विवादले उपसचिव सरुवा रोकियो

केही प्रमुखहरुको विवादले निकुञ्ज प्रमुख (उपसचिव) हरुको सरुवा रोकिएको छ । वन तथा वातावरण विभागअन्तर्गतका सबै विभागका उपससचिवहरुको सरुवा भइसके पनि निकुञ्ज विभागअन्तर्गतका उपसचिवको सरुवा अझै भएको छैन ।


एक साता अघि सरुवाका लागि मन्त्री, सचिव र महानिर्देशक बैठक बसे पनि केही उपसचिवमा कुरा नमिलेपछि यत्तिकै रोकेर सचिव विश्वनाथ ओली कोरियामा भएको जलवायु परिवर्तनसम्वन्धि अन्तरसकारी मञ्च (आईपीसीसी) को बैठकमा भाग लिन गएका छन् ।


मन्त्री बस्नेतले बाँकेका निकुञ्ज प्रमुख दिलपूर्जा पुनलाई शिवपुरीमा सरुवा गर्नुपर्ने अडान लिएका छन् भने मन्त्रालयले अरु नै सक्षम र अवसर नपाएका उपसचिवमध्येलाई जिम्मेवारी दिनुपर्ने धारणा बनाएको छ ।


वरिष्ठ उपसचिवद्वय युवराज रेग्मी र अणनाथ बराल क्रमश: लामटाङ र ढोरपाटन सिकार आरक्ष प्रमुख छन् । रेग्मीलाई बाँके र बराललाई बर्दिया निकुञ्जमा पठाउने तयारी भइरहेको छ ।

प्रकाशित : आश्विन २०, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?